२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

रुससँग नेपाललाई दिन धेरै थोक छ : राजदूत नोभिकोभ (अन्तर्वार्ता)

एलेक्सी ए. नोभिकोभ नेपालका लागि रुसी राजदूत हुन्। राजदूत एलेक्सी नोभिकोभको कुटनीतिक जीवन र नेपालबीच एउटा रोचक संयोग छ। एलेक्सी रुसी विदेश मन्त्रालयमार्फत् कुटनीतिक सेवामा जब सन् १९८७ मा प्रवेश गरे, त्यसै वर्ष उनको पोष्टिङ भयो, काठमाडौँस्थित तत्कालिन सोभियत संघको राजदूतावासमा। पहिलो पोष्टिङका क्रममा पाँच वर्ष नेपालमा कार्यरत रहँदा नेपाल र सोभियत संघ दुबैतिर भएका ठूला–ठूला राजनीतिक परिवर्तनका उनी साक्षी भए। उता सोभियत संघको विघटन भयो, रुसी महासंघ बन्यो। यता नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो। दुबै मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना भयो। मस्कोस्थित स्टेट इन्ष्टिच्युटबाट सन् १९८७ मा अन्तर्राष्ट्रिय सम्बन्धमा ग्य्राजुएट गरेलगत्तै विदेश सेवामा प्रवेश गरेका उनी नेपाल (१९८७–९२) पछि दुईपटक न्यूयोर्कस्थित रुसी महासंघको स्थायी नियोग (१९९४–९९ र २००२–०७) मा विभिन्न पदीय जिम्मेवारीमा कार्यरत रहे। राजदूत नोभिकोभ सन् २०१०–२०१५ सम्म छिमेकी भारतको मुम्बईस्थित रुसी संघको महावाणिज्यदूतका रुपमा कार्यरत थिए। यसपछि उनलाई रुसी विदेश मन्त्रालय अन्तर्गतको मानव स्रोत विभागको उप महानिर्देशकको जिम्मेवारी प्राप्त भयो। कुटनीतिक सेवामा ३६ वर्ष भन्दा बढी व्यतित गरिसकेका राजदूत नोभिकोभ रुसी विदेश सेवाका बरिष्ठतम अधिकारीहरुमध्येमा पर्छन्। यति बरिष्ठतम अधिकारीलाई नेपालका लागि राजदूत बनाएर पठाएबाट रुसले नेपाललाई कति महत्व दिएको रहेछ भन्ने प्रष्ट हुन्छ। प्रस्तुत छ– राजदूत नोभिकोभसँग नेपाल–रुस सम्बन्धका विभिन्न पक्षहरुबारे नेपालखबरले गरेको कुराकानी :
पोखरामा विमान दुर्घटना भएको धेरै समय भएको छैन। दुर्घटनामा रुसका यात्रुको पनि ज्यान गयो। यससम्बन्धमा दूतावासले के गरिरहेको छ? पहिलो कुरा त, दूतावास र रुसी जनताका तर्फबाट दुर्घटनामा भएको असाधारण मानवीय क्षतिका लागि गहिरो दुःख प्रकट गर्छौँ। नेपाल सरकार र यो दुखद् दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारप्रति हामी समवेदना प्रकट गर्छौँ। यो दुर्घटनाप्रति रुसका विभिन्न तहका उच्च अधिकारीहरुले नेपाल सरकारलाई समवेदना पठाइसक्नुभएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन सबैभन्दा अगाडि समवेदना पठाउनेहरुमध्ये एक हुनुहुन्छ। उहाँसँगै रुसका सरकार प्रमुख मिखाइल मिसुस्तिन र प्रमुख राजनीतिक पार्टीका नेताहरुले पनि समवेदना पठाउनुभयो। तपाईंलाई थाहा छ, यो दुर्घटनामा चार रुसी