काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद लीलाबल्लभ अधिकारी मानव तस्कर गरेको अभियोगमा हिरासतमा पुग्नुभएको छ। आइतबार अधिकारीलाई प्रहरीले विराटनगरस्थित उहाँको निवासबाटै पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याएर राखेको हो । उहाँमाथि थप अनुसन्धानका लागि २ दिन म्याद थप भएको छ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उहाँलाई पक्राउ गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताउनुभयो। अधिकारीलाई पक्राउ गरेर उपस्थित गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौंले विराटनगरमा पत्र पठाएको थियो। कार्तिक १४ मा पूर्वमन्त्री अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट (निष्कासन) भएका थिए।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपियाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। डिपोर्ट भएकाहरू र पठाउने गिरोहका थप ३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। तर, उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै हुनुहुन्थ्यो।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिवार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरे पनि अधिकारी ‘म मन्त्री हुँ’ भन्दै परिचयपत्र देखाएर उम्किनुभएको थियो । एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिएको भन्दै आम आलोचना भएको थियो।
तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चारै जना आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उडेका थिए। अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो। तर, टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए।
पक्राउ परेका तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई समेत पक्राउ गरेको थियो। जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपियाँसम्म बुझाएको बयान दिएका छन्।
उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको छ । उनीहरूलाई जिल्ला अदातल काठमाडौंले अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न गत शुक्रवार प्रहरीलाई अनुमति दिएको छ। अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गर्नुभएको छ।
गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछिमात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको अधिकारीले प्रारम्भिक बयानमा भन्नुभएको छ। तर, जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको प्रहरीले जनाएको छ।
उहाँलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ को (ग) र मलुकी अपराध संहिता २०७४ को लिखतसम्बन्धी कसुरमा अनसुन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो।