२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

कम्पनी रजिस्टार कार्यालयको अपरिपक्व सुधार योजना !

Untitled
Untitled
Untitled

काठमाडौं । कम्पनी रजिस्टार कार्यालयले पेपरलेस गर्ने गरी सुधारको काम थालनी गरे पनि लापरबाही तरिकाले नयाँ प्रणाली लागू गरेको छ। कार्यालयले एक हप्ताअघि पुरानो प्रणाली बन्द गरी नयाँ प्रणाली सञ्चालनमा ल्याएसँगै समस्या देखिन थालेको हो।

पुरानो प्रणालीमा रहेको तथ्यांक नयाँ प्रणालीमा नसार्दा सेवाग्राहीले पुरानो प्रणालीमा भएका तथ्यांक पूरै भर्नुपर्ने देखिएको छ। कार्यालयको सुधार अभियान भनिए पनि समयमा नै सेवाग्राहीलाई जानकारी दिन नसक्दा सेवाग्राही झन्झट र समस्यामा परेका छन् । एकाएक झन्झट र दुःख बेहोर्नु परेपछि आइतबार सेवाग्राहीले कार्यालय परिसरभित्रै विरोध जनाएका छन्।

कम्पनी रजिस्टार कार्यालयले भने घरमै प्रमाणपत्र प्रिन्ट गर्न मिल्ने स्मार्ट प्रणाली लागू गर्न खोजेको दाबी गरेको छ। पुरानो प्रणाली कमजोर र अपुरो भएका कारण नयाँ प्रणाली लागू गरेको कार्यालयको जिकिर छ। कार्यालयका रजिस्टार प्रदीपराज अधिकारीले अहिले विरोध आए पनि एक हप्ताभित्र प्रणालीले सही काम गरिसक्ने बताउनुभयो।

उहाँले केही प्राविधिक कमजोरी भएका कारण पुरानो प्रणालीमा समस्या देखिएको र आउँदा दिनमा नयाँ प्रणाली पेपरलेस हुने बताउनुभयो। पुस मसान्तमा कम्पनी अध्यावधिक गर्नुपर्ने बेला कम्पनी कार्यालयले एकाएक पुरानो प्रणाली बन्द गर्दा व्यवसायीले जरिवाना तिर्नुपर्ने भएपछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।

धेरै सेयर र कम्पनी भएका कम्पनी होल्डरहरूलाई यो प्रणालीले जरिवाना तिराउने देखिएपछि विरोध भएको कार्यालय स्रोतले जनाएको छ। कम्पनीसम्बन्धी काम गर्दै आएका अधिवक्ता रामचन्द्र श्रेष्ठले कार्यालयले ल्याउन लागेको घरमै प्रमाणपत्र प्रिन्ट गर्न मिल्ने प्रणाली सही भए पनि पुस मसान्त आउनै लाग्दा पुरानो प्रणाली बन्द गर्नु उचित नभएको बताउनुभयो।

लामो समयदेखि कम्पनी रजिस्टारको कार्यालय बिचौलियाले राज गर्दै आएका छन्। कर्मचारी र बिचौलिया मिलेर कम्पनी चलाइरहेको र अब त्यो बन्द हुने देखेपछि विरोध भएको जानकारहरू बताउँछन्।

Untitled
Untitled
Untitled