२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

‘प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ’ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता )

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति बन्न सक्ने बताए । प्रस्तुत छ महामन्त्री शर्मासँग गरेको कुराकानी :

हिजो दिउँसो वीरेन्द्रनगरमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार, उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाएर जान सकिने बताउनुभयो । बेलुका उपसभापति खड्काकै घरमा खाना खानुभयाे । यो विषयमा केही कुराकानी भयो ? 

उहाँको जिल्लामा आएको बेला स्नेहपूर्वक घरमा खाना खान निम्त्याउनुभएको थियो । हिजो त्यहाँ अन्य थुप्रै साथीहरु भएकाले कुरा हुन पाएन । त्यसबारे उपसभापतिज्यूको भनाइ के हो भने, सभापतिज्यूको अहिले नै राष्ट्रपति बन्ने रुची छैन, अहिले नै सक्रिय राजनीतिबाट बहिरिन्छु भन्ने सोच्नुभएको छैन । तपाईले भनेको विकल्प अगाडि बढ्ने सम्भावना म देख्दिन भन्नुभयो ।

देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाएर पार्टी राजनीतिबाट किनारा लगाउन खोज्नुभएको हो । या तपाईंले नै भन्ने गरेको  जस्तो उहाँको सम्मानजनक बहिर्गमन होस् भन्ने चाहनुभएको हो ?

उहाँले सभापतिको रुपमा पार्टी चलाइरहनुुभएकै छ । पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो । अस्ति प्रधानमन्त्री कांग्रेसले गुमाउनु हुँदैनथ्यो । अथवा प्रचण्डलाई बनाउँदै गर्दा काँग्रेस सहितको गठबन्धन काययम रहनुपर्थ्यो भन्ने हामी सबैको ध्येय हो । त्यहाँ हामी केही चुक्यौं । हाम्रो असावधानी भयो । अब कसैलाई दोष लगाएर पुग्दैन ।

त्यसबेला मेरो कुरा के थियो भने सभापतिज्यूले गर्नुभएका कयौं राम्रा कामहरु ओझेलमा परेका छन् । त्यसैले उहाँको सम्मानजनक बहिर्गमन होस् भनेको थिएँ । त्यो बेला उहाँ दलको नेता बन्नतिर नलागेको भए त्याग गर्नुभयो भन्ने इतिहास लेखाउने अवसर थियो । तर त्यसो हुन सकेन । अब फेरि उहाँलाई त्यो अवसर जुरेको छ । उहाँ राष्ट्रपति बन्नुभयो भने त्याग र प्राप्ति दुईवटै अवसर छ । सक्रिय राजनीति त्याग्नु, त्याग हो । राष्ट्रपति बन्नु प्राप्ति हो ।

त्यसो भए कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हो ?

चार/पाँच जना नेता आकांक्षी हुनुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले म बन्दा उपयूक्त हुन्छ भन्नुभएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला एउटा प्रबल उम्मेदवारको रुपमा हुनुहुन्छ । त्यस्तै गोपालमान श्रेष्ठ हिजो पार्टीको कार्यबाहक सभापति भइसकेको व्यक्ति हुनुहुन्छ । प्रध्यापन क्षेत्रबाट आउनुभएको मानबहादुर विश्वकर्मा पनि हुनुहन्छ ।

यसमा प्रचण्डसँग कुन रुपमा समझदारी हुन्छ भन्ने कुराले अर्थ राख्छ । हामी धेरै हदसम्म विश्वस्त छौ, कांग्रेस–माओवादीको नयाँ समीकरण बन्छ । हामीले गत चुनावमा मिलेरै भोट मागेका थियौं ।

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिदै गर्दा गोरखामा रुख चिह्नधारीले भोट दिएको कुरा बिर्सिनुभएको छैन । झापा–१ मा माओवादीले विश्वप्रकाशलाई भोट दिएको मैले पनि बिर्सिएको छैन । हामी राष्ट्रपतिमा समझदारीमा आयौं भने प्राकृतिक देखिन्छ । जो चुनावका बेला गरिएको बचनवद्धता पनि हो ।

