२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

लामिछानेको भैरहवामा बयान शुरू, ७० बढी प्रश्न सोध्ने तयारी

Untitled
Untitled
Untitled

–सहकारीपीडित र रास्वपाको प्रदर्शन

बुटवल । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई मंगलवार भैरहवा ल्याई बयान लिन शुरू गरिएको छ।

रूपन्देही प्रहरीका अनुसार लामिछानेलाई विमानस्थलबाट सीधै सरकारी वकिलको कार्यालय लगिएको थियो। रूपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार सकेसम्म छिट्टै लामिछानेको बयान सक्ने तयारी छ। लामिछानेलाई बढीमा ३ दिनमात्र रूपन्देहीमा राख्ने प्रहरीको तयारी छ।

लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो।

सुप्रिम सहकारीबाट २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ। १४ करोड २९ लाख रुपियाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। स्रोतका अनुसार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न सोध्ने छ। थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो।

रास्वपाका सभापति, लामिछानेलाई भैरहवा ल्याएपछि रूपन्देहीका सहकारीपीडितले मंगलवार प्रदर्शन गरेका छन्। सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालयनजिकै पीडितले प्रदर्शन गरेका हुन्। उनीहरूले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन्। सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोलनजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले सहकारीपीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन, सहकारी ठगीको निष्पक्ष छानबिन गर लगायत नारा लगाएका थिए। सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाउनुभयो।

रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाइ माग गर्नुका साथै पक्राउको विरोध जनाएका हुन्। जहाजबाट विमानस्थलमा उत्रिनेबित्तिकै लामिछानेलाई प्रहरीले अतिविशिष्ट कक्ष हुँदै गाडीबाट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको थियो। त्यसक्रममा विमानस्थल बाहिर समर्थक र कार्यकर्ताले प्रदर्शन गरेका थिए।

रास्वपा कार्यकर्ताको मोटरसाइकल र्‍याली बुद्ध चोकबाट शुरू भएर विमानस्थल, गल्लामण्डी हुँदै पुनः बुद्ध चोक पुगेको थियो। कार्यकर्ताले प्रदर्शन शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रदर्शनकर्ताका लागि आचारसंहिता सार्वजनिक गरेका थिए।

Untitled
Untitled
Untitled