२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

काँग्रेसको यही संरचना रहेसम्म मलाई केही आशा छैन’ डा. मिनेन्द्र रिजाल, नेता, नेपाली काँग्रेस ( अन्तर्वार्ता )

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको वर्तमान संरचनाप्रति आफूलाई कुनै आशा नरहेको बताएका छन् । रिजालले वर्तमान पार्टी संरचना रहेसम्म आफू सांसद नबन्नेमा ढुक्क रहेको बताएका हुन् ।

नेता रिजालले दुई वर्षभित्र पार्टीको १५ औँ महाधिवेशन गरी वर्तमान पार्टी संरचना फेर्नुको विकल्प नभएको बताए । पार्टी नेतृत्वबाट जनविश्वास आर्जन गर्नेभन्दा पनि सत्तालाई प्राथमिकता दिने काम भएको भन्दै उनले आलोचना गरे ।
नागरिकहरूमा कसैप्रति आस्था र विश्वास नभएर देश छाडिरहेको पनि नेता रिजालको भनाइ छ । मुलुकको वर्तमान अवस्था, कांग्रेसको आन्तरिक राजनीति र सत्ता गठबन्धनको भविष्यबारे नेता रिजालसँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :
राजनीतिक दलप्रति जनतामा अविश्वास बढ्दै गएको सही हो ?
देशमा निराशा निकै व्यापक छ  । यहाँ केही हुँदैन भन्दै दिनको २२ सय मान्छे विदेश गइरहेका छन् । यहाँ निराशा छैन भन्नु हाम्रो गल्ती हुन्छ ।
म दसैँ–तिहारको बेलामा अमेरिकामा थिएँ । त्यहाँ नेपाली समुदायसँग बसेर कुरा गर्दा रोल्पा र रुकुमबाट धेरै मान्छे आएको सुनेँ ।
त्यही दिन प्रधानमन्त्रीले बोलेको सुनेँ – रोल्पा क्रान्तिको प्रतीक हो । शान्तिको प्रतीक हो । निर्माणको प्रतीक हो भनेर । क्रान्ति, शान्ति र निर्माणको प्रतीक रोल्पाबाट मान्छे किन भागिरहेका छन् त ? निर्माणको चरणमा मानिसहरू झन् मज्जाले बस्नुपर्ने होला, तर किन उनीहरू भागिरहेका छन् ? कम्तीमा ७० लाखदेखि १ करोडसम्म पैसा तिरेर मानिसहरू अवैध बाटोबाट अमेरिका पुगिरहेका छन् ।

‘तिमीहरू कसैमाथि मेरो आस्था रहेन । मेरो आस्था ममाथि पनि रहेन । यहाँबाट उम्किन पाएपछि मात्र मेरो उन्नति हुन्छ’ भन्ने उनीहरूलाई लागेको छ । त्यो मानसिकता कसरी आयो त भन्दा कहीँ न कहीँ हामीले केन्द्रमा गरेको काम बेठीक भएर त होला नि ।

पछिल्लो ८-१० वर्षमा मैलाएको भ्रष्टाचार मैले कहिल्यै देखेको थिइनँ । यसे निराशाबाहेक केही ल्याउँदैन । भ्रष्टाचारको प्रभाव घर–घरमा परेको छ ।

आज देशमा सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति छ । हाम्रो आयात निकै बढी छ । त्यो विदेशी मुद्राबाट बाहिरबाट सामान आयात गरिराखेका छौँ । सरकार पनि खुसी किन छ भन्दा त्यो आयातमा लगाएको भन्सारबाट झन्डै ४० प्रतिशत राजश्व थेगिन्छ । हामी आफू उत्पादन गर्दैनौँ, बाहिरबाट आयात गर्छौँ । हाम्रो औसत आयु पनि बढेको छ । औषधि उपचार गरिरहेकै छौँ । राम्रो स्कुलमा पढाइरहेका छौँ । विदेशबाट पठाएको पैसाले उपभोग पनि बढेको छ ।

तर पनि घरको कोही विदेश नगएको मान्छेले मेरो केही पनि भइरहेको छैन भनेर बाहिर जाने बाटो खोजिरहेको छ । यो निराशालाई सम्बोधन गर्नका लागि हाम्रीप्रतिको आस्था र विश्वास जगाउन सकेनौँ भने हामी कठिनाइमा पर्छौँ ।

  • राजनीतिक दल र नेताप्रति यो तहको वितृष्णा किन भयो ?

आस्था कहीँ पनि छैन । आस्था जोगाउने हामी राजनीति गर्नेहरूको जिम्मेवारी हो । सरकारदेखि नेता र आफूप्रति नै विश्वास छैन भन्दा समाजको सबै अंग पर्छ । मान्छेमा आफैँमाथि विश्वास उठ्न थालेपछि विदेश दौडिएका छन् ।

यो तहको निराशा पैदा हुनमा मूलतः भ्रष्टाचार कारक छ । पछिल्लो ८-१० वर्षमा मैलाएको भ्रष्टाचार मैले कहिल्यै देखेको थिइनँ । यसे निराशाबाहेक केही ल्याउँदैन । भ्रष्टाचारको प्रभाव घर–घरमा परेको छ । कुन ठाउँमा कसले कति पैसा खायो भन्ने थाहा नभए पनि त्यसको प्रभाव अर्थतन्त्रमा छ, मान्छेको उपभोगमा छ ।

भ्रष्टाचारले गाउँघरमा दुई वटा मान्छेको हिँडडुल गर्ने शैलीमा प्रभाव परेको छ । एउटा मान्छे भन्दै छ, यहाँ त चकाचौँध छ । यसको सम्बन्ध फलानासँग छ, त्यसकारण चकाचौँध छ । मेरो के भइराखेको छ भनेर खोज्दा निराशा मात्र भेटाउँछ ।

प्रधानमन्त्री रिसाउँदा सबै बिग्रिन्छ भन्ने कांग्रेसका नेतालाई परेको होला । कांग्रेस सभापति रिसाउँदा सबै बिग्रिन्छ भन्ने प्रधानमन्त्रीलाई परेको होला । यस्तो मानसिकताले हामी काम गरिरहेका छौँ ।

त्यसपछि ऊ यो ठाउँबाट उम्किन चाहन्छ । हरेक घरबाट मान्छे विदेश गइसक्यो । दाजु गएर पैसा पठाइरहेको छ भने म पनि जान पाए गजब हुन्थ्यो भन्ने छ । दाजु र भाइलाई मात्र होइन बहिनीलाई पनि जान मन लागिसक्यो । पढ्ने मान्छे बिदेसिँदा कलेज खाली भइरहेका छन् । मान्छेमा कुनै तरिकाले विदेश जाऊँ भन्ने भएको छ ।

यसलाई सम्बोधन गर्नका लागि हामीले मुलुकमा शासन ठिक ढङ्गले चलाउनुपर्‍यो । मान्छेमा भएको निराशा चिर्नका लागि मुलुकमा शासन ठिकसँग चल्छ भन्ने विश्वास दिलाएनौँ भने मानिसबाट उठेको आस्था बस्दैन ।

  • यो वितृष्णा भनेको मूलतः सरकारका कारणले हो । सरकारले राम्रो डेलिभरी दिने र सुशासन काम गर्ने हो भने त विश्वासको वातावरण बन्न सक्छ होला नि त । सरकारमा रहेको सबैभन्दा ठुलो दल कांग्रेसले यो काम गर्नुपर्ने हैन र ?

हाम्रो शासन किन खराब भयो त ? शासन सुधार्ने लक्षण किन देखिएन ? प्रार्थना गरेर शासन सुध्रिँदैन । भाषण गरेर शासन सुध्रिँदैन । अस्ति पनि प्रधानमन्त्रीको भाषण सबै दलका मान्छे बसेर लेखिएको थियो । तर, त्यसको के अर्थ त ? हामी शासन सुधार्नेभन्दा पनि गठबन्धनमा कोही रिसाउँछ कि भनेर काम गरिरहेका छौँ ।

प्रधानमन्त्री रिसाउँदा सबै बिग्रिन्छ भन्ने कांग्रेसका नेतालाई परेको होला । कांग्रेस सभापति रिसाउँदा सबै बिग्रिन्छ भन्ने प्रधानमन्त्रीलाई परेको होला । यस्तो मानसिकताले हामी काम गरिरहेका छौँ । जनतासँग मतलब भएन । राज्यका सबै अंगलाई कब्जा गर्ने मानसिकता बढी छ ।

  • कांग्रेस नसच्चिईकन यी यावत समस्याहरू समाधान हुन्छ ?

हामीले होम गरेर सच्चिने होइन नि ! पुराण सुनेर सच्चिने होइन नि ! सच्चिनका लागि आफू तयार हुनुपर्छ । तर यहाँ कांग्रेसको मात्र कुरा छैन ।

एउटा व्यक्ति बालुवाटारबाट रिसाएर हिँड्दा हाम्रो पार्टीमा सन्नाटा छायो । त्यो व्यक्तिले हामीतिर हेर्न थालेपछि हाम्रो सबै समस्या समाप्त भयो ।

म एउटा उदाहरण दिन्छु – जुन दिन हाम्रो हातबाट सरकार नबन्ने भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भवनमा पुर्‍याएर प्रधानमन्त्री बनाउँदा मेरा पार्टीका सबै मान्छेको होस हराएको जस्तो भएको थियो । फेरि हामीले प्रचण्डलाई धुम्बाराही पुर्‍याउन सकेपछि मात्र सन्तोषको श्वास फेर्ने काम भयो ।

त्यसपछि हामीलाई शीतलनिवासमा राष्ट्रपति पठाउन सजिलो भयो । अहिले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर गइरहेका छौँ । एउटा व्यक्ति बालुवाटारबाट रिसाएर हिँड्दा हाम्रो पार्टीमा सन्नाटा छायो । त्यो व्यक्तिले हामीतिर हेर्न थालेपछि हाम्रो सबै समस्या समाप्त भयो ।

हामीलाई चिन्ता हुनुपर्ने कहाँ निर हो भने अघिल्लो निर्वाचनमा कांग्रेसको समानुपातिक मत ३२. ८ प्रतिशत थियो । हामीले प्रत्यक्षतर्फ २३ सिट मात्र जितेका थियौँ । अहिले कांग्रेसको ७.१ प्रतिशत मत खस्किँदा रोएनौँ हामी । कांग्रेसलाई जनताले पत्याउने आधार घटे पनि गठबन्धन गरेर पहिलो दल बनेकोमा हामी खुसी छौँ ।

  • यो चिन्ता कसलाई हुनुपर्ने हो ?

सबैलाई हुनुपर्ने हो ।

  • सभापति शेरबहादुर देउवाजी सच्चिनु होला, अनि नेपाली कांग्रेस सच्चिएला भन्ने आश मान्छेमा हरायो भन्ने छ । त्यसको पछिल्लो उदाहरण भनेको राष्ट्रिय सभामा जसलाई टिकट दिनुभयो । त्यसकारण पनि कांग्रेस सच्चिँदैन भन्ने निष्कर्ष निकाल्न थालेका छन् नि ?

रुद्री पाठ गरेर मैले कसैलाई सच्याउन सक्दिनँ नि ! मैले सच्चिने आफू हो । मैले पार्टीलाई ठिक ठाउँमा ल्याउने आधार निर्माण गर्न सकेँ भने, मेरो पार्टीका साथीहरूमा त्यो आत्मविश्वास जागृत गराउन सकेँ भने मेरो पार्टी सच्चेला नि त । त्यसैले व्यक्तिलाई सच्याउनका लागि न मलाई पूजा पाठ गर्नुछ न त रुद्री गर्नुछ ।

अब मैले पार्टीको वर्तमान संरचना कसरी परिवर्तन हुन्छ सोच्नुपर्‍यो । सबैभन्दा चाँडो परिवर्तन हुने भनेको दुई वर्षपछि हो ।

  • तपाईंलाई आम निर्वाचनमा टिकट दिइएन । अहिले पनि राष्ट्रियसभामा कोशीबाट तपाईंको नाम चर्चामा थियो । तर, दुई—दुई पटक प्रतिनिधिसभामा हारेको मान्छेलाई टिकट दिइएको छ । कांग्रेसमा नेतृत्वको रुद्री पाठ र चण्डी पाठ नगर्ने हो भने डाक्टर मिनेन्द्र रिजाल मात्र हुने अवस्था देखियो नि ?

कृष्णप्रसाद सिटौलाजीको उम्मेदवारीमा प्रतिकूल प्रभाव पर्ने गरी म केही पनि गर्दिनँ । आज मैले केही सैद्धान्तिक विषय उठाउँदा सिटौलाजीको उम्मेदवारीमा प्रतिकूल प्रभाव पर्न सक्छ । त्यो कुरा गर्दिनँ ।

म बोल्न मिल्ने कुरा बोल्छु । पार्टी नेतृत्वको वर्तमान संरचना कायम रहेसम्म मिनेन्द्र रिजाललाई सांसद बन्ने मैका प्राप्त हुने छैन भन्ने सन्देश मैले बुझ्नुपर्छ । अब मैले पार्टीको वर्तमान संरचना कसरी परिवर्तन हुन्छ सोच्नुपर्‍यो । सबैभन्दा चाँडो परिवर्तन हुने भनेको दुई वर्षपछि हो । पदावधि थप्ने बाटोमा पार्टी जान नसकोस् । त्यसका लागि वातावरण निर्माण गर्नुपर्‍यो । वर्तमान संरचना भनेर मैले एउटा व्यक्तिलाई भनिराखेको छैन ।

  • कांग्रेसको १४ औँ महाधिवेशनबाट दुई जना युवा महामन्त्री आउनुभयो । तर पार्टी त चलेन नि त ? उहाँहरूमा पनि समस्या देखियो ?

व्यक्तिको टाउको माथि आरोप लगाएर उम्किने कुरा म मान्दिनँ । तर, वर्तमान पार्टी संरचना निर्वाचनमा ७ प्रतिशत मत घट्दा पनि आनन्दले बसेको छ । यसले कहीँ न कहीँ हाम्रो सोच्ने शैलीमा खराबी छ । कसरी मत बढाउने भनेर आज कांग्रेसमा हुटहुटी हुनुपर्ने हो । अहिलेकै पद्धतिमा हामी टिकिराख्ने हो भोलि पनि मत घट्छ । तर आजको दिनमा गठबन्धन बलियो बनाउने मात्र प्राथमिकता छ ।

भोलि वर्ष दिनमा कांग्रेस प्रधानमन्त्री हुने बेलामा अहिलेका प्रधानमन्त्रीले ‘लौ प्रधानमन्त्री छोड्छु भनेको थिएँ । अब त मलाई छोड्न मन लागेन के गर्ने ? अस्ति पनि मैले अर्कोतिर बनाएको थिएँ,  फेरि यतातिर टिक्न आएँ । मैले तपाईंहरुलाई पनि केही दिइसकेँ’ भनेर अर्कोतिर गए भने के गर्ने ?

