२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

कांग्रेसको नीति महाधिवेशन वैशाखमा

काठमाडौं, नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो ।

१४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताए ।

‘यही फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउँछन् । पार्टी संगठन व्यवस्थित बनाएपछि नीति महाधिवेशन हुन्छ ।

वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ’, महामन्त्री थापाको भनाइ छ ।

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो ।

संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो ।

पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि बहस गर्न पाएको थिएन ।

१४ औं महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिलाई नीति र कार्यक्रमको सन्दर्भमा ‘नीति अधिवेशन’ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

गत साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले आगामी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गर्नुपर्ने बनेको थियो । तर, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण नीति अधिवेशन रोकियो ।

आम निर्वाचनबाट केन्द्र र ४ प्रदेशमा पहिलो पार्टी बनेको कांग्रेसलाई प्रतिपक्षमा पुगेपछिमात्रै नीति महाधिवेशन गर्ने फुर्सद मिलेको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा जारी संयुक्त वक्तव्य विज्ञप्तिमा नीति महाधिवेशनले स्थान पाएपछि कांग्रेसमा अनौपचारिक बहस सुरु भएको थियो ।

अविलम्ब नीति महाधिवेशन गरेर पार्टीको नीति योजना र कार्यक्रम तय गरिने महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख थियो ।

तर, अहिलेसम्म नीति महाधिवेशन गर्ने पार्टीको निकाय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान संयोजकमामात्रै सीमित छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार १० गते उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेका थिए ।

प्रतिष्ठानलाई पार्टीले अंगिकार गर्ने नीति माथिको बहस सुरु गर्ने अधिकार हुन्छ । नीति माथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो खुल्छ ।

तर, उक्त प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिन समेत सकेको छैन ।

उपसभापति खड्काले सात महिनामसम्म प्रतिष्ठानलाई पूर्णता दिन नसकेका हुन् ।

५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सो व्यवस्थाअनुसार पार्टी सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले सदस्यहरु थप्न सक्ने प्रावधान छ ।

प्रतिष्ठानले पूर्णता नपाएपनि नीति महाधिवेशनका लागि काम भइरहेको प्रतिष्ठान प्रमुख खड्का बताउँछन् ।

नीति अधिवेशनको प्रस्ताव तयार भइसकेको भन्दै उनले आगामी केन्द्रीय समिति बैठकमा पेस हुने बताए ।

‘नीति महाधिवेशनको प्रस्ताव तयार भइसकेको छ । आगामी केन्द्रीय समितिमा त्यो पेस हुन्छ । अब चाँडै नीति महाधिवेशन गर्छौं’, खड्काको भनाइ छ ।

कांग्रेसमा नीति महाधिवेशनको नयाँ अभ्यास गर्न लागिएकाले कुन विधि अपनाउने भन्नेमा अन्योल छ । महाधिवेशनकै प्रतिनिधि सहभागी गराउने वा छुट्टै विधि अवलम्बन गर्ने भन्ने टुंगो छैन ।

कांग्रेस नेताहरुका अनुसार नीति महाधिवेशनमा अवलम्बन गरिने पद्धति, सहभागी संख्या र कहिले गर्ने भन्ने केन्द्रीय समितिबाटै टुंगो लगाउने छ ।

तर, यसवर्ष महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्ने कांग्रेसको तयारी देखिन्छ ।

कांग्रेस विधानअनुसार महाधिवेशन नभएको वर्षबाहेक सबै सालमा महासमिति बैठक बोलाउनु पर्दछ ।

महासमिति बैठक पनि यसवर्ष बोलाउनुपर्ने भएकाले त्यसैलाई नीति महाधिवेशनमा बदल्नुपर्ने नेताहरुको तर्क छ ।

१४ औं महाधिवेशनमा कांग्रेसका करिब ४३ सय महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

तर, महासमिति सदस्य भने केही जिल्लामा मात्र चयन गरिएको अवस्था छ । महासमिति बैठकलाई नीति महाधिवेशनमा परिवर्तन गर्दा महासमिति सदस्य छान्नुपर्ने छ ।

नेता शेखर कोइरालाले महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्न सकिने बताए । ‘नीति महाधिवेशन गर्नैपर्छ ।

अबको केन्द्रीय कार्यसमिति बैठकले मिति तोक्नुपर्छ । त्यसमा यी सबै राजनीतिक घटनाको समीक्षा हुन्छ । हामी तत्काल नीति महाधिवेशनतिरै जानुपर्छ ,’ कोइरालाले भने ।

यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नीति माथि छलफल महासमिति बैठकमा गर्न सकिने बताउँछन् । ‘नीति माथि छलफल महासमिति बैठकमा गर्न सकिन्छ ।

त्यसैले नीति महाधिवेशन महासमिति बैठकलाई नै बनाउन सकिन्छ,’ पौडेलको भनाइ छ ।