२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

अध्यक्ष ओलीलाई भनेको थिएँ– आचार्यलाई मुख्यमन्त्री बनाउने हो भने मैले छोड्नुपर्छ : एमाले लुम्बिनीका नेता लीला गिरी (अन्तर्वार्ता)

Untitled
Untitled
Untitled

नेकपा एमालेभित्र एउटै विधि लागू हुँदैन भन्ने लुम्बिनी प्रदेशमा देखिएको छ।

लुम्बिनी प्रदेश सभाका एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्न रोकेर उपनेता चेतनारायण आचार्यलाई बनाएपछि केही नेता त रुष्ट भएकै छन्, एमालेभित्रको शक्ति संघर्ष पनि नयाँ रूपमा सतहमा देखापरेको छ।
कोसी प्रदेशमा हिक्मत कार्कीले लगातार अवसर पाइरहँदा लुम्बिनीमा भने गिरीलाई रोकेर आचार्यलाई अघि सारियो।
उपाध्यक्ष विष्णु पौडेलनिकट भएकै कारण गिरीलाई रोक्न महासचिव शंकर पोखरेलले भूमिका खेलेको भन्ने एमालेभित्रकै बुझाइ छ। 

रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा निर्वाचित गिरी दलभित्र प्रभावशाली नेता मानिन्छन्। कांग्रेस–एमाले गठबन्धन बनेपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरीकै नाम थियो।

तर, अन्तिम अवस्थामा उनको नाम काटेर आचार्यलाई अघि सारियो। जसप्रति असन्तुष्ट जनाउँदै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिए।

मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति मिचेर जनवादी केन्द्रीयता लादेको भन्दै उनले साउन ७ गते नै राजनीनामा दिएको बताए।
साउन ८ गते आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्। यतिसम्म कि, गिरीले राजीनामासमेत पार्टी अध्यक्षलाई पठाएका छन्।

एमालेमा विद्रोह गर्नुपर्ने अवस्थाको कारक को हो? यिनै विषयमा केन्द्रित रहेर लीला गिरीसँग गरेको संवाद–

मुख्यमन्त्री पद नपाउनेबित्तिकै कस्तो महसुस गर्नुभयो र राजीनामा नै दिनुपर्‍यो? 
मैले सहजै महसुस गरेको छु।

पार्टीकै मुख्यमन्त्रीमा पार्टीका अर्का व्यक्तिलाई अगाडि सारेपछि दलको नेतृत्वमा बसिराखेर कुनै अप्ठ्यारो बनाइराख्नुहुन्न भनेर सजिलो बनाउन मैले छोडिदिएको हो।

मुख्यमन्त्री चयन गर्न जुन प्रक्रिया अपनाइयो, यो संसदीय विधि र प्रक्रियाअनुसार भएन भनेर तपाईँले भन्नुभएको थियो होइन?
पार्टीको आवश्यकता र पार्टीले एउटा कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने भएकोले यस्तो भएको होला।

त्यस्तो केही होइन, मैले जे फिलिङ गरेको छु, त्यही भनेको हो।

मैले हाम्रो पार्टी अध्यक्षलाई नै उहाँ (आचार्य) लाई मुख्यमन्त्री बनाउने हो भने दलको नेता पनि मैले छोडेर उहाँलाई मार्ग प्रशस्त गर्दा हुन्छ। म आफू प्रदेशसभा सदस्य छँदै छु।

मेरो अनुभवले प्रदेश सभालाई समृद्ध बनाउने कुरामा म आफैँ सहयोग गर्छु भनेर कुरा राखेको थिएँ।

यसमा धेरै लम्बाचौडा कुरा केही पनि छैन।

तर, एउटै पार्टीभित्र पनि कोसी र लुम्बिनीमा फरकफरक व्यवहार भएको नि, होइन?
लिनुदिनु केही छैन। नेताहरूले त्यो महसुस गर्नुभयो र यो निर्णय भयो, यो ठाउँमा पुगियो। त्यसमा मेरो गुनासो छैन, जे गर्‍या छ, राम्रै गर्‍या छ भन्ने स्थितिमा पुगिएको छ।

त्यो भनेको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको टकरावमा तपाईँ पर्नुभयो, होइन?
यो विषयवस्तुबारे उहाँहरूलाई थाहा होला। मैले उपाध्यक्ष र महासचिव दुवैलाई त्यत्तिकै सम्मान गर्छु। मैले दुवैसँग नजिक बसेर काम गरेको छु। त्योभन्दा बढ्ता अध्यक्षलाई मान्छु।

उहाँहरूले पनि व्यक्तिगत रूपमा मलाई चिन्नेजान्ने अवस्था नै छ। मैले त्यस्तो महसुस गरेको छैन, उहाँहरूले गर्नुभएको हो भने उहाँहरूको कुरा हो।

माथिबाटै निर्देशन गएर मुख्यमन्त्रीमा तपाईँको नाम अन्तिममा काटिएको त हो नि?
राजनीतिमा, पार्टीमा लागेपछि र केन्द्रले निर्णय गरिसकेपछि त्यो मान्नुपर्छ। अब त्यसलाई अन्यथा लिएर भौँतारिने कुरा केही भएन। निर्णय भयो, ठीक छ भनेर बस्या’छु।

