२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

कविता – कामिनी

Untitled
Untitled
Untitled

शिर्षकः कामिनी

म अलच्छिनी कामिनी
मेरो भुडि कस्को हो ?
म आफैलाई सोध्छु
म यो समाजलाई सोध्छु
म नजवाफ बनि भित्रभित्रै मरिरहेछु
तर पनि, म निर्धक्क बाँचिरहेछु, हाँसिरहेछु
मेरो मुस्कानमा बेग्लै भाव छ
मेरो यो हाँसोमा बेग्लै कथा छ ।

कठै ! मेरा बा
बर्मामा सबै परिवार गुमाएका मेरा बा
मुखियाको आदेशमा
असला माछा मार्न जादा
घुमाउने दहमा परेर बितेका रे
मलाई त एक रत्ति झल्को छैन
होस् पनि कसरी मेरी सुत्केरी आमा
आगो पानी छुन नपाउदै बिधवा भाकी रे
तेरा बाउ खाइ लाग्दा छाँटका थिए -आमाले भन्दा
तेरा बाउ आँखामा राख्दा पनि नबिझाउने थिए -बिष्ट, बिष्टिनीले भन्दा
कालले पनि यस्तैलाई रोज्नु पर्दो रहेछ
म जन्मिदै टुुहुरी भएछु ।

कठै ! मेरी आमा
नौ डाडा पारीबाट ल्याएकी मेरी आमा
मेरो भन्नु नै तँ मात्र होस्
कहिले काँहि म सानोमा भोकले झगडा गर्दा मेरी आमा सुनाउँथिन
कतिले त अलच्छिनी बाउ टोकुवा
सात दोबाटोमा जिउँदै गाड्नुपर्छ भने रे मलाई ।
बल्ल भरिएको कोख बल्ल भरिएको अंगालो
रित्याउँन कुन आमाको मनले मान्छ र
पक्कै पीडाले आँसुमा डुबिन होलीन् मेरी आमा
भोकै र तिर्खै बनेर हुर्काएकी
म अलच्छिनी कामिनी यो अवस्थामा
आमाका अगाडी कसरी मुख देखाउन सक्थे होला र ?
मेरी आमाले मेरो मुख कसरी हेर्न सक्थिन होला र ?
कति दुरदृष्टि दैव पनि यी पीडाबाट त मुक्ति दिएछौ
धन्य छ तिमीलाई ।
पुष माघको कठाग्रिंदो जाडोमा
एकसरो झुत्रे फरियामा टालेको बर्को बेरेर
मुखेनी बज्यैका मै घोटिने
साउने झरीमा निथ्रुक्क भिज्दै गोरु झैं जोतिने मेरी आमा
काम्ने ज्वरोको शिकार भइन आँखै अघि ।
गरिब हुनुको पीडा मुखमा न एक बिर्को ओखती नै पर्याे
बुडो गोरुले सकी नसकि हलो ताने झैं जोतिई रहन्थिन ।

मुखेनी बज्यै
मुखेनी बज्यै, बरु उल्टै गाली भन्दा
के दियौ मेरी आमालाई
म झुल्किदै अस्ताएका मेरा बा
म हुर्काउन लिएको मकैको च्याख्ला
र गुन्द्रुकको ऋण तिरी नसक्दै निदाएकी मेरी आमा
कहिलै ब्युँझिनन् ऋणको भारी मेरो टाउकोमा बिसाएर ।
म अलच्छिनी कामिनी
त्यति नै खेर सात दोबाटोमा गाडिएकी भए हुने थियो
म अबोध टुहुरी म अलच्छिनी कामिनी
मुखियाको कुकुर बस्ने पालीमा
थोत्रे गुन्द्रि बिछ्याएर सनपाटको बोरा ओडेर
सयौ रात काटेकी छु
पुष माघको जाडोमा
त्यहि लक्की कुकुरसँग गुडुल्कि मारी
न्यानो आभाष पाएकी छु
लक्की कुकुर भएर पनि साँच्चै लक्की नै हो
लक्की मासुको चोक्टा चोक्टा पाउथ्यो
म मासुको झोल झोल पाउथे
लक्की उकुस मुकुस खान पाउथ्यो
म आधा पेट खान पाउथें
धेरै पटक आँखा छलेर लक्कीको भाग
मेरो भागमा खन्याएकी छु र पेट भरि अघाएकी छु
लक्की मेरो अन्नदाता हो लक्की मेरो प्राण हो ।
म जब हुर्कदै गए
सानो मुखियाले पालीमा फरिको बारिदिए मेरा लागि
बल्ल मेरो घर भन्न पाए
म खुसीले नाचे, उफ्रे, रमाए, बुर्कुसी मारे
तर त्यो फरिको भित्रको मेरो घरको कटुता कसलाई के थाहा
अहिले त्यै मेरो घर, खुसिको बुर्कुसी परिणत छ यो अवस्थामा ।

मैया मैसाब
मैया मैसाब प्रमाण त के जुटाउन सक्छु र
म अलच्छिनी कामिनीले
सखुवाको पत्कर सोर्दा सोर्दै
त्यो घोप्टे ओडारको भित्तामा
चिलले चल्लालाई झम्टिया जस्तै
एक्कासी सानो मुखिया म माथी झम्टिए पछि
पीडा सम्हाल्न नसकि निस्किएको
मेरो चिच्याहट सुनेको नसुनै
मेरो बिवशता देखेको नदेखै गर्ने तिमी पनि त हौ ।
तिमी नारी होइनौ ? एकपल्ट सम्झ
तिम्रो पहिलो कुमारित्व गुम्दाको पीडालाई
त्यसमाथी झनै मेरो बाल कुमारित्व तोडिदाको पीडा
कति थियो होला कल्पना गर्न सक्छौ ?
मुखेनी बज्यै मुर्छाबाट तंग्रिएर आएकी म
रातभर रगत नथामी हनहनी ज्वरो बडेको बखत
भोली पल्ट बिहानै भकारो सोर्न नसक्दाको
तथानाम गाली कहाँ बिर्सन्छु
र पनि मेरो पीडा कहिन
म काममा सकि नसकि मुन्टिरहे
महिनौ रक्तश्रावमा डुबिरहे
मेरो कमजोरी भनौ या डर
मेरो बाध्यता भनौ या कर
मेरो बिवशता कसैलाई सुनाइन
कति दिन केहि खानै सकिन
लत्र्‍याङ लत्र्‍याङ लर्वराईरहँदा
एकपटक पनि सोध्यौ बज्यै तँलाई के भएको छ भनेर ?

