२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

मेडिकल हड्ताल गर्दै सडकमा उत्रिए भारतीय डाक्टरहरू

Untitled
Untitled
Untitled

एजेन्सी, अहिले भारत विश्वभर हेडलाइन बनिरहेको छ । त्यो हेडलाइन बन्नुमा प्रदर्शनहरूबाट देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत शरण भएर होइन ।

भारतमा निरन्तर डाक्टरहरूको प्रदर्शन भएर हो । कोलकाताबाट सुरु भएको प्रदर्शनले अहिले देशव्यापी तथा विश्वव्यापी भारतको कमजोर डाक्टरी सुरक्षा प्रणालीको चर्चा र चिन्ता बढाएको छ ।

किन भारतमा भइरहेछ डाक्टरको प्रदर्शन भन्ने बारेमा यहाँ पाँच प्रश्नोत्तरमा चर्चा गरिएको छ ।

१. भारतमा डाक्टरहरु किन सडक आन्दोलनमा उत्रिएका हुन् ?

यसको कारण गम्भीर छ, जटिल छ, अमानवीय छ । भएको के हो भने आठ दिन अगाडि अगस्त ९ मा एक प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न लास फेला पर्‍यो ।

३६ घण्टाको सिफ्टमा काम गरेर सेमिनार हलमा सुतेकी थिइन् ती डाक्टर । ३१ वर्षकी ती डाक्टरको लास अन्त कतै नभएर भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकाताको आरजेकर नामक सरकारी शिक्षण अस्पतालमै फेला परेको थियो ।

बलात्कारपछि क्रूर तरिकाले हत्या गरिएको पछि खुलेको थियो । यसले भारतीय सबै डाक्टरलाई आक्रोशित र चिन्तित एकैसाथ बनायो र उनीहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

२. अस्पताल र सरकारसँग किन थप आक्रोशित भए डाक्टरहरू ?

लास भेटिएसँगै सुरुमा घटनाको कारण सोधे परिवारले । अस्पतालले आत्महत्या भएको जानकारी दियो । तर, बुझ्दै जाँदा बलात्कारपछि हत्या भएको खुल्यो ।

त्यसपछि डाक्टरहरूमात्रै नभएर सर्वसाधारणसमेत आक्रोशित भए । त्यसले आन्दोलनको रुप लियो ।

अस्पतालले परिवारलाई आत्महत्या भएको जानकारी दिएको कुरा महिला अधिकारकर्मी तथा अधिवक्ता ब्रिन्दा ग्रोवरले कतारी विश्व च्यानल अलजजिरालाई बताएकी छन् ।

कुरा यत्तिमै सकिन्न । पछिल्ल्लो समयमा डाक्टरहरूको हत्या भारतमा बढेको छ । उदाहरणको लागि सन् २०२३ मेमा केरेलामा एक हाउस सर्जन २३ वर्षका डाक्टरको पनि हत्या भएको भारतीय अखबार स्टेट्समेनले उल्लेख गरेको छ ।

तारन्तार डाक्टरमाथि हुने हिंसा तथा हत्याका कुराले सबैलाई आन्दोलित बनाएको देखिएको छ ।

भारतको इन्डियन मेडिकल एसोसियसनले गरेको एक अध्ययनले भारतका ७५ प्रतिशत डाक्टरले आफ्नो कार्यक्षेत्रमा कुनै न कुनै खालको हिंसा सहनुपर्ने तथ्यसमेत सार्वजनिक गरेको देखिन्छ ।

भारतका २८ राज्य तथा ८ संघ प्रशासित क्षेत्र छन् । जसमा २५ राज्यमा मात्रै डाक्टरलाई हुने हिंसाविरुद्ध कानून भएको बताइएको छ ।

यी र यस्ता कुराले आन्दोलनलाई झन तथ्यगत बल पुगेको छ । आज शनिबार त बिहान ६ बजेबाटै भारत देशभर मेडिकल हड्ताल भएको छ ।

आइतबार बिहान ६ बजेसम्म २४ घण्टा हड्ताल हुने कार्यक्रम छ । मेडिकल सेवाहरू भारतमा बन्द भएका छन् । आपतकालीन सेवा भने बन्द भएका छैनन् ।

३. कहाँ कहाँ भइरहेछन् डाक्टरका प्रदर्शन ?