प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने बेला तपाईंहरु दुबै जना महामन्त्री उपत्यका बाहिर हुनुहुन्थ्यो । गठबन्धन तोडिनुको दोषजति तपाईहरुले सभापतिलाई दिनुभयो । फेरि राष्ट्रपतिको चुनाव नजिकिएको छ । तपाईहरु उपत्यकाबाहिर हुनुहन्छ । यो संयोग मात्रै हो कि, जिम्मेवारीबाट पन्छिन खोज्नुभएको हो ?

काठमाडौंबाट यहाँ आउनुअघि यो विषयमा हामी छलफलमै थियौं । १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । ११/१२ गते विश्वप्रकाश सुर्खेततिर, झापातिर भेटियो भने त्यो बेला म आफ्नो जिम्मेवारीबाट बाहिरिएको हुन्छ । तर हामीले १० गते पछाडिनै मात्रै यो विषयमा छलफल गर्ने सहमति गरेका छौं ।

११ गते हाम्रो कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ । एकजना सभापतिको थाप्लोमा हालेर उम्किन खोजिएको होइन । यसमा सफलता मिल्यो भने श्रेय सभापतिलाई नै जान्छ । गुम्यो भने दोष हामी सबै लिन्छौं । यो पटक हामी सबै एक ढिक्का भएर उभिएका छौं ।

तपाईले अगाडि नाम लिएका आकांक्षीमध्ये राष्ट्रपतिको उम्मेदवारमा महामन्त्रीद्वयको समर्थन कसलाई रहन्छ ?

हामीले सभामुख र उपसभामुखको उम्मेदवार उठायौं । निर्णय गर्ने वैधानिक संरचनामा सभापति, दुईजना महामन्त्री र प्रमुख सचेतक रमेश लेखक हुनुहुन्थो । संसदीय दल कार्यसमितिको चारजनाको टिमले नै सभामुख र उपसभामुख कसलाई उठाउने भनेर माइन्युट गरेका थियौं । राष्ट्रपतिको विषयमा केन्द्रिय कार्यसम्पादन कार्यसमितिको बैठकले निर्णय गर्छ । मैले भनेका ४ जना उम्मेदवारमध्ये फलानो भनी नहालौ । हामी सबै एक ढिक्का छौं । पार्टीभित्र सबैको सहमतिबाट उम्मेदवार उठाउँछौं ।

कांग्रेस राष्ट्रपतिकै लागि सत्तारुढ गठबन्धन टुटाउन तयार देखियो तर एमालेले उठाएको व्यक्तिलाई राष्ट्रपतिको रुपमा स्वीकार्न तयार देखिएन किन नि ?

एमालेले उठाएको व्यक्तिलाई राष्ट्रपतिमा स्वीकार्नु भनेको अघिल्लो पटक भएका गल्तीहरुको निरन्तरता जस्तै हो । विगतको अनुभवमा गल्ती गरेका छौं भने त्यसलाई निरन्तरता दिने कि त्यो भन्दा भिन्न भएर जाने भन्ने प्रश्न हो ।

हामीले राष्ट्रपति उहाँको (एमालेको) बनाइदिनुपर्छ भन्ने पनि हुन्छ र ? यदि त्यसो गरियो भने हामी अघिल्लो गल्तीबाट सिकिरहेका हुँदैनौं, त्यही गल्ती दोहोर्‍याउने व्यवस्था मिलाइदिएका हुन्छौं । त्यसकारण पनि कांग्रेसले उम्मेदवारी दिन्छ ।