नागरिकको ज्यान गयो। दुर्घटना भएलगत्तै दूतावासले उद्दारलगायतको स्थितिको निगरानी गर्न थालेको थियो। सो क्रममा मृत रुसीहरुको परिवारजन र सम्बन्धित नेपाली अधिकारीहरुसँग हामी सम्पर्कमा रह्यौँ। हामीले पीडितका आफन्तलाई नेपाल आउन सहयोग गर्यौँ। ताकि शव पहिचानको प्रक्रियामा उनीहरु सहभागी हुन सकून्। हाम्रा कर्मचारीले आवश्यक कागजी प्रक्रिया मिलाउन उनीहरुलाई सहयोग गरे र नेपाली पक्षसँग उनीहरुको फलदायी संवादको सुनिश्चितता गरे। पीडितका अभिभावकहरुको चाहनाअनुसार नै उनीहरुको अन्तिम संस्कार गरियो र अस्तुलाई रुस लैजाने काम पनि भयो। नेपालमा रुसी नागरिकहरुलाई सहयोग उपलब्ध गराउने काम कत्तिको गर्नुपर्छ तपाईंहरुले? प्रत्येक दिन। आधारभूत तहमा रुस र रुसी जनताको हित रक्षाको सुनिश्चितता गर्न दूतावासले अनेक प्रकारका अत्यावश्यक सेवाहरु दिन्छ। विदेशमा रहेका रुसीहरुलाई सहयोग गर्नु, उनीहरुको यात्रामा सहजीकरण गर्नु र आइपरेका समस्यामा सहयोग गर्नु नै हाम्रो एउटा प्रमुख उदेश्य हो। यो विषयमा म तपाईंलाई एउटा घटना सुनाउँछु। तीन वर्षअघि कोभिड–१९ का कारण अधिकांश विश्व ठप्प भएको बेला सयौँ रुसीहरु नेपालमा अड्किएका थिए। उनीहरु फिर्ता जानसक्ने अवस्थै थिएन। त्यतिबेला दूतावासले नै विशेष विमानको व्यवस्था गरेर उनीहरुलाई घर पठायो। महत्वपूर्ण कुरा के छ भने त्यतिबेला रुसीहरुलाई मात्र घर पठाइएको थिएन। युक्रेन, बेलारुस, कजाकस्तान र अन्य मुलुकका नागरिकलाई पनि घर पठाइएको थियो। दूतावासमा आफूले प्रतिनिधित्व गर्ने मुलुक र खासगरी आफ्ना नागरिकको हितमा आइपर्ने चुनौतीको सामना गर्न चौबीसै घण्टा तम्तयार रहनुपर्ने हुन्छ।
गत एक वर्षदेखि युक्रेनसँग रुसको लडाइँ जारी छ। युक्रेनसँगको तपाईंहरुको तनावको बारेमा बताइदिनुस् न। युक्रेनसँग न रुसको, न रुसी जनताको नै कुनै तनाव छ। आज हामी युक्रेनमा किभको लोकतन्त्रविरोधी शासनविरुद्धको लडाइँ देखिरहेका छौँ। जुन शासन हजारौँ युक्रेनी र रुसी जनताको मृत्युका लागि जिम्मेवार छ। युक्रेनलाई नाजीमुक्त बनाउन रुसले विशेष सैन्य कारबाही गरिरहेको छ। त्यहाँको शासनलाई रुसविरोधी शक्तिहरुले समर्थन गरिरहेका छन्। दुर्भाग्यवश, युक्रेनले अन्तर्राष्ट्रिय कानुनको धज्जी मात्र उडाएको छैन, मानव जीवनप्रति पूर्ण अनादर पनि प्रदर्शन गरेको छ। युक्रेनले आठ वर्षसम्म रुसीभाषी नागरिकको निरन्तर अपमान गरेपछि युक्रेनको नवनाजी सरकारको क्रुर तथा अन्यायपूर्ण कामकारबाहीबाट नागरिकहरुलाई बचाउन विशेष सैन्य कारबाही सुरु गर्नुको विकल्प रुससँग थिएन। यो लडाइँले अर्थतन्त्र र राजनीतिबाहेक खेलकुद समेत प्रभावित भयो। रुसका खेलाडीहरुलाई थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ। तपाईंको टिप्पणी के छ? म विश्वस्त छु, यो तरिका उचित छैन। थुप्रै उच्च पदस्थ राजनीतिज्ञहरुले खेल राजनीतिक विषय होइन भन्ने गर्थे। तर, तीतो सत्य के हो भने दुनियाँमा दोहोरो मापदण्ड चल्छ। अन्तर्राष्ट्रिय मञ्चमा रुसको प्रतिनिधित्वि गर्ने खेलाडीहरुको अधिकारको रक्षा गर्न रुस निश्चय नै लड्नेछ। त्यसमाथि हाम्रो संघर्षको गतिलो नतिजा निस्किसकेको छ। त्यसको उपलब्धि चाँडै प्राप्त हुनेछ। मैले भन्न खोजेको कुरा हो– ‘फिजिटल गेम्स’, जसलाई भविष्यको खेल पनि भन्ने गरिएको छ। यो शारीरिक र डिजिटल गतिविधिको योग हो। फिजिटल प्रोजेक्टको मुख्य कुरा भने डिजिटल वातावरण र शारीरिक गतिविधिसहित प्रविधिको प्रयोग मार्फत अनेक विधाका अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नु हो। यस्तो पहिलो प्रतियोगिता मार्च २०२४ मा रुसको कजानमा हुने घोषणा गर्न पाउँदा म खुसी छु। पहिलो चरणका प्रतिस्पर्धाहरु त यही फेब्रुअरी र मे पनि हुनेछन्। मुलुकहरुबीच हुने खेल पनि यसमा सामेल हुनेछन्। सबै खेल अनलाइन प्रशारण हुनेछन् र भव्य पुरस्कार पनि दिइनेछ। त्यसैले, यो गज्जबको प्रतियोगितामा सहभागी हुन नेपालका खेलाडी र टोलीहरुलाई म आमन्त्रण गर्न चाहन्छु। रुस–नेपाल सम्बन्धका आयामबारे बताइदिनुस् न। यो साल नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ वर्ष पुरा हुँदैछ। सन् १९५६ देखि हामीबीच भएका सहकार्य आपसी सम्मान, विश्वास र एकअर्काको हितप्रतिको चासोमा आधारित रहँदै आएको छ। इतिहासदेखि नै दुई मुलुकबीचको सम्बन्ध प्रगतिशील रुपले विकास हुँदै आएको छ। यसको जग १९६० देखि १९८० को बीचमा दुई मुलुकबीच हस्ताक्षर भएका आर्थिक तथा प्राविधिक सहकार्य, व्यापार र हवाई सेवासम्बन्धी सम्झौताले राखेका हुन्। सोभियत संघको सहयोगमा वीरगञ्जमा एउटा चिनी कारखाना, जनकपुरमा चुरोट कारखाना र पनौतीमा जलविद्युत आयोजना निर्माण भयो। यी नेपालका त्यस्ता प्रथम सावर्जनिक उद्यम थिए, जसले अर्थतन्त्र र राज्यकोषको आम्दानी बढाउन त्यतिबेला ठूलो भूमिका खेलेका थिए। पूर्व–पश्चिम राजमार्गको ११० किलोमिटर लामो खण्ड सोभियत संघले बनायो। जसले देशको दक्षिणी भेगको यातायात पहुँच धेरै हदसम्म बढायो। १९८७ मा सोभियत संघको सहयोगमा नेपाल रोजिन एन्ड टर्पेन्टाइन उद्योग स्थापना भयो। १९९३ देखि नेपाली निजी कम्पनीहरुले रुसी एमआई–१७ हेलिकोप्टर किन्ने तथा पाइलटसहित भाडामा ल्याउन थाले। जसका माध्ययमबाट दुर्गम क्षेत्रलाई हवाई यातायातले जोड्न थाल्यो। रुस–नेपाल सम्बन्धको सुरुवाती समयको विशेष क्षेत्र उच्च शिक्षा पनि थियो। युवा