ए सानो मुखिया
ए सानो मुखिया बिन्ति कहाँ बिसाउँ
मेरा सगरमाथा झैं पोटिला पोटिला वक्षस्थल
फत्त्रक गलेर सुतेको कुम्भकणर् झैं बनायौ
मेरो फक्रक्क फुल्न लागेको, कोपिला निमोठिदियौ
यौवनी गुलाब सम्झि कयौ पटक चुम्यौ गिद्धको झम्ट्याइ गरेर ।
त्यो बेला म अछुत भन्ने लागेन ?
जुन बेला तिमी म माथी एकोहोरो अतृप्त प्यास मेटाउथ्यौ
मेरा ओठमाथी ओठ चुम्थ्यौ
मेरो जिब्रो माथी जिब्रोले लपेट्थ्यौ
मेरा अंग अंग चुम्थ्यौ
त्यति बेला म अछुत भइन म जुठी थिइन
म सुन्दर अप्सरा थिएँ
तिम्रा लागि संसारकै सबै भन्दा मुल्यवान थिए ।
दिनरात काममा गोरु झैं जोतिन्थें म
मेरा हरेक पीडामा हर्षोलास मनाउँदै मलाई भोगी रह्यौ
थाकेको गलेको भन्न नपाई उपभोग गरिरह्यौ ।
जब तिम्रो भ्रुण मेरो पेटमा बड्न थाल्यो
म बिन्ति बिसाउन सोचिरहेथे अनायसै टोलाएछु
बाघ झैं गर्जियौ तिमी
मेरो घाटी अठ्याउन थाल्यौ मेरो समाप्तिको लागि
म पञ्जाबाट फुत्किन कयौ प्रयासहरु गरिरहे
घाटी अठ्याई रह्यौ तिमीले
मेरो स्वास अवरुद्ध हुन लाग्दा
म झँस्किए कम्पन छुटिरहेको थियो
स्वास प्रस्वास बडिरहेको थियो
पसिनै पसिनामा डुबेकी पाए
त्यो दिन पनि तिमीले छोडेनौ मलाई
तर केहि बिसाउन सकिन
म अलच्छिनी कामिनी मुर्दा झैं बिवश सहिरहे खपिरहे ।
मलाई थाहा थियो तिम्रै रवाफ चल्छ
तिम्रै शासन चल्छ
म नै पतकर पातकी हुन्छु
धेरै पल्ट आत्महत्या गर्न खोजेँ
तर सकिन आमा हुँदैछु
माया त्यो पेटभित्रको अदृश्य भ्रुणको लाग्यो ।

मुखेनी बज्यै
मुखेनी बज्यै तिमी पनि त आमा नै हौ
मेरो बिवशता बुझ्ने छौ पक्कै
शाहस बटुलेर तिमीसँग धेरै कोसिस पश्चात
आँसुका धारासँग मुटु भकानिएर
गला अबरुद्ध पार्दै बिन्ति बिसाए- म भित्र सानो मुखिया हुर्किदैछ
रातारात समाज राख्यौ रातारात सभा बस्यौ
म पातकी बौलाहि भन्यौ, ठहर्‍यायौ
सुन पानीले चोख्यायौ तिम्रो घर र तिम्रा मान्छेहरु
कस्को नासो बिसाउन लागि भन्यौ
सुन्ने कानहरुलाई पनि सुनपानीले चोख्याइ पबित्र पार्‍यौ ।
सुनपानीले पबित्र हुने भए
म अलच्छिनी कामिनी जवाफ चाहन्छु
मलाई किन सुनपानी छर्किएनौ ?
त्यो तिमीले लगाएको सुनको बुलाकी र कानढुंग्री पनि
म जस्तै अछुतले बनाएको होइन र ?
मै अलच्छिनी भए मै रन्डि छाडा भए
मै जुठी भए मै बिटुली भए म नै पातकी बैलाहि भए
समाज कि कलंक भए समाजबाट तिरस्कृत अपहेलित र बहिस्कृत भए
म अछुत त छदै थिए दलान टेक्न नपाउने
म अलच्छिनी त छदै थिए सिधा नजर हेर्न नपाउने
देउरालीको कसम खाएर भन्छु
वरपिपल चौतारीको कसम खाएर भन्छु
तिम्रै आँगनी शिरको मठको कसम खाएर भन्छु
तिमीले पुजा अर्चना गर्ने चौठामाथि खोपिका
तिम्रै भगवानको कसम खाएर भन्छु
मुखेनी बज्यै रिसानी माफ होस्
मुखिया बा कै करकापमा
तिमी माइत गएको बेला
मझेंरी छेउको तिमी सुत्ने खाट बाकसमाथि
एक रात
मुखिया बा लाई पनि सम्हालेकी छु ।

 

-एन.बी. अन्जान

पाेर्चुगल

nbanjan1@gmail.com

Untitled
Untitled
Untitled