काठमाडौँ । बिहीबारदेखिको अविरण परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।
यता राजधानी काठमाडौका विभिन्न नदीहरुमा आएको बाढीका कारण उपत्यका डुवानमा परेको छ ।
बागमती, विष्णुमती, धोविखोला, हनुमन्ते, मनोहरा जस्ता नदी उर्लिएर आएको पानीले खोलाको सतह नाघेको छ ।
शनिबार जलसतहले सतर्कता खतराको तह पार गरेको छ भने नदी किनार क्षेत्रमा बाढीले बितण्डा मच्चाएको छ ।
काठमाडौंका विभिन्न क्षेत्रका खोला किनारका बस्ती डुवानमा परेका छन् । काठमाडौ र ललितपुर वीचको युएन पार्क डुवानमा परेको छ भने यस क्षेत्रको एउटा पुल बगाएको छ ।
उता बल्खुक्षेत्र जलमग्न भई खोला किनारका बस्ती डुवानमा परेका छन् ।
हनुमन्ते खोला उर्लिएर भक्तपुरको ठिमी, कौशलटार, लोकन्थली लगायत खोला किनारमा पानीको सतह बस्तीमा पसेको प्रत्यक्षदर्शी बोडेका घमण्ड बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
उता चोभारक्षेत्रमा बाढीले बस्ती डुवाएको छ । काठमाडौंबाट दक्षिणकाली जाने बाटोको समेत विभिन्न भागहरु पहिरो र रुख ढलेका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् ।
यसै वीच बोसन स्थित नेपाल महर्षि बैदिक फाउण्डेशनले आज आयोजना गरेको योगध्यान र यज्ञको माध्यमबाट समाजमा दिगो शान्ति स्थापित गर्न सकिन्छ भन्ने बैज्ञानिक अनुसन्धानबाट सिद्ध भइसकेको बिषय केन्द्रीत शुभकामना कार्यक्रम समेत स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।
निरन्तरको पानीका कारण देशका विभिन्न स्थानमा गएको पहिरो र बाढीका कारण अरबौंको धनजनको क्षती भएको जानकारी प्राप्त भैरहेका छन ।
कोशी प्रदेशका विभिन्न जिल्लाको प्राप्त विवरण अनुसार हालसम्म ६ जनाको मृत्यू भएको छ भने ८ जना वेपत्ता भएका छन् ।
यता धादिङको धुनिबेसी नगरपालिका स्थित नौबिसेमा पहिरो खसेर एउटा बस र दुई वटा साना सवारीसाधन पुरिएका छन् ।
पहिरो खसेर ३ वटा सवारी पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलावालले सञ्चारग्रामलाई बताए ।
उनले भने, ‘सवारी साधन पुरिएका छन्, मानवीय क्षति भएको छैन ।’ इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर सिताराम विष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
पहिरो खस्नुअघि नै बस र अरु दुईवटा सवारीमा सवारी यात्रु झरेको इन्स्पेक्टर सिलवालले बताए ।
उता चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–३ स्थित मौवा खोला र डाँगी खोलामा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वि नेपालको मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् ।
पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान सम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
त्यसैगरी इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ ।
यसै वीच काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति तेमाल गाउँपालिका ७ बस्ने भिमबहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
हेटौँडा र काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् । पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् ।
बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी-फाखेल-काठमाडौँ, कुलेखानी-मातातीर्थ-काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।
छोटो दुरीको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ ।
(-विभिन्न जिल्लाबाट संवाददाताहरूकाे सहयाेगमा)