२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न आग्रह: परराष्ट्रमन्त्री डा. राणा

Untitled
Untitled
Untitled

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार तथा प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूत तथा नेपालका निर्यात व्यवसायीसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तक्रियामा उहाँले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गर्नुभएको हो । मन्त्री डा. राणाले भन्नुभयो, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनालाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला ।”

मन्त्री डा. राणाले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोतसाधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै सङ्गठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताउनुभयो ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीले आफ्ना उत्पादनलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी ‘प्याकेजिङ’ गर्नुपर्ने उहाँको सुझाव थियो । मन्त्री डा. राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिनुभयो । उहाँले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री बिहीबार चीनतर्फ

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको भ्रमणको कार्यसूची तय गर्न परराष्ट्र मन्त्रालयले निरन्तर छलफल अघि बढाएको छ ।

चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री यीबिच शुक्रबार औपचारिक वार्ता हुने कार्यसूची तय भएको छ । उक्त भेटवार्तामा उठ्ने विषयका बारेमा छलफल गर्न चीनका तर्फबाट नेपालका लागि राजदूत छन् सोङ पटक पटक मन्त्रालय पुगेरै मन्त्री राणासँग परामर्श लिनुभएको छ । परराष्ट्रमन्त्री राणाले चीनका विदेशमन्त्री यीसँग दुई देशको द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका साथै दुई छिमेकी मुलुकबिच कार्यान्वयनमा रहेका विकास साझेदारीको समीक्षा गर्नुहुने मन्त्रालयले जनाएको छ ।

साथै सो भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको आवश्यक तयारीका विषयमा पनि छलफल हुने छ । चीनमा नेपालको तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण भएकाले त्यसको तारतम्य मिलाउन परराष्ट्रमन्त्री राणाले पहल गर्नुहुने छ । चीनस्थित नेपालको दूतावाससँग प्रधानमन्त्रीको भ्रमणका विषयमा भइरहेको तयारीका बारेमा पनि उहाँले जानकारी लिनुहुने जनाइएको छ ।

मन्त्रीपरिषद्को निर्णय अनुसार मङ्सिर १३ गतेदेखि १५ गतेसम्म उहाँको चीन भ्रमणको मिति तय गरिएको छ । सो अनुसार उहाँ मङ्सिर १५ मा नै स्वदेश फर्कनुहुने कार्यसूची रहेको छ । १७ गते प्रधानमन्त्री ओली चीन जानुहुने भएकाले मङ्सिर १६ गते एक दिन उतै बस्ने वा फर्केर प्रधानमन्त्रीसँग फेरि चीन जाने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

Untitled
Untitled
Untitled