२०८० फागुन १० बिहीवार | Thursday, Feb 22 2024

६७ शब्दको बालफोर घोषणापत्र : जसले मध्यपूर्वको इतिहास बदल्यो, इजरायलको जग बसाल्यो

काठमाडौं । अहिले विश्व जुन सर्वाधिक जटिल चुनौतीहरुको समाधान गर्नका लागि जुधिरहेको छ, त्यसमध्ये एउटा चुनौतीको जग यस्तो दस्तावेजले बसालेको थियो जसमा केवल एक पानामा लेखिएका ६७ वटा शब्द मात्रै थिए ।

इजरायल र हमासको बीचमा चलिरहेको संघर्षमा दुवै पक्षलाई भयानक क्षतिको सामना गर्नुपरेको छ । दुईपक्ष आक्रमणमा धेरैले ज्यान गुमाइसकेका छन् । भौतिक संरचनाहरू ध्वस्त भएका छन् ।

यो युद्धको जग चाहिं १०६ वर्षअघि जारी भएको ‘बालफोर घोषणापत्र’सँगै बसेको थियो । यो ऐतिहासिक दस्तावेजबाटै इजरायल नामक राष्ट्रको गठनको लागि मार्ग प्रसस्त भएको थियो र मध्यपूर्वको इतिहास सधैंका लागि बदलिएको थियो ।

सन् १९१७ नोभेम्बर २

त्यो सन् १९१७ को नोभेम्बर २ को दिन थियो । पहिलो विश्वयुद्ध चलिरहेको थियो । बेलायतले पहिलोपटक यहुदी मानिसहरुका लागि प्यालेस्टाइनमा एउटा देश स्थापनाको कुरालाई समर्थन गर्‍यो ।

त्यसबेला प्यालेस्टाइनमा बेलायतको नियन्त्रण थियो र त्यस क्षेत्रको प्रशासन बेलायती साम्राज्यको हातमा थियो ।

एकातर्फ धेरै इजरायलीहरु बालफोर घोषणापत्रलाई हालको आधुनिक इजरायल गठनको जगको रुपमा हेर्दछन् भने अर्कोतर्फ अरब जगतमा धेरै मानिसहरु यो दस्तावेजलाई आफूहरुमाथि भएको धोकाको रुपमा लिन्छन् । यस्तो सोच्नुको कारण पनि छ । किनकि अटोमन साम्राज्यविरुद्ध बेलायतले गरेको युद्धमा अरब जगतले बेलायतलाई साथ दिएको थियो ।

बालफोर घोषणापत्रपछि करिब एक लाख यहुदीहरु त्यस क्षेत्रमा पुगेका थिए ।

बालफोर घोषणापत्र के भन्छ ?

तत्कालीन बेलायती विदेशमन्त्री आर्थर बालफोरले एउटा सिलबन्दी खामभित्र राखेर बेरोन लियोनेल वाल्टर रोथ्सचाइल्डलाई यो घोषणापत्र पठाएका थिए । बेरोन लियोनेल त्यसबेला बेलायतमा रहेका यहुदी समाजका ठूला नेता थिए ।

घोषणापत्रमा लेखिएको थियो ?

प्रि य लर्ड रोथ्सचाइल्ड,
बेलायती सम्राटको सरकारको तर्फबाट तपाईंलाई यो कुरा बताउन पाउँदा मलाई अपार हर्षानुभूति भैरहेको छ कि यहुदी जनताहरुको आकांक्षाको समर्थनमा यो वक्तव्य मन्त्रिपरिषद्मा पेस गरिएको थियो र यसलाई समर्थन प्राप्त भएको छ ।

बेलायतका सम्राटको सरकार यहुदी मानिसहरुका लागि प्यालेस्टाइनमा एउटा देश गठन गर्ने पक्षमा छ । यो लक्ष्य हासिल गर्नका लागि जेपनि गर्न सकिन्छ र गरिनेछ । साथै यो कुराको पनि ध्यान राखिनेछ कि त्यसबाट प्यालेस्टाइनमा बसिरहेका गैरयहुदी मानिसहरुको धार्मिक तथा नागरिक अधिकारहरुका साथै कुनै अन्य देशहरुमा रहेका यहुदीहरुलाई प्राप्त भैरहेको अधिकारका साथै उनीहरुको राजनीतिक स्थितिमा पनि कुनै प्रतिकूल असर नपरोस् ।

यदि तपाईंले यो घोषणापत्रको जानकराी यहुदी महासंघ सम्म पुर्‍याउनुभयो भने म आभारी हुनेछु ।

-आर्थर जेम्स बालफोर

को थिए आर्थर जेम्स बालफोर ?