आम नागरिकले पनि भन्छ – हिजो यस्तै गर्नुभएको थियो । एउटा ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, अर्को ठाउँबाट फेरि फिर्ता ल्याउने । यस्तै भोलि पनि गर्नुहुन्छ । अनि यी सबै चिजको समाचार बनाउँदा  तलको मान्छे त निराश हुन्छ ।

  • कांग्रेसभित्र यो गठबन्धन टिकाई राख्नुपर्छ भन्ने सभापति नै हुनुहुन्छ । उहाँलाई छैटौँ पटक प्रधानमन्त्री बन्नु छ । अर्को पक्ष चाहिँ यो गठबन्धन टुटाइहाल्नुपर्छ भन्छ ।

गठबन्धन टुटाई हाल्नुपर्छ भन्ने होइन । गठबन्धन टुट्दा चाहिँ मैले अब पार्टी निर्माण गर्ने अवसर आयो भन्ने ठानेको थिएँ । ३६ प्रतिशतको समानुपातिक मत पाएको पार्टी २५ प्रतिशतमा पुग्दा झन्डै ११ प्रतिशतको आधार ऐतिहासिक रूपमा कमजोर भयो । अब त्यो निर्माण गर्नुपर्छ । त्यसैले नेपालमा कम्युनिस्टहरूको विकल्पको रूपमा कांग्रेस हुन्छ कि हुँदैन भनेर कांग्रेस बलियो रूपमा स्थापित हुनुपर्ने जरुरी छ ।

लोकतन्त्र निर्माण गर्ने बेलामा विपक्षमा पनि बस्नुपर्छ । नत्र लोकतन्त्र अस्वीकार गरेजस्तै हो । विपक्षमा हुँदा आकाशै खस्यो भन्ने र सत्तामा हुँदा राजै भएँ भन्ने हुँदैन ।

सबै कम्युनिस्ट पार्टी एक भएर सरकार बनाउँदा हामीले कांग्रेस कमजोर भएको ठान्नु पर्ने थिएन । संविधान छ, व्यवस्था छ, प्रधानमन्त्री बन्ने, सरकार बन्ने, निर्वाचन गर्ने पद्धति छ । हाम्रै पालामा दुई–दुई पटक निर्वाचन भयो । हाम्रै नेतृत्वमा संविधान बनेको छ । हाम्रै नेतृत्वमा शान्ति प्रक्रियाका केही काम भएको छ । यी सबै काम गरेको थियो कांग्रेसले ।

नेपालमा कम्युनिस्ट विचारधाराबाट देश अघि जान सक्दैन । हिजो हामीले शान्ति ल्याउन हतियार र लडाकु व्यवस्थापन गर्‍यौँ । संविधानसभाको निर्वाचन गर्‍यौँ । अब सङ्क्रमणकालीन न्यायका केही काम पूरा गर्नुछ ।साथै एउटा उदार लोकतान्त्रिक शक्तिले कसरी राष्ट्र निर्माण गर्ने भन्ने अवसर बनेको छ ।

लोकतन्त्र निर्माण गर्ने बेलामा विपक्षमा पनि बस्नुपर्छ । नत्र लोकतन्त्र अस्वीकार गरेजस्तै हो । विपक्षमा हुँदा आकाशै खस्यो भन्ने र सत्तामा हुँदा राजै भएँ भन्ने हुँदैन । यी दुई वटै भावलाई छाडेर हिँड्नुपर्थ्यो । यो भावमा परिवर्तन नआउँदासम्म कांग्रेसको पुनर्निर्माण हुनुहुँदैन ।

  • अहिलेको गठबन्धनबाट कांग्रेस निस्कनुपर्छ भन्ने हो ?

यो गठबन्धन नबनाई चुनाव नजितिने, जनताले मत कम हाले वा सात प्रतिशतभन्दा कम मत हाले पनि हामी सबैभन्दा ठुलो पार्टी बन्ने यो राजनीति कहीँ त खराब छ । यो राजनीतिबाट उम्कनुपर्छ ।

यो निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्छ । जहाँ पार्टीहरू एक्ला—एक्लै लड्नको लागि प्रोत्साहन मिलोस् । ताकि गठबन्धन बनाउन आवश्यक नहोस् । तर, यहाँ त कांग्रेस र एमालेबिच यस्तो प्रतिस्पर्धा छ कि जसले अर्को एउटा पार्टी थपेर हाल्यो, त्यही पार्टी सत्तामा हुने स्थिति छ ।

