२०८१ चैत १२ मंगलवार | Tuesday, Mar 25 2025

कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक, ईपीएसमा बढ्यो तीन गुणा माग

Untitled
Untitled
Untitled

काठमाडौँ, पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ।

दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीको माग तीन गुणाले बढेको हो।

दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा परेको जानकारी दिए ।

उनका अनुसार यसअघि कम्बोडियाबाट बढी श्रमिक लिँदै आएकामा यो वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी लिँदै आएको छ।

शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुई हजार नेपाली श्रमिक पठाउने गरी तयारी गरेको जनाएको छ।

नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटोछरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट श्रमिक लैजान कोटासमेत थप गरेको शाखाका निर्देशक कटुवालले जानकारी दिए ।

ईपीएस शाखाका अनुसार दक्षिण कोरियाले आगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट एक लाखभन्दा बढी श्रमिक भित्र्याउने योजना बनाएको छ।

जसमध्ये नेपालबाट ३५ देखि ४० प्रतिशत श्रमिक लैजाने आकलन नेपालको ईपीएस शाखाले गरेको छ।

दक्षिण कोरियाले सन् २०२३ देखि देशगत रूपमा कोटा निर्धारण नगरी छिटो श्रमिक पठाउने देशबाट धेरै श्रमिक लिने नीति लिएका कारण पनि नेपालबाट मासिक दुई हजारको हाराहारीमा श्रमिक माग भएको जनाइएको छ।

कोरियाले यो वर्ष ईपीएसअन्तर्गत उत्पादनमूलक क्षेत्रको सङ्ख्यासमेत दोब्बर थप गरिसकेको छ।

ईपीएस शाखाका अनुसार कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारीमा विगत १५ महिनाको तथ्याङ्क हेर्दा मासिक औसत एक हजार युवा दक्षिण कोरिया प्रवेश गरेको देखिन्छ।

अघिल्ला वर्षमा वार्षिक सात हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने गरेकामा कोरोना सङ्क्रमणपछि कात्तिकयता एक वर्षमा नै १२ हजार युवा कोरिया गएका छन्।

ईपीएसअनुसार कोरिया प्रवेश गर्ने सङ्ख्या सन् २०२१ मा ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा एक हजार २७ रहेको थियो।

वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन सर्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ।

नेपालबाट सन् २०१७ मा सात हजार आठ सय, सन् २०१८ मा आठ हजार ५११ र सन् २०१९ मा सात हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ।

त्यसपछि कोरोना सङ्क्रमणका कारण उडान बन्द हुँदा दुई वर्ष न्यून सङ्ख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए। पछिल्लो समय सरकारले कोरिया जाने हवाई टिकटको मूल्यसमेत एक हजार २१५ डलरबाट घटाएर ८९५ डलर बनाएपछि जाने श्रमिकका लागि सहज भएको छ।

Untitled
Untitled
Untitled