काठमाडौं, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ जारी रहेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनको मुद्दाको सुनुवाइ शुरु भएको हो ।
यसअघि बादी पक्षले लामिछानेले अमेरिकी नागरिकता नत्यागेका कारण उनलाई नेपाली नागरिक मान्न नसकिने जिकिर गरेका थिए भने लामिछाने पक्षका कानुन व्यवसायीले भने विधिसंवत रुपमै नागरिकता लिएको दाबी गरिरहेका छन् ।
यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म नबुझाएको बहसका क्रममा वकिलहरूले उठाएका थिए ।
दुवैतर्फका वकिलहरूका बहस सकिएपछि यो मुद्दामा आजै सर्वोच्चले निर्णय दिन सक्ने सम्भावना छ ।
लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो ।
तर, पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो ।
लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।
साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।