२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

विशेषज्ञ चिकित्सकको पर्खाइमा सुदूरपश्चिमको विशिष्ट विशेषज्ञ अस्पताल

Untitled
Untitled
Untitled

डडेलधुरा । सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेलधुरा अस्पताल छ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा छ । विशेषज्ञ चिकित्सक नहुँदा सङ्घीय सरकार मातहतको डडेलधुरा अस्पतालमा पुग्ने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।

डडेलधुरा अस्पताल उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो तर दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक कहिल्यै पाउन सकेन । एघारौँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट एक जना दरबन्दी रहेको अस्पतालमा हाल १० तहका चिकित्सक कार्यालय प्रमुख हुनुहुन्छ ।

अस्पतालमा ९ र १० तहका १७ जना विशेषज्ञ चिकित्सकको स्वीकृत दरबन्दी भए पनि हाल स्थायी एक जना र अस्थायी नौ जना गरेर १० जना मात्रै रहनुभएको सोमबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. नरेन्द्रकुमार खनालले जानकारी दिनुभयो ।

आठौँ तहका १८ जना मेडिकल अधिकृतको पद स्वीकृत भएकोमा १४ जना स्थायी र १४ जना करार गरेर २८ जना रहनुभएको उहाँले बताउनुभयो ।

नेपाल सरकारले छात्रवृत्तिमा पढाउने चिकित्सक मात्रै डडेलधुरा अस्पताल आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दी रिक्त रहन गएको अस्पतालका निमित्त मेसु डा. खनालले बताउनुभयो ।  गत वर्षभरि अस्पतालबाट एक लाख ५८ हजार ६३३ जना बिरामीले उपचार सेवा लिएको उहाँले प्रस्तुत गरेको तथ्याङ्कमा छ । सबैभन्दा बढी दीर्घ रोगका बिरामी रहेको उहाँले बताउनुभयो ।

तर अस्पतालबाट कति जना बिरामी रेफर भए तथ्याङ्कमा उल्लेख छैन । अस्पतालका सूचना अधिकारी टङ्क पन्तका अनुसार तीन ठाउँबाट बिरामी रेफर गरिन्छन् इमर्जेन्सी र ओपिडीबाट । इमर्जेन्सीबाट करिब २७० को सङ्ख्यामा रेफर भएको हुन सक्ने अनुमान उहाँले लगाउनुभयो तर अन्य दुई ठाउँको जानकारी दिनुभएन ।

सङ्घीय सरकारबाट प्राप्त भएको ४० करोड ७८ हजार रुपियाँ बरारबरको रकमको ५४ प्रतिशत अर्थात् २१ करोड ६० लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पताल विकास समितिमा १० करोड रुपियाँ सङ्कलन भएको र शतप्रतिशत खर्च भएको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार केही दिनअघि मात्रै अस्पतालको नयाँ भवन हस्तान्तरण भएको र दुई साताभित्रै अस्पतालले मृगौला डायलासिस सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

डायलासिसका लागि दुई वर्षअघि नै आवश्यक उपकरण खरिद गरिएर थन्काएर राखिएका थिए । अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञ चिकित्सक पदपूर्तिका लागि बारम्बार मन्त्रालय र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वय गरेको उहाँले बताउनुभयो ।

गत कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा आएर एक साता बस्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई अस्पतालको समूहले भेट गरेर दरबन्दी अनुसारको पदपूर्तिका लागि अनुरोध गरेको उहाँले बताउनुभयो । दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन नसक्ने भए विशेषज्ञ सेवासहित भनिएको सङ्घीय सरकार मातहतको अस्पतालले सेवा दिन नसक्ने भनेर बारम्बार जानकारी गराउँदै आएको उहाँको भनाइ छ ।

सङ्घीय सरकार मातहत सञ्चालनमा रहेको डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ फागुन ५ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरेर डडेलधुरा अस्पतालमा स्तरोन्नति गरेको थियो ।

Untitled
Untitled
Untitled