पार्टी नेतृत्वको वर्तमान संरचना परिवर्तन गर्नुपर्छ । दुई वर्षभित्र यो कार्यसमितिको पदावधि सकिन्छ । त्यो दुई वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ ।

हिजो ओलीले हामीलाई मज्जाले छक्काउनुभयो । कम्युनिस्ट–कम्युनिस्ट नारा दिएर झन्डै दुई तिहाइमा पुग्नुभयो । तर हामीले ओलीले लगेको पार्टीलाई हामीले ल्यायौँ । हामी पनि झन्डै–झन्डै बहुमत हुन पुग्यौँ । छुटिएर गएको व्यक्तिलाई पनि फेरि यहाँ बाँधेर ल्याउन सफल भयौँ ।

हामीले प्रतिनिधि सभा हिजो प्रतिनिधिमूलक भएन, दलित, महिला र दुरदराजको प्रतिनिधित्व हुन पाएन भनेर निर्वाचन प्रणालीमा हामीले समानुपातिक जोड्यौँ । त्यो जोड्नेमा मेरो पनि भूमिका थियो । तर समानुपातिकमा कस्ता मान्छे आएका छन् त ? तपाईंले हेर्नुभयो भने अहिले सबैभन्दा बढी को आउँछ ? समुदाय हेर्नुभयो जुनसुकै प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने मान्छे समानुपातिकमा आइरहेका छन् ।

  • तपाईंले पार्टी भित्रको बेतिथिको कुरा गर्नुभयो । यसमा कांग्रेस नसुध्रीकन हुन्छ त ?

पार्टी नेतृत्वको वर्तमान संरचना परिवर्तन गर्नुपर्छ । दुई वर्षभित्र यो कार्यसमितिको पदावधि सकिन्छ । त्यो दुई वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ । त्यसपछि आम निर्वाचन गर्न दुई वर्ष बाँकी रहन्छ । त्यसबेलासम्म पार्टीले आफ्नो प्लेटफर्म तयार गरेर जानुपर्‍यो ।

म व्यक्तितर्फ केन्द्रित भएर जवाफ दिन्नँ । सार्वजनिक रूपमा कसैलाई गाली गर्दिनँ । मेरो कसैकाप्रति चित्त दुखेको छ भने गाली गरेर हुँदैन । कांग्रेस सुधार्न बल, बुद्धि विवेकले भ्याएसम्म लाग्छु ।

  • अहिले संस्थापन पक्षले शेखर कोइरालाले ४० प्रतिशत मागेर कामै गर्न दिएन भनिराखेको छ नि त ?

तपाईंले मलाई यो विषयमा जति बोल्न लगाए पनि म बोल्दिन । म यति भन्छु । कांग्रेसमा व्यक्ति को ठीक भन्ने कुरा त भोलि महाधिवेशनले प्रतिनिधिले तय गर्ला नि त । मेरो कुरा यति हो, दुई वर्षभित्र महाधिवेशन हुनुपर्‍यो ।

  • दुई वर्षसम्म पार्टी नै नरहला जस्तो भइसक्यो । अहिल्यै सच्चिनुपर्ने स्थिति होइन र ?

मनोगत कुरा गरेर हुँदैन । हाम्रो पार्टीको नेतृत्व परिवर्तन गर्ने भनेको महाधिवेशनले हो । महाधिवेशनभन्दा अर्को बाटो रोजियो भने हाम्रो पार्टी रहँदैन ।

म उमेरमै छँदा, हिजो पार्टीको नेतृत्व प्रति असन्तुष्ट हुँदा, अर्को पक्षसँग साथ लागेर अर्को पार्टी निर्माण गरेर फेरि मूल पार्टीमा जोडेर यहाँसम्म आएको व्यक्ति हुँ । त्यसैले म पार्टीलाई विभाजनको विन्दुसम्म धकेल्ने पक्षमा छैन ।

मेरा लागि महाधिवेशनमा पुगेर नेतृत्वको वर्तमान संरचना बदल्ने कुरामा सहज बाटो छ । संसद्को कुरा संसद्मा भएका साथीहरूले गरुन् ।

  • संसदीय दलको नेता तुरुन्तै फेर्नुपर्छ भनेर एक पक्ष लागेको छ । त्यसमा तपाईंको भनाई के छ ?

