२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात् प्रचण्ड पथगामीहरूलाई २५ प्रश्न

”प्रचण्ड पथगामी”हरू खासगरी राजा ज्ञानेन्द्रको सिला खोजे जसरी गल्ती खोजिरहेछन् । गल्ती झैँ देखिने केही भेटियो कि रमाइ हाल्छन् । तिनले विषयलाई समग्रतामा हेर्दैनन्, तदर्थतामा हेर्छन् ।

तिनले, एक गल्तीले देशलाई पारेको अफ्टेरो र १०० गल्तीले देशलाई गरेको अक्षम्य घातको भिन्नता छुट्याउँदैनन् । ती सन्तुलन र वस्तुपरकताको आँखाबाट समाज, राजनीति र देशलाई हेर्नै सक्दैनन् ।

अपवादलाई छोडेर, नागरिक समाज तिनै प्रचण्ड पथगामीको हातमा छ । मिडिया तिनकै गहिरो प्रभावमा छ । लेखक, बुद्धिजीवी तिनकै छायाँमा छन् । फेरि जोड दिएँ – अपवादलाई छोडेर।

अब प्रतिप्रश्न गरिदिने कसले ? अफ्टेरो तथ्य र सत्य कसले बोलिदिने ?

कमसेकम ती “अपवादहरू”ले “प्रतिगामीरदास” को आरोप आउला भनेर अब अफ्ठेरो मान्न भएन । देश संकट-उन्मुख छ । पहिले पनि मैले लेखेको छु – हरेक शासनमा केही अप्रिय घटना घट्छन् । तिनको ‌औचित्य दर्शाउन मिल्दैन तर हरेक शासनहरूलाई तदर्थतामा होइन, समग्रतामा तुलना गरिनु पर्छ ।
“अपवादहरू”ले अब ‘प्रचण्ड एण्ड कम्पनी’ अर्थात प्रचण्ड पथगामीहरूलाई सोध्नु पऱ्यो ।

१) अनाथ बालबालिकाका लागि दिएको बालमन्दिर कहिले खाइयो ?
२) उत्कृष्टता र इमानलाई लोप्पा खुवाउन कहिले शुरू गरियो ?
३) नेपाली/नेपालीबीच हत्या/हिंसा कहिले शुरू भयो ?
४) १७ हजार नेपाली कहिले मरे ? किन मारिए ?
५) हजारौँ अङ्गभङ्ग कहिले भए ?
६) लाखौँ विस्थापित कहिले भए ?
७) दण्डहिनता कहिले बढ्यो ?
८) शहरहरू सुकुम्बासी वस्तीमा कहिले परिणत हुन थाले ?
९) काठमाडौँ उपत्यका, पोखरा, सुर्खेतका जस्ता भू-उपयोग तथा सहरी व्यवस्थापनका योजना ध्वस्त कहिले पारियो ?
१०) गाऊँमा नेपाली मारिँदै गर्दा संसदमा पुरूष सांसदले सुत्केरी भत्ता कहिले खाए ?
११) पजेरो/लाउडा/धमिजा काण्ड कहिले भयो ?
१२) केही होइन, दर्जनौँ होइन – सयौँ भष्ट्राचारको काण्ड कहिले भयो ?
१३) कुशासनले पराकाष्ठा कहिले छोयो ?
१४) नेता नचिने सरकारी अस्पतालमा बेड नपाउने स्थिति कहिले बन्यो ?
१५) उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर मर्नुपर्ने स्थिति कसले बनायो ?
१६) सार्वजनिक शिक्षाको स्तर क-कसका कारण पतन भयो ?
१७) प्रहरी, प्रशासन, न्यायलय, अख्तियार लगायत राज्यका हरेक महत्वपूर्ण संस्था क्षयिकृत कहिले भए ?
१८) अन्तर्राष्ट्रिय छवि पूर्ण रूपमा कहिले ध्वस्त भयो ?
१९) विदेशी प्रभाव सधैँ थियो, तर विदेशीको तलुवा चाट्ने काम कहिले शुरू भयो ?
२०) एउटा राजाको ठाऊँमा एक हजार राजा कहिले जन्मिए ?
२१) देशमा धार्मिक/जातीय संवेदनशीलता र हिंसा कहिले बढ्यो ?
२२) देशको ऋणभार तिब्र रूपमा कहिले चढ्यो ?
२३) देश असफल राष्ट्रको संघारमा कहिले पुग्यो ?
२४) यी सबै प्रश्नको दोष धर्ती जस्तै सबै सहेर बसेका ती एकजना राजा (ज्ञानेन्द्र) लाई लगाएर बसेर प्रचण्ड पथगामीहरू चोखिन मिल्छ ?
२५) अनि ९४ प्रतिशत जनमत लिएर बसेका दलहरूले ६ प्रतिशत मत लिएर बसेको दल (राप्रपा) लाई जनमत भड्काएको भनेर दोष लगाउन मिल्छ ?

