गोरखा, प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार गोरखा पुगेर २० किलोमिटर लामो सडक शिलान्यास गरेका छन्।
पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यासका क्रममा उनले स्थानीयलाई सम्बोधन पनि गरे।
सम्बोधनका क्रममा प्रचण्डले संसदबाट विश्वासको मत पाइसकेपछि अब राजनीतिक वातावरणले लय पक्रिएको दाबी गरेका छन्।
‘हिजोबाट फेरि राजनीतिक वातावरणले लय पक्रिएको छ,’ प्रचण्डले गोरबासीमाझ भने,‘सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ।’
उनले आफू नेतृत्वको सरकार पुनर्गठन तयारी भइरहेको पनि जानकारी दिए। प्रचण्डले प्रदेश सरकारमा आलोपालो तयारी भएको पनि खुलाए।
‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल हुँदैछ,’ उनले भने,‘जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठक राख्दै छु, त्यसमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ।’
प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पुगेका थिए।
दाहालसँगै गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे पनि साथमा थिए। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।