म संसद्मै छैन । जो मान्छेलाई संसद्मा जाने बाटै छैन । जो मान्छेलाई पार्टीले अहिलेको नेतृत्वको संरचना रहँदासम्म जान दिन्नँ भनेर ढुक्कसाथ बसेको छ । सांसद नभएको मान्छेले यता फेर्छु र उता फेर्छु भन्न भएन ।  त्यो प्रक्रिया जान सक्ने साथीहरू त्यहीँ बसेर काम गरे भयो नि त । मलाई त्यसमा आफ्नो विचार राख्नु छैन । त्यही भएका साथीहरू दङ्गल गरे भयो ।

मेरा लागि महाधिवेशनमा पुगेर नेतृत्वको वर्तमान संरचना बदल्ने कुरामा सहज बाटो छ । संसद्को कुरा संसद्मा भएका साथीहरूले गरुन् । उहाँहरूले गरेका कुराले पार्टीलाई सही बाटोमा ल्याउँछ भने मैले त्यहाँ दुःख मान्नुपर्ने केही कुरा छैन ।

  • आउने महाधिवेशनबाट शेरबहादुर देउवालाई नेतृत्वबाट हटाउन लाग्नुभएको हो ?

मैले त्यो भनेको छैन । उहाँ त आफैँ जाँदै हुनुहुन्छ । पार्टीको विधानले दुई पटक भन्दा बढी पार्टी सभापति हुन नपाइने भनेको छ । त्यस कारण उहाँको विषय त मौन भइसक्यो । आउने महाधिवेशनले बाँकी मध्येबाट सभापति छान्ने हो । जो सँग प्रतिस्पर्धा नै छैन उसको बारेमा के कुरा गर्ने ?

  • विधान त परिवर्तन गर्छन् नि पार्टीहरूले । एमाले र माओवादीले गरिसक्यो होइन र ?

बहुमत ल्याउन सक्ने शक्तिहरूले विधान परिवर्तन गर्ने कुरा पनि रोक्न सक्छ नि त । रोक्न सक्दैन ? विधान परिवर्तन गर्दा अल्पमतमा परिसक्ने अनि बहुमतमा पुग्न सकिन्छ ? जसको महाधिवेशनमा बहुमत हुन्छ उसले विधान परिवर्तन गर्छ । बिचमा परिवर्तन भएछ भने पनि फेरि महाधिवेशनको मुखमा विधानलाई ठिक ठाउँमा ल्याएर अनि महाधिवेशनले नेतृत्व चयन गर्न सक्छ नि त ।

अहिलेको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउने भनेको अर्थ मन्त्रालय, योजना आयोग र मन्त्रालयहरूले गर्ने कामबाट मात्रै सम्भव छ नभए सामान्य ज्वरो आएको बेला औषधि खाएको जस्तै हुन्छ भनेको छु ।

  • अहिले तपाईंको पार्टीको नेता अर्थमन्त्री हुनुहुन्छ । तर, अर्थतन्त्रका आँकडाहरू सुध्रिएन भन्ने छ । तपाईं पनि अर्थतन्त्रको विज्ञ नै हो । यसमा तपाईंको भनाई के छ ?