अर्को कुरा ४ मंसिरको जनमत अनुसार सबैभन्दा ठूलो दल त कांग्रेस हो नि । कहीँ सवधानी पुगेन होला, हाम्रा बीचमा गठबन्धनलाई जोगाएर जानलाई कांग्रेस र माओवादीबीच उच्चतम परिपक्वता पुगेन होला । तर कांग्रेस–माओवादी सहितको सरकार बन्नुपर्ने थियो, त्यही नै जनमतको वैधानिकता हो । संसदको सबैभन्दा ठूलो दलको प्रधानमन्त्री नहुने, सभामुख नहुने र राष्ट्रपति पनि नहुने हो भने त्यो जनमतले न्याय पाउँदैन ।

राष्ट्रपतिमा कांग्रेसको राष्ट्रपति निर्वाचित गराउन माओवादीसँग कस्तो समझदारी हुन्छ ? एमालेसँग त प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्रीको सहमति गरेको सार्वजनिक भएको छ । कांग्रेस ५ वर्ष नै प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार हुन्छ ?

यसबारे हामीले संस्थागत रुपमा निर्णय गरेका छैनौं । परिस्थिति जे पनि बन्न सक्छ । तर हामी माओवादीलाई एउटै कुरा भन्छौ, हिजो सहकार्य गरेर चुनावमा गएका हौं । कारणवश सहकार्य टुट्यो होला एक अर्कालाई दोष नलगाऔं । सम्भव भएसम्म हिजोको सहकार्यलाई पुनः निरन्तरता दिऔं । कसैका विरुद्ध हिजो मिलेर चुनाव लड्ने अनि उसैसंग मिलेर सरकार बनाउने कुरा व्यवहारिक छैन । चुनावी गठबन्धन ब्यूतियो भने त्यो गठबन्धन नै बढी लोकतान्त्रिक र वैधानिक हुन्छ ।

राष्ट्रपति चुनावमा कांग्रेस माओवादी मिल्दा दुईवटा परिस्थिति बन्न सक्छ । एउटा राष्ट्रपति कांग्रेसको बन्ने वा कांग्रेसको राष्ट्रपति बनेर पनि एमाले–माओवादीको गठबन्धन कायमै रहने ।

अर्को भनेको यो गठबन्धन टुट्न पनि सक्छ । त्यो सम्भावना कुन रुपमा विकास हुन्छ, सोही अनुसार प्रचण्डले कति समय नेतृत्व गर्नुहुन्छ भन्ने निर्धारण हुन्छ । प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री बन्नसक्ने परिस्थिति पनि आउन सक्छ । अहिलेसम्म कुनैपनि प्रधानमन्त्री ५ वर्ष लगातार हुनुहुन्नथ्यो । कथाले माग्यो भने त्यो सम्भव पनि छ ।

कांग्रेसको राष्ट्रपति बन्दा पनि अहिलेको सत्तारुढ गठबन्धन रहिरहन सम्भव छ र ?

सत्ता गठबन्धन त सरकार बनाउनका लागि हो । राष्ट्रपति भनेको सरकार चलाउने होइन, देशको अभिभावक बन्ने कुरा हो । कुन दलको राष्ट्रपति बन्दा संविधानको पालनामा गाम्भीर्यता हुनसक्ला भन्ने हो । एमालेले प्रस्ताव गरेको अघिल्लो राष्ट्रपति जो बन्नु भयो । उहाँले संसदले दोहोर्‍याएर पारित गरेर पठाएको नागरिकता विधेयक रोक्नुभयो ।दुई दुई पटक संसद विघठन गर्ने प्रधानमन्त्रीलाई सघाउनुभयो । धारण ७६ (५) बमोजिम कसैले बहुमत लिएर जाँदा अस्वीकार गर्नुभयो । त्यसैले पनि काँग्रेसको राष्ट्रपति नै उचित हुन्छ भन्ने हाम्रो ठहर हो ।