अहिले भारतभर प्रदर्शन भइरहेका छन् । कोलकाता केन्द्र रहेर भएको प्रदर्शन भारतका गोआ, प्रयागराज, चण्डीगड, पटना, लखनउलगायतका क्षेत्रमा विस्तारित भएको छ ।

यही अगस्त १५ को दिन नयाँदिल्लीमा सरकारले स्वतन्त्रता दिवस मनाइरहँदा महिला अधिकारकर्मीहरूले भने प्रदर्शन गरेका थिए ।

४. के के हुन् डाक्टरका मुख्य माग ?

इण्डियन मेडिकल एसोसियसनले पाँच माग राखेर आन्दोलन गरिरहेको छ । शुक्रबार एसोसियसनका महासचिव डाक्टर अनिलकुमार जे नायक तथा राष्ट्रिय सभापति आर.भी. अशोकानले हस्ताक्षर गरेको मागपत्रमा राखिएका पाँच माग यस्ता छन्ः

नीतिगत तहमा डाक्टरमाथि हुने हिंसामा बेवास्ता हुन बन्द हुनुपर्‍यो । महामारी रोग ऐन १८९७ को सन् २०२३ को संशोधन हुनुपर्‍यो ।

अस्पतालको सुरक्षा प्रोटोकल विमानस्थल तहकै हुनुपर्‍यो । सुरक्षा जाँच, सीसीटीभी निगरानी र उचित सुरक्षाकर्मीको व्यवस्था हुनुपर्‍यो ।

पीडितले ३६ घण्टे ड्युटी सिफ्ट गरेकाले डाक्टरलाई आरामको लागि उचित समय तथा स्थान हुनुपर्छ । आवासीय डाक्टरहरुलाई काम गर्ने तथा बाँच्ने अवस्थामा सुधार हुनुपर्‍यो ।

निश्चित समयसीमामा अपराधको व्यवसायिक अनुसन्धान गरेर गुण्डाहरुलाई उदाहरणीय सजाय हुनुपर्‍यो ।

क्रूर यातनाका पीडित परिवारलाई उचित र सम्मानयोग्य क्षतिपूर्ति दिनुपर्‍यो ।

५. डाक्टरहरुका मागमा प्रहरी, पार्टी, राज्य तथा संघ सरकारले के गरिरहेका छन् ?

डाक्टरहरुको प्रदर्शनको समर्थनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी पनि उत्रिएकी छन् ।

उनले आफ्नो दल तृणमुल कंग्रेसका महिला सांसदहरुको साथमा लागेर हत्यारालाई मृत्युदण्ड दिनुपर्ने नारा लगाएकी छन् ।

भारतीय च्यानल एनडीटीभीका अनुसार ममताले मात्रै होइन बीजेपीको पश्चिम बंगालको महिला संगठनले पनि आन्दोलन गरेको छ ।

उनीहरु प्रदर्शनमा उत्रिएका छन् । भारतीय कम्युनिष्ट पार्टीले भने धिक्कार दिवस मनाउँदै राज्यका गृहमन्त्री तथा स्वास्थ्यमन्त्रीको राजीनामा मागेको छ ।

प्रहरीले घटनाका मुख्य दोषी पक्राउ गरेको जानकारी दिएको छैन । भारतीय मिडियाहरुका अनुसार अस्पताल तोडफोड गर्ने १९ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालतले राज्यको संयन्त्र कमजोर भएको भन्दै आलोचना गरेको भारतीय अखबार दि हिन्दूले लेखेको छ ।

कोलकाता प्रहरीले अनुसन्धानको जिम्मा भारतको सीबीआईलाई दिएको छ । मुख्यमन्त्री ममता बेनर्जीले कोलकाता प्रहरीले ९० प्रतिशत काम सकेर सीबीआईलाई जिम्मेवारी दिएको भनेकी छन् ।

Untitled
Untitled
Untitled