एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको अर्को दिन उनको सांसद पद गएको हो ।
भारतीय संसद् लोकसभा सचिवालयले सूचना निकालेर उनको लोकसभा सदस्यता रद्द गरिएको जनाएको छ ।
राहुल केरलको वायनाड सिटबाट सांसद चुनिएका थिए । भारतीय संविधानको अनुच्छेद १०२ को १ मा दोषी ठहर हुने व्यक्तिको सांसद पद खारेज हुने व्यवस्था छ ।
शुक्रबार सुरतको एक अदालतले मानहानि मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । उनले ३० दिनभित्र माथिल्लो अदालतमा अपिल गर्न सक्ने पनि फैसलामा उल्लेख छ ।
चार वर्षअघि चुनावी प्रचारका क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीसहित केही व्यक्तिको नाम लिएर किन सबै चोरको थर मोदी हुन्छ भन्दै प्रश्न गरेका थिए । त्यसपछि उनीविरुद्ध मुद्दा परेको थियो ।