यो निर्णयलाई लिएर यहाँले संसदीय अभ्यासविपरीत भयो भन्नुभएको थियो नि त? 
मैले के भनेको थिएँ भने संसदीय प्रणालीमा दलभित्र, प्रदेश सभामा छलफल हुनुपर्ने हो। तर, संघीयतामा चाहे भारत होस् वा नेपालमा हेर्दा, माथि (केन्द्रका शीर्षस्थ)बाट चयन गर्ने चलन छ।

मुख्यमन्त्री हुनुपर्छ भन्ने दाबी मेरो सुरुदेखि थियो। अब यो निर्णय भइहाल्यो। पार्टीको निर्णय मान्नुपर्छ।

माथिबाट लादिने यस्ता निर्देशनले एमाले पार्टीको सांगठनिक चेन भत्काएन?
सांगठनिक संरचना केही भत्कन्न। म झन् पार्टीको काममा बढी लाग्छु। तलमाथि केही हुँदैन। उहाँ (शीर्षस्थ) हरूले केही तलमाथि गरेको, मनमा केही रहेको भए उहाँहरूले जान्ने कुरा भयो।

मलाई यस घटनाले अझै ऊर्जा थपेको छ र पार्टीको काम गर्न फुर्सद भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा हुँदा उहाँले के भन्नुभयो? 
साउन ७ गते कुरा हुँदा मैले सिधै भनेको थिएँ, अरूलाई मुख्यमन्त्री बनाउने हो भने दलको नेताबाट मैले छोड्नुपर्छ कमरेड।

आचार्यजीलाई मुख्यमन्त्री बनाउने तपाईँको निर्णयलाई कार्यान्वयन गर्न म राजीनामा दिन्छु भनेको थिएँ।

अनि अध्यक्षले के भन्नुभयो त? 
राजीनामाअघि सल्लाह गरौँला भन्नुभयो।

तपाईँले के जवाफ दिनुभयो? 
‘त्यस्तो हुँदैन कमरेड, मैले यो ठाउँ छोड्नुपर्छ’ भनेँ।

राजीनामा दिएपछि पनि कुरा भयो त?
त्यसपछि भएको छैन।

केन्द्रबाटै गुट चलाउँदा कस्तो लाग्यो?
हाम्रो पार्टी जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित छ। कहिलेकाहीँ आफ्ना कुरा तलबाट राख्ने र माथिबाट कार्यान्वयन गर्ने कुरा हुन्छ भने कतिपय सन्दर्भमा माथिबाट निर्णय हुन्छ र तल कार्यान्वयन गर्नुपर्छ।

जनवादी केन्द्रीयतामा गरेको निर्णय आफ्नो ठाउँमा छ।

जहाँसम्म गुटबन्दीको कुरा गर्नुभयो, मलाई त्यस्तो आभास छैन। यदि गुटबन्दी गरेर काखापाखा गर्ने हो भने यो पार्टी विगतको लामो इतिहासमा टुटफुटबाट अगाडि बढेको छ।

०५४ सालमा नोक्सान पनि भएको छ। गएको ०७८ सालको फुटबाट हामीले नोक्सान पनि व्यहोरेका छौँ।

स्वयं नोक्सान व्यहारेको अनुभूतिबाट नेताहरूले त्यस्तो गर्नुहोला भन्ने मैले सोचेको छैन।

यस्तो हुँदाहुँदै पार्टीमा दत्तचित्त भएर काम गर्ने ऊर्जा आउँछ ?
यस घटनाले मैले जिम्मेवारी पाउनुपर्थ्यो भन्ने जनमत बढ्यो र ऊर्जा थप हुने नै भयो।

अर्काे, मेरो जुन दाबी थियो, त्यो नपाउँदा मैले अझै मिहेनत गर्नुपर्छ, जाँगरका साथ अझै धेरै काम गर्नुपर्दाेरहेछ भन्ने बोध गरेको छु।

अझै धेरै नेतालाई मिलाउनुपर्ने रहेछ भन्ने पनि यही घटनाले प्रमाणित गर्‍यो होइन? 
होइन, त्यो त बिलकुल मजस्तो मान्छेले त्यस्तो गर्दैनन्।

आम कार्यकर्ताले त्यस्तो गर्दैनन्। पार्टीकै काममा अलि सक्रिय रहेर जाँगरका साथ काम गरेर जनमानसमा आफ्नो छवि स्थापित गरेर अगाडि बढ्दाखेरी मात्रै सबै कुरा हुन्छ।

यो घटनाबाट मैले त्यही शिक्षा लिएको छु र कार्यकर्तामा भिज्ने र काम गर्ने कुरामा कहीँ कतै कमजोरी रह्यो कि भन्ने महसुस गरेको छु।

भनेपछि तपाईँका शुभेच्छुक नेता-कार्यकर्ता पनि मुख्यमन्त्री नहुँदा निराश छन्?
मलाई साथ दिने धेरै कार्यकर्ता सहयोद्धाहरूले यो घटनाबाट विचलित हुने होइन, इमान्दारीका साथ हामी तपाईँको साथमा छौँ, पार्टी काममा धेरै सक्रिय भएर लाग्नुपर्छ भनेर भन्नुभएको छ।

त्यसले गर्दा पनि मेरो जाँगर अलि थपिएको छ।

नेपाल खबरबाट

Untitled
Untitled
Untitled