अर्को कुरा कांग्रेसले प्रस्ताव गरेको राष्ट्रपतिको जरुरी प्रधानमन्त्री स्वयंमलाई छ । सभामुख एमालेको, महत्वपूर्ण मन्त्रालयहरु गृह, अर्थ, कानुन, परराष्ट्रलगायतका मन्त्रालयहरु अरुकै हातमा छ । भनेपछि प्रधानमन्त्रीसंग हुने चाहिँ के हो ? नेपाली सेना रहने रक्षा मन्त्रालय अरुको हातमा छ । भएको राष्ट्रपति पनि एमालेको हातमा पारिदिने, दुई वर्षपछि प्रधानमन्त्री पनि छोडिदिने, त्यसपछि के गर्ने ? काम गर्दै गर्दा प्रधानमन्त्री कमजोर बन्नु हुदैन । प्रधानमन्त्रीलाई पिँजडामा राख्ने खालको अवस्था जुन बनाइएको छ । त्यसलाई भत्काउने कर्तव्य हाम्रो भन्दा बढी प्रधानमन्त्रीकै हो ।

देशको संविघानले दिएको पावर प्रधानमन्त्रीको टेबलमा हुनुपर्छ । बालुवाटारको पावर बालकोटमा हुन थाल्यो भने त्यो संविधान बमोजिम सार्थक र सुन्दर हुँदैन ।

राष्ट्रपति एउटा संवैधानिक पदका लागि दलहरुबीच यत्रो लुछाचुँडी किन ?

अघिल्लो राष्ट्रपतिले संवैधानिक सेरोमोनियल भूमिका निर्वाह गर्नुभयो कि सक्रिय भूमिका निर्वाह गर्नुभयो भन्ने कारणले यो बहस जन्मिएको हो । राष्ट्रपति सेरोमोनियल पद भए पनि विगतमा त्यो रहेन त्यसैले सेरोमोनियल भूमिकामै फर्काएर ल्याउनका लागि अहिले यत्रो बहसको विषय बनेको हो ।

देशको प्रधानमन्त्री र राष्ट्रपति बन्दै गर्दा छिमेकी देशको सक्रियता किन बढ्छ । यसलाई कसरी लिनुभएको छ ?

यो संयोग पनि हुनसक्छ । अर्को कुरा हामी के गछौं भन्ने कुरामा प्रष्ट भएपछि कुनैपनि देश र देशका प्रतिनिधिहरुले सुवेक्षा राख्ने कुरा रहिरन्छ नै । जस्तो नेपालको संविधान ०७२ असोज ३ गते जारी हुने बेलामा हामीले सुनेको, थाहा पाएकै हो कि बाह्य दबाव तत्काल जारी गर्नुहुन्न भन्ने थियो भन्ने । तर हामीले संविद्यान जारी गर्‍यौं ।

यसमा राजनीतिक नेतृत्व सचेत हुनुपर्छ बाहिरबाट हुने भेटघाटलाई भेटघाटमै र सुभेच्छालाई सुभेच्छामै राखौं । बाह्य देशसंग सम्बन्ध राम्रो बनाऔं तर हाम्रो आन्तरिक मामिलामा हस्ताक्षेप गर्न कसैलाई नदिउँ । त्यो नेतृत्वमै भर पर्छ । ढोका हामीले राम्रोसंग लगाउन सकेनौं भने अरुले धकेल्छ ।

राष्ट्रपतिको निर्वाचनपछि राष्ट्रिय राजनीतिको परिदृश्य कस्तो देख्नुहुन्छ ?

२५ फागुनपछिको बाटो सकारात्मक नै जान्छ भन्ने लाग्छ । नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्नेमा देशले ढुक्क माने हुन्छ । त्यसरी बन्ने राष्ट्रपतिले कांग्रेसको चिन्ता गर्नुहुन्न, देशको चिन्ता गर्नुहुन्छ । संंविधान र प्रणालीको चिन्ता गर्नुहुनेछ । मुलुकको अभिभावक बन्नुहुनेछ ।

तर फेरि संघीय सरकारमा नयाँ समीकरण बन्ने, प्रदेश सरकारहरु ढल्ने, राजनीतिक अस्थिरता फेरि देखिने र नागरिकमा वितृष्णा आउने त होइन ?