बालफोर घोषणापत्रको नामाकरण उनै आर्थर जेम्स बालफोरको नामबाट गरिएको थियो । उनी तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड लोएड जर्जको मन्त्रिपरिषद्मा विदेशमन्त्री थिए ।

बेलायतको अभिजात तथा कुलीन वर्गका आर्थरले क्याम्ब्रिज विश्वविद्यालयको पढाइ पूरा गरेसँगै कन्जरभेटिभ दलको प्रतिनिधिको रुपमा संसदमा प्रवेश गरेका थिए ।

स्कटिश मूलका आर्थर जेम्स बालफोर सन् १९०२ देखि १९०५ सम्म बेलायतको प्रधानमन्त्री पनि भएका थिए ।

उनको करिअरको महत्वपूर्ण हिस्सा बेलायतको विदेश नीतिसँग सम्बन्धित योजनाहरुलाई मूर्तरुप दिनमै बितेको थियो ।

बेलायती शासनले यहुदीहरुको खुलेर समर्थन गर्नुपर्ने कुराको उनी हिमायती थिए ।

एक राजनीतिक विचारको रुपमा यहुदीवाद अर्थात् जायोनिजमको उद्भव १९औं शताब्दीको अन्तिममा युरोपमा भएको थियो । यो विचारका समर्थकहरुले प्यालेस्टाइनी इलाकामा यहुदीहरुका लागि एक देश गठन गर्न चाहन्थे । प्यालेस्टाइन नै प्राचीन इजरायलको भूमि रहेको दाबी यहुदीहरुको थियो ।

युद्ध मन्त्रिपरिषद्लाई यो घोषणापत्रका लागि मनाउनुको श्रेय आर्थर जेम्स बालफोरलाई नै जान्छ ।

यो कामका लागि बालफोरले च्याम भिजम्यान र लियोनेल वाल्टर रोथ्सचाइल्ड जस्ता बेलायतका प्रभावशाली यहुदी नेताहरुको समर्थन पनि प्राप्त गरेका थिए ।

कतिपय मानिसहरु उनीपनि एक इसाई यहुदीवादी रहेको मान्छन् । बाइबलको पुरानो टेस्टामेन्टमा वर्णित यहुदीहरुको इतिहासप्रति उनको रुचीका कारणले बालफोरले यो मुद्दामा रुची देखाएका थिए ।

यद्यपि कतिपय मानिसहरु चाहिं राजनीतिक फाइदाका लागि बालफोरले इजरायल देश गठनसम्बन्धी योजनाको समर्थन गरेको धारणा राख्छन् ।

लियोनेल वाल्टर रोथ्सचाइल्ड को थिए ?

प्यालेस्टाइनीहरुको दुखेसो के पनि छ भने बालफोर घोषणापत्रमा उनीहरूको अस्तित्व राम्रोसँग स्वीकार गरिएको पनि छैन र केवल गैरयहुदी समुदाय भनिएको छ

रोथ्सचाइल्डले विदेशमन्त्री बालफोरको उक्त चिठी आफ्नो घरमा फेला पारेका थिए । बालफोरले सो पत्र वाल्टरको घरको ठेगानामै पठाएका थिए ।

त्यस समय वाल्टर बेलायतको एक शक्तिशाली बैंकिङ व्यापारी परिवारको प्रमुख थिए र बेलायतमा रहने यहुदी समुदायका ठूला नेता पनि थिए ।

धनाढ्य रोथ्सचाइल्ड अन्तराष्ट्रिय बैंकिङ परिवार प्यालेस्टाइनमा यहुदी राष्ट्र गठनको सबैभन्दा ठूलो प्रायोजक थियो ।

सोही परिवारको एक सदस्य एडमन्ड रोथ्सचाइल्डले प्यालेस्टाइनमा ठूलो परिमाणमा जमिन खरीद गरे र १९औं शताब्दीको अन्त्यतिर त्यहाँ यहुदी वस्तीहरु बसाउनका लागि ठूलो रकम लगानी गरे ।

त्यसबेला रोथ्सचाइल्ड परिवार विश्वको सबैभन्दा धनी व्यापारिक घरानामध्येको एक थियो ।

यहुदीवादको मुद्दालाई लिएर यो परिवारले जति दान दियो त्यो रकम यतिधेरै थियो कि एडम्ड रोथ्सचाइल्डलाई द बेनिफेक्टर अर्थात् परोपकारीको उपमा दिन थालिएको थियो ।

यो परिवारले इजरायल राष्ट्रको गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

रोथ्सचाइल्डपरिवारको महत्व यसबाट पनि थाहा पाउन सकिन्छ कि सन् १९१७ मा बालफोर घोषणापत्रको जानकारीयुक्त पत्रमा लियोनेल वाल्टर रोथ्सचाइल्डलाई सम्बोधन गरिएको थियो ।

आखिर च्यो चिठी वाल्टरलाई नै किन पठाइयो र स्टुआर्ट स्यामुएललाई किन पठाइएन भन्नेमा धेरै मानिसहरु अचम्म मान्दछन् ।

स्टुआर्ट बेलायती यहुदीहरुको बोर्ड अफ डेप्युटिजका अध्यक्ष थिए । यो संगठन बेलायतमा यहुदीहरुको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था थियो ।