नेपालीहरुले रुसका शैक्षिक संस्थाहरुबाट उच्च शिक्षा लिन्थे। हरेक वर्ष नेपालका नागरिक रुसको खर्चमा रुसी युनिभर्सिटीहरुमा भर्ना हुन्थे। त्यसका लागि रुसी राज्यले बजेट नै छुट्याउँथ्यो। यसरी १९५७ देखि ८ हजार ५ सयभन्दा बढीले इन्जिनियरिङ, चिकित्सा र अन्य क्षेत्रको विज्ञता प्राप्त गरे। नेपाली नागरिकहरुले रुसी उच्च शिक्षाको गुणस्तर ख्याल गरेका छन्। त्यसैले नेपालको श्रम बजारमा उनीहरुको माग उच्च छ। सोभियत र रुसी विश्वविद्यालयमा पढेकाहरुले १९६७ मा स्थापना गरेको मित्र कुञ्जले रुसप्रति मित्रवत धारणा स्थापना गर्न, नेपाली समाजका विविध क्षेत्रमा हाम्रो देशको सकारात्मक छवि प्रबर्द्धन गर्न अझै महत्वपूर्ण भूमिका खेलिरहेको छ। कोभिड–१९ महामारी सुरु हुनुअघि रुसबाट नेपाल आउने पर्यटक लगातार बढिरहेका थिए। २०१५ मा ४ हजार ९ सय पर्यटक नेपाल आएकामा २०१९ मा १० हजार ३०० आएका थिए। यो हिमाली गणतन्त्रका करिब २ हजार नागरिकले रुस भ्रमण गरेका थिए। त्यसैले कोभिड संक्रमण रोकिएर अवस्था सामान्य बनिसकेपछि रुस र नेपालबीचको पर्यटक संख्या फेरि बढ्ने अपेक्षा छ। हामीबीचको द्विपक्षीय साझेदारीको कानुनी रुपरेखा सात विद्यमान सम्झौताहरुले कोरेका छन्। रुस र नेपाल दुवै परम्परागत बहुपक्षीय अन्तर्राष्ट्रिय कानुनहरु, मुख्यगरी राष्ट्रसंघका दस्तावेजहरुद्वारा निर्देशित छन्। गत वर्ष र दशकहरुमा हाम्रा देश र विश्वमा ठुल्ठूला परिवर्तनहरु भएका छन्। तर, हामीबीच एकअर्काप्रतिको सम्मानको भावना र बहुपक्षीय अन्तर्राष्ट्रिय सहकार्यलाई गहिरो बनाउने आकांक्षा परिवर्तन भएको छैन। रुसको कूटनीतिक कर्मचारी दिवस (फेब्रुअरी १०) को अवसमा म मेरा सबै रुसी र नेपाली सहकर्मीप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु। जसले दुई मुलुकको सम्बन्धलाई बलियो पार्न ठूलो योगदान दिएका छन्। आज रुसले गम्भीर अन्तर्राष्ट्रिय चुनौती बेहोरिरहेको छ। यो समयमा म नेपाली जनताप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु। किनभने धाराप्रवाह रुसघृणा सिकाउने दुष्प्रचार र मिडियाबाट आधारहीन आरोप आइरहँदा पनि नेपालीहरु हाम्रो मुलुकप्रति मित्रवत् छन्। र, यस्तो संवादले दुई मुलुकबीचको मित्रतामा थप योगदान पुर्याउने तथा विचार र आपसी सम्मान आदानप्रदानको क्रियालाई गतिशील तुल्याउनेमा म विश्वस्त छु।
