पोर्चुगल: नेपालभन्दा बाहिर विभिन्न देशहरुमा रहेका नेपाली बालबालिकाहरुमा नेपाली भाषा तथा नेपाली संस्कृतिको बारेमा ज्ञान हुन अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले नेपाली पाठशाला संचालन गर्ने भएको छ । नेपाली पाठशाला नेपाली नयाँ बर्ष २०८० बाट संचालन गर्न लागेको हो ।
परदेशी भुमिमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, नेपाली कला, संस्कृति सिकाउने लक्ष्यका साथ पाठशाला भर्चुअल (zoom) माध्यमबाट संचालन गरिने नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीले बताउँनु भयो । विदेशी भुमिमा नेपाली भाषा, संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने उदेश्य समेत रहेको उहाँले बताउँनु भयो । साथै नेपाल भन्दा बाहिर जुनसुकै देशहरुबाट पनि उक्त पाठशाला कक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउँन सकिने तथा सहभागी गराउनहुन सम्पूर्ण अभिभावकहरुमा आब्हान समेत गर्नु भयो । भावी पुस्तालाई समेत नेपाली भाषा प्रति उन्मुख गराउँनको लागि पनि यो पाठशाला संचालन गर्न लागिएको हो । नेपालबाट कुशल तथा अनुभवी शिक्षकबाट संचालन हुने कक्षामा ५ बर्ष देखी १० बर्ष उमेर सम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन् । यो पाठशालामा प्रत्येक शनिवार नेपालको समय दिउँसो २ः४५ बजे तथा पोर्चुगलको समय बिहान ९ः०० बजेबाट २ घण्टा भर्चुअल कक्षा पढाई हुनेछ ।
यस नेपाली पाठशालामा बालबालिकाको बौद्धिक विकासका लागि नेपाली भाषाको पढाई संगसंगै अतिरिक्त क्रियाकलाप समेत रहने अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले बताउँनु भयो । अभिभावकहरुले नेपाली पाठशाला कक्षामा आफ्ना बालबालिकालाई सहभागी गराउनको लागि तथा विस्तृत जानकारीका लागि नेपाली नारी समाज पोर्चुगल अध्यक्ष सीता श्रेष्ठ शिवानी whatsapp +4745548829 र अनेसास पोर्चुगल अध्यक्ष सवी श्रेष्ठ whatsapp + 351920029870 मा सम्पर्क गर्न सक्नुहुनेछ ।