नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘राष्ट्रपति र सभामुख निर्वाचनमा सहयोग गर्न’ एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग आग्रह गरेका छन् ।
पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत विषयमा एकीकृत समाजवादी अध्यक्ष र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता भएको हो ।
एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार दुई नेताबीच भेटघाट भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेपाललाई भेट्न पौडेल समाजवादी पार्टी कार्यालय आलोकनगर पुगेका थिए । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम विषयमा करिब एक घण्टा छलफल भएको थियो ।
‘राष्ट्रपति’ बन्ने दौडमा रहेका पौडेलले राष्ट्रपति निर्वाचनमा नेपालसँग यसअघिसमेत भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन् ।
आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेको कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखसहित संघीय र प्रदेश सरकारबाट समेत बाहिरिनुपरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर कांग्रेस फेरि सत्तामा फर्किने रणनीतिअनुसार अघि बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासमेत यसका लागि सक्रिय छन् । कांग्रेस पदाधिकारीसँग छलफल गर्दै सभापति देउवा सभामुख निर्वाचनमा बहुमत जुटाउने कसरतमा जुटेका छन् ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसाललाई पार्टीले सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
एकीकृत समाजवादीको काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको पार्टी महासचिव डा। वेदुराम भुसालले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्यको भूमिका निर्वाह गरिसकेका भुसाल शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, उनी रूपन्देही–१ मा एमाले नेता छविलाल विश्वकर्मासँग पराजित भए । भुसाललाई तत्कालीन पाँच दलीय गठबन्धनको समर्थन थियो ।
स्रोतका अनुसार भुसाललाई उपाध्यक्ष वा महासचिवको जिम्मेवारी दिने सहमति गरिएको छ । पार्टी केन्द्रीय कमिटी बैठकबाट सो जिम्मेवारीको निर्णय हुनेछ । सैद्धान्तिक र वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी एकीकृत समाजवादी नै रहेकाले यो पार्टी रोज्नुपरेको उनको प्रस्टोक्ति छ ।