नेपाल र रुसबीच व्यापार तथा आर्थिक सम्बन्ध प्रबर्द्धनमा तपाईंहरू के के गर्दै हुनुहुन्छ? दुई मुलुकबीचको व्यापारिक र आर्थिक सम्बन्ध विकासको सबैभन्दा गम्भीर बाधा भनेको नेपाल र रुसबीच सिधा उडान नहुनु हो। २००२ मा एरोफ्लोटले बन्द गरेपछि नेपाल र रुसबीच सिधा उडान भएको छैन। हाल यो विषयमा रुस र नेपाल दुवैतर्फ सरकारी तहमा छलफल भइरहेको छ। हामी त्यो सम्बन्ध पुनर्स्थापना गर्ने प्रयासमा छौँ। तैपनि यो प्रक्रिया धिमा र कठिनजस्तो भएको छ। मलाई के लाग्छ भने दुई मुलुकले एकअर्काका लागि कस्तो व्यापारिक र आर्थिक अवसर सिर्जना गर्छन् भन्ने जान्नका लागि दुवै पक्षले एकअर्काप्रतिको ज्ञान बढाउन अथक कोसिस गर्नुपर्छ। दुर्भाग्यवश, नेपाली कम्पनीहरु अझै पनि रुसी बजारको सम्भावनाप्रति सचेत भइसकेका छैनन्। बेलारुस, कजाकस्तान, किर्गिजस्तान र अमेर्नियासहित हाम्रो मुलुक युरेसियन इकोनोमिक युनियनको सदस्य छ। जसको जम्मा जनसंख्या १८.५ करोड छ। र, जसको जीडीपी (पीपीपी) ४.८ ट्रिलियन डलरको छ। रुसको अर्थतन्त्रसँग विश्वमा सबैभन्दा बढी प्रयोग भएको अन्तरिक्ष यान, विमानका आधुनिक मोडल र हेलिकोप्टर उत्पादन गर्ने क्षमता छ। हाम्रो आईटी र दुरसञ्चार कम्पनीहरुसँग विश्वस्तरीय डिजिटल पूर्वाधार बनाउने क्षमता छ। यातायात, निर्माण र उर्जा क्षेत्रमा काम गरेको लामो अनुभव हामीसँग छ। कठिन भूगोलमा खेती गर्ने मामिलामा विश्वकै आधुनिकतम मुलुकमध्ये एक हो रुस। तसर्थ, नेपाली मित्रहरुलाई अफर गर्न हामीसँग धेरैथोक छ। त्यसैगरी, रुसी व्यवसायका लागि नेपाल अपरिचित इलाका हो। पर्यटन, जलस्रोत उर्जा र आयुर्वेदिक औषधिजस्ता परम्परागत सामान उत्पादनका लागि यो गज्जबको ठाउँ हो। तर, त्यति मात्र होइन। नेपालमा उत्पादन स्थानीयकरण गर्दा यदि कम्तीमा ३० प्रतिशत लोकल भ्यालु एड भएको खण्डमा भारतीय बजारमा कररहित पहुँच प्राप्त गर्न सकिन्छ। नेपालमा सामान उत्पादन गरेर ठूलो भारतीय बजारमा निर्यात गर्ने यो गतिलो अवसर हो। यस सन्दर्भमा रुस र नेपालबीच आर्थिक र व्यापारिक सहकार्य बढाउन दूतावासले मन्त्रालयहरु, च्याम्बर अफ कमर्स र लगानी बोर्डका नेपाली मित्रहरुसँग अथक प्रयास गरिरहेको छ। नेपाल र रुसबीच पर्यटन प्रबर्द्धनका लागि के के प्रयास भइरहेको छ? परम्परागत रुपमा रुसी नागरिकका लागि नेपाल अत्यन्त आकर्षक पर्यटकीय गन्तव्य हो। वार्षिक हजारौँ पर्यटक र हिमाल आरोपी नेपाल आउँछन्– विश्वविख्यात हिमालहरु चढ्न, नेपालका शताब्दियौँ पुराना मन्दिर तथा पवित्र स्थलहरु घुम्न, अनि नेपालको सांस्कृतिक सम्पदाहरुबारे जान्न। जसमध्ये थुप्रै स्थानलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। दुर्भाग्यवश महामारीले पर्यटकीय गतिविधिमा धक्का दियो। नेपाल आउने थुप्रै रुसी पर्यटक हिमाल आरोहण र प्याराग्लाइडिङजस्ता खेलकुद गतिविधिमा रुचि राख्छन्। उदाहरणका लागि २०२१ को अप्रिल–मेमा ‘सेभेन पिक्स’ नामक क्लबका रुसी आरोहीहरुको टोलीले सगरमाथा र ल्होत्से हिमाल