माओवादी धारका आठ दलले सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा समझदारी गर्दै मंगलबार हस्ताक्षर गरे । सङ्क्रमणकालीन न्याय तत्काल टुङ्गो लगाउने विषयमा षड्यन्त्र भए प्रतिवाद गर्नेमा उनीहरू एकमत भए ।
आठ माओवादी धारको बालुवाटारमा भएको छलफल, पार्टी एकताको सम्भावना र सङ्क्रमणकालीन न्यायका विषयमा केन्द्रित रहेर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी (चन्द्रप्रकाश) गजुरेलसँग रातेपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः
उहाँहरू (प्रचण्ड) ले विभाजित हुँदा माओवादी आन्दोलन कमजोर भयो, हाम्रा कमीकमजोरी के के हुन्, सबैका कमीकमजोरी भएरै यो अवस्था आएको हो भन्ने कुरा गर्नुभयो । मेरो तर्फबाट कमजोरी भएको हो भने कन्भिन्स गराउनुहोस्, म सच्याउन तयार छु र अरूबाट कमजोरी भएको छ भने पनि सच्याउन लागौँ भन्ने कुरा आयो ।
सकिन्छ भने पार्टी एकता गरेर जाऊँ, माओवादी आन्दोलनलाई बलियो बनाऊँ, यदि सकिँदैन भने संयुक्त मोर्चा बनाएर जाऊँ भन्ने कुरा पनि उताबाट आयो ।
त्यसपछि हामीले पार्टी एकता गर्न महत्त्वपूर्ण समीक्षा हुनुपर्छ, अहिले पार्टी एकता गर्न तपाई र हाम्रोबिच केही मिल्दै मिल्दैन, तपाईंहरु सत्तापक्ष हुनुभयो र हामी विरोधी पक्ष वा यो व्यवस्था नमान्ने पक्षका भयौँ भन्ने कुरा राख्यौँ । हामी एमसीसी राष्ट्रघाती भन्ने भयौँ, तपाईंहरु त्यसैलाई पास गरेर जाने हुनुभयो । यस्ता धेरै विषयमा असहमति छन् । त्यसैले तत्काल पार्टी एकता गर्न सक्ने अवस्था छैन भन्ने कुरा राख्यौँ ।
यस्तै, अर्को विषय सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने रहेछ । सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दा दर्ता गरेर हेर्ने विषयमा एक भएर प्रतिवाद गर्ने समझदारी भयो । जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न थाल्यो भने शान्ति प्रक्रिया भङ्ग हुन्छ । सर्वोच्च अदालतले जनयुद्धकालीन मुद्दालाई जसरी चलाउन खोजेको छ, त्यो विल्कुल गलत छ । सङ्क्रमणकालीन न्याय सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत किनारा लगाउनुपर्छ । त्यो शान्ति प्रक्रियाको स्प्रिट हो । शान्ति प्रक्रिया टुङ्गो लगाउनुपर्छ भन्नेमा सबै सहमत छौँ । यस विषयमा मिलेर जान सकिन्छ भन्ने छ ।
अहिले माओवादी धार एकता गरेर जाने अवस्था छैन । तत्काल कार्यगत एकता गरेर जाने स्तरसम्म हुन्छ । हाम्रो निष्कर्ष त्यही भयो । कार्यगत एकता भनेको निश्चित एजेण्डामा हुन्छ । तत्काल सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा कार्यगत एकता हुन सक्छ । पार्टी एकता तत्काल सम्भव छैन ।
कार्यगत एकता गर्दै जाँदा परिस्थिति परिवर्तन हुन सक्छ । परिस्थितिले हामीलाई बाध्य बनाउला वा के गर्ला ! त्यो अवस्था बेग्लै कुरा हो । नभए तत्काल पार्टी एकता हुने अवस्था छैन । कार्यगत एकता हुन सक्छ ।
सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषयमा के के सुझाव दिनुभयो ?
हामीले न्याय नदिने भनेका छैनौं । न्याय दिनुपर्छ । सङ्क्रमणकालीन न्याय शान्ति प्रक्रियाको अभिन्न अङ्ग र महत्त्वपूर्ण पक्ष समेत हो । सङ्क्रमणकालीन न्याय सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउनुपर्छ । अर्को भनेको मेलमिलापबाट हुन्छ । फौजदारी कानुन प्रयोग गर्ने भन्ने होइन ।
अहिले नियमित अदालतले हेर्नु भनेको शान्ति प्रक्रियाको विपरीत हुन्छ । त्यसमा हामी सबैको एउटै बुझाई भयो ।
के अब सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन माओवादी धार एक भएकै हो ?
हो, सङ्क्रमणकालीन न्याय तत्काल टुङ्ग्याइनुपर्छ । त्यो टुङ्गो लगाउन एक जुट हुनेछौँ । सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन दबाबमूलक कार्यक्रम गर्ने सोचिएको छ । आजै त्यस विषयमा कुनै निर्णय भएन । अर्को दिन फेरि बसेर दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएका छौँ । सरकारलाई सङ्क्रमणकालीन न्याय दिन पहल लिनुपर्छ भनेर दबाब दिइने छ । सरकारमा बसेकाले तत्काल सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन पहल गर्नुपर्छ । सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलेर सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउनुपर्छ भन्ने छ ।
रातोपाटीबाट