बुटवल, लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेकी छन् ।
पार्टीबाट सहयोग नपाएको र बेवास्ता गरेको भन्दै उनले माओवादी परित्याग गरेको घोषणा गरेकी हुन् ।
ओलीले माओवादी केन्द्र जिल्ला कमिटी दाङमा राजीनामा पत्रसमेत बुझाइसकेकी छन् ।
उनले आफ्नो राजनीतिक उतारचढावका बेला पार्टीले सहयोग नगरेको गुनासो गरेकी छन् ।
‘मलाई जबरजस्ती मन्त्री पदबाट राजीनामा दिन लगाइयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता गरेन ।
भूमिकाहीन बनायो,’ उनले भनिन्, ‘पार्टीले युज एन्ड थ्रो गर्यो, त्यसैले पार्टीबाट राजीनामा दिएकी हुँ,’ उनले भनेकी छन् ।
वली नेकपा एमालेका स्वर्गीय नेता उत्तरकुमार वलीकी श्रीमती हुन् । तात्कालीन प्रदेशसभा सदस्य उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तात्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् ।
पछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।