माथिका प्रश्न गर्नुको अर्थ पञ्चायत ठिक थियो, प्रजातन्त्र ठिक भएन भन्ने होइन। ती प्रश्न गर्नुको अर्थ २०४६ सालपछि नेपालमा केही पनि उपलब्धि हासिल भएन भन्ने पनि होइन ।

तर एउटा कुरा सत्य चाहिँ के हो भने, २०४६ साल यता “राष्ट्र र राज्य” का रूपमा नेपालको क्षयीकरण र पतन क्रमिकरूपमा तिब्र छ । र यो खतरनाक तहमा पुगिसकेको छ ।

अन्य धेरै कुरा सुधार्न सकिन्छ तर समग्रमा राष्ट्र र राज्य अति नै कमजोर र असफल भयो भने त्यसबाट देशलाई उठाउन हम्मेहम्मे पर्छ ।

गल्ती सबैले गरे । यहाँ कोही चोखो छैन । तर सबैभन्दा बढी गल्ती हामीजस्ता आफूलाई जान्नेसुन्ने भन्ने पढेलेखेकाले गरे, जसले समाज र राजनीतिलाई आफ्ना विचार अनुरूप होइन देशको आवश्यकता अनुरूप निर्देशित गर्नुपर्थ्यो । त्यसैले म पढेलेखेको छु, मैँ जान्ने, मैँ बुझ्ने भनेर आफ्नै विचारले मात्र देशलाई डोर्याउने प्रयास अब बन्द गरौँ । हामी हरेकको ”विचारभन्दामाथिदेश” छ ।

स्थिति नियन्त्रणभन्दा बाहिर जानु अगाबै ”प्रचण्ड एण्ड कम्पनी” अर्थात प्रचण्डपथगामी सबै राजनीतिक दल र नागरिक समाजले विवेक पुऱ्याएर नवीनसमझदारी मार्फत राजा र राजनीतिक दलहरूलाई एक ठाऊँमा ल्याउने प्रयास नगर्ने हो भने हाम्रा आ-आफ्ना विचार त रहलान्, तर देशचाहिँ अझ गहिरो संकटमा फस्नेछ।

”प्रचण्ड एण्ड कम्पनी” अर्थात प्रचण्डपथगामीहरूलाई आग्रह छ । सबैले तीव्ररूपमा दानवीकरण गर्दागर्दै पनि राजा लोकप्रिय हुँदै गए भनेर आत्तिनु पर्दैन । त्यो राजाको दानवीकरणका लागि बनाइएका अनेकन् भ्रामक भाष्यहरूपछाडीको वास्तविक यथार्थ आम नागरिकले आफ्नै विवेकले बुझ्नुको र प्रचण्ड पथगामीहरूको असक्षमता, भष्टता र दूर दृष्टिहीनता उदाङ्गो हुनुको समुच्च परिणाम हो ।

देशलाई पूर्णतस् असफल हुनबाट जोगाएर सही दिशामा डोऱ्याउन अब योरत्यो भनेर झगडा गरेर बस्ने स्थिति छैन । सबैले सबैलाई क्षमा दिनै पर्छ । ”नवीनसमझदारी” बाहेक अर्को विकल्प छैन ।