मुग, विगतका वर्षहरूमा पुष लाग्ने बित्तिकै मुगुमा हिमपात शुरु हुन्थ्यो । हिमाल र उच्च पहाड सेताम्य हुने गर्थे । तथापि यस वर्ष माघ तेस्रो साता आरम्भ भएसँगै हिमपात भएको छ ।
कर्णाली प्रदेशको मुगु लगायत अन्य हिमाली जिल्लामा हिमपात भएसँगै हिमाल र अग्ला पहाड सेतो तन्ना ओढेझैँ देखिन थालेका छन् ।
यतिमात्रै होइन, हिमपातले मौसममा ल्याएको बदलापसँगै सर्वसाधरणको जनजीवन, सडक तथा हवाई यातायात समेत प्रभावित बनेको छ ।
त्यस्तै सरकारी तथा गैरसरकारी संघ, संस्था र कार्यालयहरूको पनि सेवा प्रवाहमा समस्या भएको छ । हिमपातले हिमाली जिल्ला मुगुका विद्यालयहरूको पठनपाठन पनि प्रभावित बनेको छ ।
अत्याधिक चिसोको कारण बालबालिका र बृद्धबृद्धासमेत प्रभावित भएका छन् ।
चिसोकै कारण रुघाँखोकी र निमोनियाका विरामी बढेको जिल्ला अस्पताल मुगुले जनाएको छ । अस्पतालमा दैनिक उपचार गर्न आउनेको संख्या ह्वात्तै बढेको छ ।
कहिले हिउँ पर्ला भनेर मंसिरदेखि आकाश नियाल्दै कुरेर बसेका कृषक भने खुसी छन् । हिउँ परेपछि अन्नबाली, वन जंगलका बोटविरुवा पलाउने आशा गरेका छन् ।
त्यतिमात्रै नभएर बोटविरुवा पलाए भेडाबाख्रा, गाई, गोरु र घोडाले खाने घाँस पलाउने स्थानीय बताउँछन् ।
उता जडिबुटी व्यवसायीले भने हिमपात भएसँगै पाटनमा उम्रिने विभिन्न बहुमूल्य जडिबुटीको व्यवसाय पनि फस्टाउनेमा आशा गरेका छन् भने मुगुबासीका लागि पनि आयस्रोत बढ्ने देखिन्छ ।
मुगुमा हिमपात भएपछि घुम्न गएका पर्यटक निकुञ्जका कर्मचारी, नेपाली सेनाका जवानहरू हिउँमा रमाउन थालेका छन् ।
रारा विमानस्थल ताल्च, मुर्मागाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत दर्जन बस्ती हिउँले सेताम्य भएका छन् । तल्लो बस्तीमा पातलो मात्र हिउँ रहेको र वर्षा धेरै भएको छ ।
हिमपातले जिल्लामा सञ्चार, बिधूत, खानेपानीमा समेत अबरोध आएकोमा हिमपातपछि विस्तारै खुल्न थालेको स्थानीय पालिकाले बताएका छन् ।
गत असोज १९ गतेदेखि वर्षात नभएको मुगुमा माघ लागेपछि हिमपात वर्षा शुरु हुँदा किसानहरू खुसी भएका हुन् ।
हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ । जुम्ला सिंजा क्षेत्रको कनका सुन्दरी गाउँपालिकाको क्षेत्रमा पनि रातिदेखि हिमपात भएको छ ।
त्यस्तै डोल्पाको माथिल्लो डोल्पा र जुफाल क्षेत्रमा भयको हिमपातले समेत आउजाउमा समेत समस्या भएको छ ।