२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

‘मानसिक स्वास्थ्यलाई रोग नमान्ने अवस्थाको अन्त्य हुनुपर्छ’

Untitled
Untitled
Untitled

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मानसिक स्वास्थ्य समस्यालाई रोग नमान्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ। आइतबार लाजिम्पाटमा मानसिक स्वास्थ्यको उपचार र अनुसन्धानको उद्देश्यले स्थापना भएको बे्रन एण्ड न्युरो साइन्स केन्द्र (बिएएनसी) नेपालको उद्घाटन गर्नुहुँदै सचिव पोखरेलले यस्तो बताउनुभएको हो।केन्द्रको उद्घाटन गर्दै उहाँले नेपालमा मानसिक स्वास्थ्य उपचार, परामर्श सेवा प्रदायकको आवश्यकतालाई सम्बोधन गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

‘‘मानसिक स्वास्थ्य खराब हुनुलाई रोग नै नमान्ने वा भइहालेमा पनि उपचारमा जान नमान्ने नेपाली समाजको वास्तविकता हो’’, स्वास्थ्य सचिव डा. पोखरेलले भन्नुभयो, ‘‘यस्ता केन्द्रबाट उपचार गराउन चाहने सचेत नागरिकले सेवा पाउनेछन् ।’’ उहाँले यस्ता उपचार केन्द्र नहुँदा रोग नै लुकाउने अवस्था रहेकाले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञता हासिल गरेका जनशक्तिले आफ्नो ज्ञान/सीपमार्फत् सेवा दिनमा केन्द्र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

बिएएनसी नेपालको उद्घाटन गर्नुहुँदै केन्द्रका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल ।

सचिव पोखरेलले सरकारले १४ जिल्ला र प्रदेशस्तरीय तहमा मात्र हालसम्म मानसिक स्वास्थ्य क्षेत्रमा काम गरिरहेको अवस्थामा विशेषज्ञकै पहलमा स्थापना केन्द्रमा नागरिकले सेवा लिन पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता अनुसन्धान र परामर्श केन्द्रित क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेकोमा समेत जोड दिनुभयो।

उक्त अवसरमा ब्रेन एण्ड न्युरो साइन्स केन्द्रका निर्देशक मनोचिकित्सक डा. ऋषभ कोइरालाले मानसिक स्वास्थ्य उपचारका लागि केन्द्रले विशेष सेवा दिने जानकारी गराउनुभएको छ।उहाँले मनोविमर्श, थेरापीसँगै आयुर्वेद विधिबाट मानसिक रोगको उपचार गर्ने र अनुसन्धान अगाडि बढाउने विश्वास दिलाउनुभयो।

‘‘मानसिक स्वास्थ्य उपाचारको प्रवर्द्धनका लागि मानस रोग विशेषज्ञ (आयुर्वेदिक विधिबाट मानसिक रोगको उपचार गर्ने) क्लिनिकल साइकोलोजी, मनोचित्सक, मनोविमर्शकता, थेरापीलगायतको सुविधासहित राजधानीमा उपचार सेवा दिनका निम्ति यो केन्द्रको स्थापना भएको हो’’, डा. कोइरालाले भन्नुभयो।

बिएएनसीले विज्ञ मनोचिकित्सक तथा मनोविदसँग समन्वय र सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, विश्वविद्यालय र अनुसन्धानकर्तासँग सहकार्य गर्दै मानसिक स्वास्थ्य सेवा दिने लक्ष्य राखेको डा. कोइरालाको भनाइ छ । उहाँका अनुसार बिएएनसीले मानसिक स्वास्थ्यको ओपिडी सेवा, अध्ययन तथा अनुसन्धानसँगै मानसिक स्वास्थ्य सम्बन्धि विशेषज्ञ तालिम दिने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, मनोसामाजिक विभाग प्रमुख प्रा. डा. सरोज ओझाले स्वास्थ्य सेवा मौलिक हकभित्र पर्ने भन्दै स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्वलाई विशेषज्ञ डाक्टरहरुले सेवा केन्द्र स्थापना गरेर निजी क्षेत्रबाट पहल गरेकाले यसलाई अझ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले भन्नुभयो, ‘‘राज्यले मात्र सबै स्वास्थ्य सेवा  प्रदान गर्न सम्भव हुँदैन, आम नेपालीले चाहेको र आवश्यक सेवाका लागि नीजि क्षेत्रले पनि सघाउनुपर्छ ।’’

नर्वेको युनिभर्सिटी अफ ओस्लोका मनोसामाजिक विभाग प्रमुख प्रा.डा.सुरजबहादुर थापाले नर्वे सरकारले अन्य स्वास्थ्य सेवामा भन्दा मानसिक स्वास्थ्य उपचारका लागि निक्कै लगानी गर्दै आएको अनुभव साट्नुभयो।उहाँले नेपालमा मानसिक स्वास्थ्यलाई अझैसम्म पनि पहिचान नै नगरेको वा स्वीकार नगरेको अवस्थामा नर्वेले नागरिकको मानसिक स्वास्थ्य स्थितिलाई प्रमुख प्राथमिकतामा राखेको उदाहरण प्रस्तुत गर्नुभयो।उहाँले मानिसको जीवनशैली र खानपानकै कारण निकट भविष्यमा क्यान्सर र मानसिक रोगबाट धेरै मानिस प्रभावित हुने तथ्यलाई मनन् गर्दै नेपालले त्यसको तयारी गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्य, क्रान्ति बाल अस्पतालको बाल मनोचिकित्सा विभागका प्रमुख डा. अरुण कुँवर,  प्रा.डा. मिता राना, डा. कमल गौतम, डा. जसमिन मा, डा. सगुन बल्लभ पन्त, डा. निकिता थापा, मनोविद जमुना चौधरी, सविना महर्जन, पियुस गौतम र उमेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

Untitled
Untitled
Untitled