बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन ।
त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी बलियो बनाउने भन्ने कुरा उनीहरुलाई हेक्का हुँदैन । आमाबुवाले नै आफ्ना बच्चाको दाँतको ख्याल गरिदिनुपर्छ ।
त्यसो भए कसरी बच्चाको दाँतको हेरचाह गरिदिने रु कसरी कीराले खान, सड्न, टुक्रिन, बाङ्गोटिङ्गो हुनबाट बचाउने ?
दूधेदाँतको पनि हेरचाह गर्न जरुरी
दाँत फेरिएपछि भन्दा पनि दूधेदाँत आएदेखि नै सफा गर्नुपर्छ । कतिपय अभिभावकले भने दूधेदाँत निस्किएपछि राम्रो दाँत आइहाल्छ भन्ने सोचले सफा गर्दैनन् । यसैले गर्दा सानो उमेरमै बालबालिकाले दाँतमा संक्रमण हुने, कीरा लाग्ने, स्थायी दाँत आउने जरासम्म असर गर्न सक्छ । दूधेदाँतमा पिप जम्यो भने स्थायी दाँत आउने विकासलाई असर गर्ने, गिजामा पिप जम्ने, दातको रङ बदलिने जस्ता समस्या हुने भएकाले दूधेदाँत आएदेखि नै सफा राख्नुपर्छ ।
कुन उमेरबाट ब्रस गराउने ?
दूधेदाँत आइसकेपछि नै बालबालिकालाई दिनको दुईपटक ब्रस गराउनुपर्छ । त्यसबीचमा डेन्टल फ्लस पनि बच्चालाई गराउन सकिन्छ । वर्षमा एकपटक दन्त चिकित्सकलाई देखाउने र गुलियो खानेकुरा खाँदा कुल्ला गराउने बानीले दाँतमा कीरा लाग्ने समस्या हुँदैन ।
आजीवन बस्नुपर्ने स्थायी दाँतलाई पनि त्यतिकै सफा राख्नुपर्छ । ब्रस कम्तीमा पनि तीन मिनेटसम्म गर्नुपर्छ भनिन्छ । तर कोहीले तीन मिनेटअघि नै राम्रोसँग दाँत माझ्नुहुन्छ भने कतिले तीन मिनेट लगाएर गरे पनि उचित रुपमा दाँत सफा हुँदैन । त्यसैले समयभन्दा पनि दाँतको सबै सतहमा पुगेर राम्रोसँग माझ्दा दाँत सफा हुनुपर्छ ।
कस्तो किसिमको मञ्जन र ब्रस प्रयोग गर्ने ?
साना बालबालिकाले दाँत माझ्ने क्रममा फ्लोराइड ९टूथपेस्टमा हुने एक तत्व० निल्ने सम्भावना बढी हुन्छ । जुन बालबालिकाको स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसैले उनीहरुका लागि कम फ्लोराइड भएको मञ्जन वा सम्भव भएसम्म फ्लोराइड नभएको मञ्जन उचित हुन्छ ।
ती मञ्जन बजारमा सहजै पाउन सकिन्छ । जब बालबालिका थुक्न सक्ने र उनीहरुमा मञ्जन निल्नु हुँदैन भन्ने ज्ञान हुन्छ तब फ्लोराइडयुक्त मञ्जन दिन सकिन्छ ।
त्यस्तै, शिशुहरु जसको दाँत हुँदैन । उनीहरुलाई केही खानेकुरा दिइसकेपछि दाँतको गिजामा नरम रुमालमा मनतातो पानीमा भिजाएर सफा गर्नुपर्छ । मुख खोल्न सकिने बच्चाहरुको लागि पेडियार्टिक ब्रस प्रयोग गर्न सकिन्छ । दूधेदाँत र स्थायी दाँत मिश्रण भएपछि नरम खालको एडल्ट ब्रस परिवर्तन गर्नुपर्छ । ताकि गिजामा घाउ नहोस् ।
बच्चाको दाँत बलियो र आकर्षक बनाउन कस्तो खानपान ?
दाँतलाई स्वस्थ बनाउन फाइबरयुक्त खानेकुरा बढी खानुपर्छ । आजभोलिको फाइबर कम हुने खानेकुराले पनि दाँत बिग्रिन सक्छ । प्रशोधित खानेकुरा, जंकफुडमा एसिड बढी हुने हुन्छ । घरमा खाने खाना दाल, भात र तरकारीहरु सानै उमेरदेखि चिनाउने र खान दिने गर्नुपर्छ । जसले फाइबर र भिटामिनको पूर्ति गर्न सक्छ ।
दाँत बाङ्गोटिङ्गो हुने कारण ?
दाँत हल्लिएको धेरै नै समय कट्यो भने दाँत बाङ्गोटिङ्गो हुँदै जान्छ । त्यसैले सकेसम्म दाँत नयाँ आउने क्रममा पहिलाकै दाँत बसिरहेको छ भने त्यहाँ ठाउँ नपाएर अन्यत्र उम्रिन्छ ।
कतिपय बाबुआमाको ध्यान नजाँदा बालबालिकाको दाँत हल्लिसकेर अर्को दाँत पनि आउन सुरु गरिसकेको हुन्छ, जसले दाँत बिग्रिन्छ । अभिभावकले बालबालिकाको दाँत हल्लिरहेको छ छैन भनेर आफैं जाँच गर्ने र हल्लिएको खण्डमा दाँत फुकालिदिनुपर्छ ।
दाँत कीराले खान नदिन के गर्ने ?
जन्मिएको तीन महिनादेखि नै शिशुको मुख कपडा तातोपानीले सफा गरिदिनुपर्छ । दूधेदाँत फुक्लेर एक–दुईवटा मात्रै आएको छ भने पनि राम्रोसँग सफा गर्न बिर्सनु हुँदैन । बिहान बेलुका ब्रस गर्ने र खानेकुरा खाएपछि मुख कुल्ला गरिदिने, खानेकुरा अड्किएको छ भने डेन्टल फ्लस गरिदिने गर्नुपर्छ ।
बच्चाको दाँत कीराले खायो भने गिजा सुन्निने, पाक्ने, दाँत सफा नभएमा गिजाबाट रगत आइरहने हुन्छ । त्यसैले बालबालिकालाई मुख तथा दन्त सरसफाइ गर्न सिकाउनुपर्छ ।
बालबालिकाको गिजाको मसाज गर्नुपर्छ
बच्चाको गिजालाई मसाज चाहिन्छ । जब हामी दाँत सफा गर्छौं त्यस क्रममा ब्रसले गिजालाई छुँदा आफैं मसाज भइरहेको हुन्छ । साना बालबालिकाको लागि सर्कुलेसन मोसनमा हल्कासँग सफा गर्नुपर्छ । गिजाकै लागि भनेर छुटै मसाज आवश्यक छैन ।
दाँत सफा गर्न घरेलु उपाय कति प्रभावकारी ?
धेरैले दाँत सफा गर्न घरेलु विधि पनि अपनाउने गर्छन् । खासगरी नुन, तेल, बेसार लगाएर सफा गर्ने गरिन्छ । नुन, बेसार र तेल जस्ता तत्व मिसाएर दाँत सफा गर्दा दाँत खिइने र इनामेल पनि हराउँदै जान्छ । त्यसमा हुने खस्रो पदार्थले दाँत घोटिन्छ र प्राकृतिक इमानेल नष्ट हुन्छ ।
(वीर अस्पतालकी कन्सल्ट्यान्ट इण्डोडोन्टिस्ट प्रा. डा. जोशीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित याे सामाग्री अनलाइन खबरबाट लिइएकाे हाे)