यसमा दुई वटा कुरा छ । पहिलो कुरा उहाँ अर्थशास्त्रको विद्यावारिधि । म अर्थशास्त्रको विद्यावारिधि होइन । मैले उहाँभन्दा बढी जानेको छु भनेर तपाईंले भनेको कुरा स्वीकार गर्ने हो भने त्यो ठिक हुँदैन । दुई नम्बर कुरा, मेरो पार्टीको सभापतिले श्रीलंका बन्ने—बन्ने डिलमा पुगेको अर्थतन्त्र जोगाएर ल्याएको मान्छेलाई कसले हटाउँछ भन्नुभएको छ । यी दुई वटा कुरा राखेर यति भन्छु कि व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँ मेरो पुरानो साथी हुनुहुन्छ । उहाँसँग मेरो मित्रभाव नै छ । मैले केन्द्रीय समितिमा पनि भनेको छु कि तपाईं ज्यादा मनिटरी पोलिसीतिर हिँड्नुभयो, राष्ट्र बैंकले गरेन भन्नुभयो ।

अर्थ मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ । अहिलेको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउने भनेको अर्थ मन्त्रालय, योजना आयोग र मन्त्रालयहरूले गर्ने कामबाट मात्रै सम्भव छ नभए सामान्य ज्वरो आएको बेला औषधि खाएको जस्तै हुन्छ भनेको छु ।

वित्तीय नीतिले अर्थतन्त्रमा सुधार आउँछ भनेको छु  । सरकारको आर्थिक कार्यक्रममा छलफल गर्नुपर्छ । तर, आज फलाना पार्टीले सहयोग गरेन, भोलि अर्को पार्टीले सहयोग गरेन भनेर हुँदैन । समग्रमा यो सरकार जहिलेसम्म बस्छ, त्यसबेलासम्म कुन खालको आर्थिक नीतिमा एकरुपता अपनाउनुपर्छ, त्यता छलफल हुनुपर्ने होला नि त ।

अब मैले त कसरी आशा गर्ने ? गठबन्धनको प्रधानमन्त्रीले कसरी अर्थतन्त्रलाई उकास्न सकिन्छ भनेर राजनीतिक दलका मानिसहरू र विज्ञ/बुद्धिजीवीलाई बोलाएर कुरा गर्दा म सँग कुरा गर्न लायक भन्ठान्नु भाथेन । प्रधानमन्त्रीको नजरमा कुरा गर्न लायक मान्छे नै भइनँ ।

  • तपाईंको पार्टी सभापतिका कारण राष्ट्रिय सभामा असन्तुष्टि भयो । दुई महामन्त्रीले ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो । अरू नेताहरूले लेखिरहनु भएको छ । राष्ट्रिय सभाको औचित्यमाथि नै प्रश्न चिन्ह तपाईंको पार्टी सभापतिले उठाइदिनुभयो नि ।

मिनेन्द्र रिजालको हर फुस्केको छ नि त । म महामन्त्रीमा हारेँ, मन्त्रीबाट राजीनामा दिएँ । त्यसलाई अपमान गर्‍यो भन्ने रूपमा बुझेर मलाई टिकट दिइएन । केन्द्रीय समितिमा पनि मुस्किलले बल्लतल्ल छु । मेरो हरले धेरै भार थेग्दैन नि त । त्यो कुरा मैले स्वीकार गर्नुपर्‍यो ।

त्यसैले मैले आजको दिनमा शान्त मनले के भन्छु भने मन्त्री ठिक भयो भएनन् भन्ने सांसदले चिन्ता गरुन् । जो प्रतिनिधि सभा र राष्ट्रिय सभामा छन्, तिनले यो मन्त्री भयो भने काम गर्न सक्छ भनेर उनीहरूले चिन्ता गर्ने हो । त्यो भार उनले बोक्न सक्छन् । सांसदहरू एकट्ठा भएर त्यो काम गर्न सक्छन् । म हर फुस्किएको मिनेन्द्र रिजाललाई किन लगाउने ? म एक जना धुरीमा चढेर आलोचना गर्ने बित्तिकै सप्रिन्छ भन्ने के छ र?

रातो पाटीबाट