काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीको पक्षमा रहेको बताएका छन् ।
मगंलबार सिंहदरबारमा रहेको नेपालको सबैभन्दा जेठो टेलिभिजन नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवमा उनले सो धारणा राखेका हुन् ।
उनले सो कार्य गर्नको लागि आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्ने प्रतिवद्धता जनाए ।
ुसञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको छ ।
उनले भने, आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिनेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति लिइनेछ ।
प्रधानमन्त्री दाहालले नयाँ संविधान निर्माणसँगै मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएपश्चात् टेलिभिजनले आफ्नो विषयवस्तुको विविधता बिस्तारकोमा खुसी व्यक्त गर्दै भने , नेपाल टेलिभिजनले सबै वर्ग, जाति, लिंग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ ।
सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यका रूपमा स्थापित बहुभाषिक, बहुसांस्कृतिक यथार्थ र चरित्रलाई समेत गहिरो गरी आत्मसात गर्दै सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना, समाचार र सामग्रीलाई नेपालभित्र बोलिने मातृभाषाका माध्यमद्वारा सूचनाको पहुँच आम जनतासम्म पु¥याउन टेलिभिजनले खेलेको भूमिकाको प्रसंशा गरे ।
नेपाल टेलिभिजन नेपाल सरकार र नेपाली जनताको आधिकारिक सूचना र समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम भएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप यस टेलिभिजनको भूमिका र महत्वलाई थप प्रमाणित गर्न आवश्यकतामा जोड दिए ।
उनले यस वर्षबाट विभिन्न ७ वटा भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्वपूर्ण भएको बताउँदै डिजिटल युगमा मानव जातिको चिन्तन, जीवन र क्रियाकलापमा गुणात्मक बदलावसँगै सूचना प्रविधिको विकास र बिस्तारलाई केन्द्रमा राखेर मात्र राष्ट्रको गुरूत्तर कार्यभार पूरा गर्न सरकारी सञ्चारमाध्यमले नै भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिवद्ध भएको बताउँदै पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गरिनेस्पष्ट पामरे ।
सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमाको व्यवस्था गरिनेछ । श्रमजीवी पत्रकारका लागि निर्मित कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचना हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ ।
यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील महानुभावहरू सकारात्मक र रचनात्मक सहयोग र सहकार्य रहनेछ भन्नेमा म पूर्णतः विश्वस्त छु ।
प्रधानमन्त्री दाहालले सरकार गठन भएको अवस्थामा स्मरण गर्दै चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिका तीन प्राथमिकता निर्धारण गरी अगाडि बढिरहेको बताए ।
उनले भने, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयन, चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार एवं जनसेवा र जनजीविकाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको छ ।