चुनाव अगाडि जो जो जहाँ उभिएर गएका थियौं । आगामी ५ वर्ष त्यसमा इमान्दार भएर भएर जाऔं न कुरा मिलिहाल्छ । कांग्रेस–एमाले दुवै त्यसैमा इमान्दार बनौं । एमालेलाई चुनाव अगाडि त प्रचण्ड चाहिएको थिएन । अहिले किन चाहियो ? हामीलाई त चुनाव अगाडि पनि चाहिएको थियो ।

चुनावमा जाँदा १५/२० वर्षका लागि संगै जान्छौं, देशलाई स्थिरता र विकास दिन्छौं भनेर भोट ट्रान्सफर गराउने अनि चुनाव सकिएपछि अरुसंग मिलेर सरकार बनाउने भन्ने पनि हुन्छ र ? अस्थितरताको सुरुवात त त्यहीँबाट भएको हो नि । हामी त त्यो कोर्स करेक्सन गरौं भनिरहेका छौं । हामीले घोषणा पत्रमा विगतबाट पाठ सिक्दै ५ वर्षस्थिर सरकार दिन्छौ भन्ने प्रतिवद्धता नै गरेका छौं त ।

जे नहुनु थियो, त्यो त भइसक्यो नि । अब फेरि सरकार बनाउने र ढाल्ने खेलमा किन लाग्ने ?

अघिल्लो पटक दुई तिहाईको आकार लिएर जितेको एमाले–माओवादीले राम्रोसँग ५ वर्ष सरकार चलाइदिएको भए हुन्थ्यो नि । त्यो बेला हामी त चुपचाप बसेकै त हो । त्यो बेला जे द्वन्द्व भयो त्यसको असर अहिलेसम्म परेको छ । त्यसको परकम्प अहिले पनि छ । त्यस्सै कारण सरकार ढलिरहने, भत्किरहने र निराश बनाउने क्रम चलेको छ । त्यसलाई रोक्दै अब यो भन्दा तल जान नदिऔं भन्ने कांग्रेसको चाहना हो ।

राष्ट्रपतिको चुनावमा नयाँ र साना दलको भूमिका कस्तो देख्नुहुन्छ ?

हरेक सांसदको मतको महत्व छ । उहाँहरुको गोप्य मतदानको कुरा हो । यहाँनिर उभिदा उचित हुन्छ भनेर सम्बन्धित दलले निर्णय गर्छ । निर्णयमा पुग्दै गर्दा उहाँहरुले विगतको पाँच वर्ष र अस्थिरताको बिजारोपन राम्रोसंग नियाल्नुपर्छ । पाँच वर्षमा एउटै प्रदेशमा तीनवटा मुख्यमन्त्री बन्ने स्थिति आयो ।

त्यसो हुनुमा तत्कालिन राष्ट्रपतिको गार्जियनसिप खोज्नुपर्छ कि पर्दैन ? संसद विघटन बारबार नभएको भए यस्तो अवस्था त आउने थिएन र त्यसैले कस्तो राष्ट्रपति बनाउने भन्ने मुख्य कुरा हो । त्यसैले सबै पार्टीले एकपटक सोच्नैपर्छ ।

एमालेले पछिल्लो समय माधवकुमार नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचारहरु आएका छन्, एमालेले सर्वस्वीकार्य व्यक्ति राष्ट्रपतिमा उठायो भने कांग्रेसले के गर्छ ?

अहिलेसम्म नेपाली कांग्रेस आफनो उम्मेदवारी दिएर अगाडि जाने भन्ने मै छ । अहिले त्यो खालको विकसित अवस्था बनिसकेको पनि छैन । माधव कमरेडले गएको निर्वाचनमा हामी एक ठाउँमा उभिएको विषय प्रथम र प्रधान छ भन्दै आउनुभएको छ । हाम्रो सहकार्य पनि भइरहेको छ । मलाई लाग्दैन कि त्यस्तो कुनै नयाँ प्रकारको खेल होला । यदि त्यसो भइहाले पनि टिप्पणी गर्न हतार नगरौं ।

अनलाइन खबरबाट