२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

‘नातिकाजी पुरस्कार’बाट दुई दर्जनभन्दा बढी स्रष्टा सम्मानित

Nabil Bank

सिद्धहस्त संगीकार नातिकाजीको ९८औं जन्मजयन्तीमा प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘नातिकाजी पुरस्कार’बाट दुई दर्जनभन्दा बढी स्रष्टालाई सम्मानित गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहबीच ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८’बाट उनीहरूलाई सम्मानित गरेकी हुन् ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ गीतकार तथा नाट्यकर्मी मनबहादुर मुखिया, अग्रज गायिका दीपानारायण झा, वरिष्ट रेकर्डिस्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणिन्द्र राई, गीतकार बिके राना, संगीतकार तथा गायक कन्हैया सिंह परियार, गीतकारद्वय शुभ मुकारुङ र अमर बान्तुलाई सम्मानित गरिन् ।

तीन दशक वा सोभन्दा लामो समयदेखि आ–आफ्ना क्षेत्रमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मानित गरिएको नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी गराए ।

यसैगरी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ संगीत गुरु चन्दन श्रेष्ठलाई प्रदान गरियो । राष्ट्रपति भण्डारीले समारोहमा ‘नातिकाजी पत्रकारिता पुरस्कार २०७८’बाट गीतकारसमेत रहेका पत्रकार डब्बु क्षत्री र कुवेर गिरीलाई प्रदान गरिन् । पुरस्कृतलाई ताम्रपत्रसहित जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।

‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८’ गीतकारतर्फ एकनारायण भण्डारी, संगीतकारतर्फ कालीप्रसाद बासकोटा, गायकतर्फ राज सिग्देल र गायिकातर्फ माण्डवी त्रिपाठीलाई प्रदान गरियो ।

त्यस्तै, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ गीतकारतर्फ देवेन गिरी, संगीतकारतर्फ दीपक शर्मा, गायकतर्फ कृष्ण काफ्ले र गायिकातर्फ अस्मिता अधिकारीले पाएका छन् ।

यसैगरी, ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली, ‘नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार’ देवी घर्ती र ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८’ आशिष गौतमलाई प्रदान गरिएको छ ।

त्यस्तै, नाजिकाजी स्मृति समाज र कोषका लागि आ-आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान दिएको भन्दै प्रोडक्सन म्यानेजर सुवास काफ्ले, छायाँकार तथा फोटो पत्रकार मनोज शाही, म्युजिक नेपाल र काठमाडौं महानगरपालिकालाई ‘विशिष्ट योगदान’स्वरुप कदरपत्रबाट सम्मानित गरियो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपाली संगीत श्रीवृद्धिमा नातिकाजीको अतुलनीय योगदान रहेको स्मरण गरिन् । ‘कालजायी सिर्जना पस्केर नेपाली संगीतलाई यहाँसम्म ल्याउनमा उनको ठुलो देन रहेको’ भन्दै उनले ‘अहिलेका पुस्ताले नातिकाजीको मार्गदर्शन आत्मसात् गरेर अघि बढ्न’ सुझाव दिइन् ।

नातिकाजी स्मृति समाज अध्यक्ष शम्भूजीत बासकोटाले अबका दिन नातिकाजीसहित उनका पुस्ताका संगीतकर्मीको नाममा सरकारले पुरस्कार स्थापना गर्नुपर्ने माग गरे ।