कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हिउँपर्न सुरु भएको छ। यस बर्ष माघ महिनाको मध्यसम्म पनि हिउँ नपर्दा चिन्तित किसानहरु अहिले बाक्लो हिउँ पर्न थालेपछि उत्साहित भएका छन्। मंगलबार बिहान करिब ५ बजेदेखि जुम्लामा हिउँ पर्न थालेपछि किसान हर्षित भएका हुन ।
यहाँका हिमाली जिल्ला जुम्लासहित मुगु, हुम्ला र डोल्पामा समेत हिमपातसँगै वर्षा भइरहेको छ । उता कालिकोट, सुर्खेत, दैलेखमा पनि भीषण वर्षा भइरहेको छ । हिउँ कुरिरहेका कर्णालीका किसान मङ्गलवार बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान सरोज शाहि भन्छन्, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनिमात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’
हिमपातले विशेषगरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारी ले बताए । हिउँ नपरेर बाली सुक्न थालेको थियो । उनले भने , ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’
हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दिर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पर्दाथ खान चिकित्सकको सुझाव छ ।
हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगन्जको उडान, सँगै मुगु, हुम्ला र डोल्पाको हवाई उडान ठप्प भएको हो । सडक यातायात कर्णाली राजमार्ग, नाग्म र गमगढी सडकको यात्रा पनि रोकिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनःर्स्थापनाको पूर्वतयारी मजबुद बनाइएको बताए । उनका अनुसार तीनै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेका छन् ।