तर यसको एउटा अर्को पहलु पनि छ । त्यसबेला बेलायती यहुदीहरुको बोड अफ डेप्युटिजमा पनि यहुदीबादलार्य लिएर विरोधी मत थिए । एउटा पक्ष यसको समर्थमा थियो भने अर्को पक्ष विरोधमा ।

वाल्टर भने तटस्थ मत राख्दथे । तर यसका अतिरिक्त च्याम भिजम्यानसँगै उनी त्यसबेला यहुदीवाद समर्थकका महत्वपूर्ण नेतामध्ये एक थिए ।

वाल्टरको आर्थर जेम्स बालफोरसँग सिधा सम्पर्क थियो । त्यसैले बालफोरले उक्त पत्र वाल्टरलाई नै पठाउने निधो गरे ।

उसो त यो घोषणापत्रको मस्यौदा गर्नमै वाल्टर व्यक्तिगत रुपमा सहभागी भएको पनि बताइन्छ, तर यस्तो दाबीको समर्थनमा कुनै तथ्य भने उपलब्ध छैन ।

त्यसको केही वर्षपछि सन् १९२५ मा वाल्टर बेलायती यहुदीहरुको बोर्ड अफ डेप्युटिजको अध्यक्ष बने।

पत्रको उद्देश्य के थियो ?

सन् १९४८ को मे १४ मा प्यालेस्टाइनमा बेलायती उपनिवेशको अन्त्य भयो र बेलायतले औपचारिक रुपमा आफूलाई त्यस क्षेत्रबाट फिर्ता गर्‍यो । सोही दिन इजरायलले पनि आफ्नो स्वतन्त्रताको घोषणा गरिदियो

यो घोषणाले अमेरिकामा रहेका यहुदीहरुलाई विश्वयुद्धका क्रममा मित्र राष्ट्रको गठबन्धनको पक्षमा ल्याउने आशा बेलायत सरकारको थियो ।

ब्रिटिस नेता तथा केही इतिहासकारहरुका अनुसार यहुद समुदायसँग यतिधेरै आर्थिक शक्ति थियो कि उनीहरुले पैसाको शक्तिले युद्धमा साथ दिन सक्दथे ।

कतिपय विज्ञहरुका अनुसार बेलायत चाहीँ मध्यपूर्वमा युद्धपश्चात् आफ्नो उपस्थितिलार्य सुदृढ गर्न चाहन्थ्यो ।

यो पत्र लेख्नुका पछाडिको कारण जेसुकै होस्, सन् १९४८ मा इजरायल देशको गठन तथा लाखौँ प्यालेस्टाइनीहरुको पलायनमा यसको भूमिका निश्चित रुपमा रह्यो ।

इजरायलीहरुका लागि बालफोर घोषणाले इजरायलको प्राचीन धर्तीमा आफ्नो एउटा राष्ट्र निर्माणको सपनालाई साकार बनाइदिएको थियो । तर प्यालेस्टाइनीहरुको लागि भने समस्याग्रस्त दिनहरुको सुरुवात थियो ।

प्यालेस्टाइनीहरुको दुखेसो के पनि छ भने त्यस घोषणापत्रमा आफ्नो अस्तित्व राम्रोसँग स्वीकार गरिएको पनि छैन र केवल गैरयहुदी समुदाय भनिएको छ ।

पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको हारपछि बालफोर घोषणापत्र मित्र राष्ट्रहरुलाई प्राप्त भयो र त्यसलाई लिग अफ नेसन्स अर्थात् राष्ट्रसंघले पनि स्वीकृत गर्‍यो । सोही स्वीकृतिसँगै बेलायतले त्यस क्षेत्रको प्रशासनको जिम्मेवारी प्राप्त गरेको थियो ।

सन् १९३० को दशकमा स्थानीय अरबी जनताले त्यस क्षेत्रमा यहुदी जनसंख्या बढेको विषयमा असन्तुष्टि जनाउन सुरु गरेका थिए र दुई समुदायबीच लगातार हिंसा बढिरहेको थियो ।

विरोध प्रदर्शनलाई नियन्त्रणमा राख्नका लागि बेलायतले इजरायलमा यहुदीहरुको आप्रवासनमा कोटा तय गर्यो । तर दोश्रो विश्वयुद्धपछि यहुदी देशको गठनको माग बढ्न थाल्यो । जर्मनीमा हिटलरको शासनमा यहुदीमाथि जुन नरसंहार भयो त्यसले उक्त मागलाई झनै बल पुर्‍यायो ।

सन् १९४८ को मे १४ मा प्यालेस्टाइनमा बेलायती उपनिवेशको अन्त्य भयो र बेलायतले औपचारिक रुपमा आफूलाई त्यस क्षेत्रबाट फिर्ता गर्‍यो । सोही दिन इजरायलले पनि आफ्नो स्वतन्त्रताको घोषणा गरिदियो ।

बीबीसीबाट