आरोहणमा भाग लियो। त्यो महान देशभक्तिपूर्ण युद्धमा नाजी जर्मनीविरुद्धको ७६ औँ  विजय दिवस (मे ९) र स्मृति दिवस (जर्मनीविरुद्धको युद्ध सुरु भएको दिवस, जुन २२) सँगै पर्न गयो। त्यसैले आरोहीहरुले विजयी झण्डा, रुसी झण्डा र दूतावासले आरोहीहरुलाई प्रदान गरेको रुसी विदेश मन्त्रालयको पताका र चिह्न त्यहाँ फहराइयो। त्यसको एक वर्षपछि रुसीहरुले मे २०२२ मा सगरमाथा आधारशिविरमा गएर ७७ औँ विजय दिवस मनाए। आरोहणसम्बन्धी गतिविधिका लागि नेपाल फरक स्थान हो। त्यसैले ट्रेकिङ र आरोहण मार्गको बृहत् विकास, हिमाली पूर्वाधारको विकास, आदिले निश्चय नै थप रुसी पर्यटकलाई आकर्षित गर्नेछ। अर्कोतिर, केही रुसीहरु आध्यात्मिक गतिविधि, प्राचीन कला, आर्किटेक्चर र स्थानीय कलाकारीप्रति इच्छुक छन्। यी मानिसहरुको माग ठूलो हुँदैन। प्रायः उनीहरु सामान्य सुविधामै चित्त बुझाउन तयार हुन्छन्। तर, सत्कार र यातायात पूर्वाधार नेपालले सुधार्न आवश्यक छ। हामी सकारात्मक परिवर्तनका लागि सहजीकरण गर्न तयार छौँ। यो अवसरमा हाम्रा नेपाली साथीहरुले मस्कोमा गरेको प्रयासको पनि म चर्चा गर्न चाहन्छु। रुसस्थित नेपाली दूतावास आपसी मानवीय सहायतासम्बन्धी परियोजनाहरुको प्रक्रियामा सहभागी छ। राजदूत मिलन तुलाधरको नेतृत्वमा रहेको नेपाली दूतावासले ठूलो काम गरेको छ र उहाँहरुलाई म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। राजदूत तुलाधर मेरो पनि असल मित्र हुनुहुन्छ। हामी आपसी सम्पर्कमा रहन्छौँ।
रुस र नेपालबीचको मानवीय तथा सांस्कृतिक सहकार्यका मुख्य आधार के के हुन्? हाम्रा देशहरुबीच रहेको सांस्कृतिक र मानवीय सहकार्य समयसँगै विस्तार हुनुपर्छ भन्ने हामीलाई लाग्छ। नेपालबारे चासो राख्ने रुसीहरुको संख्या बढ्दैछ। किनभने नेपाल निकै रमाइलो र फरक मुलुक हो। त्यसैगरी थुप्रै नेपालीहरु रुसबारे चासो राख्छन्। जुन मुलुक शदाब्दियौँदेखि एसिया र युरोपबीचको पुल रहँदै आएको छ। तसर्थ, म नेपाली विद्यार्थीहरुले रुसमा अझ धेरै विषय छनोट गर्नुपर्नेमा जोड दिन चाहन्छु। हामी नेपाललाई चिकित्सा, कृषि, जलविद्युतसहित थुप्रै क्षेत्रमा योग्य कर्मी दिन चाहन्छौँ। रुसी भाषा कक्षाहरु पनि काठमाडौँमा उपलब्ध छन्। यो हाम्रा जनताबीचको अन्तरक्रिया बढाउने गजबको अवसर हो भन्ने हामीलाई लाग्छ। युक्रेनमा रुसको सैन्य कारबाही र पश्चिमसँग उसको बढ्दो द्वन्द्वले नेपालमा रुसप्रति मानिसहरुको धारणामा असर पार्ने देख्नुहुन्छ? नेपालीहरु रुसप्रति मित्रवत् रहेकोमा म कृतज्ञ छु। यहाँ स्थानीय पत्रिकाहरु, खासगरी नेपाली भाषाका पत्रिकाहरु पढ्दा लेखकहरुले पश्चिमा समाचार एजेन्सीहरुले रट्ने