सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रूप दिइने
Sanchargram
२०७९ चैत १५ बुधवार १८:००
413
shares
काठमाडौं, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताएका छन् ।
बुधबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबार (भोलि)सम्ममा अन्तिम रूप प्राप्त गर्ने बताए ।
उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेता समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साँझसम्मका लागि समय दिइएको जानकारी दिए ।
कुनै संशोधन आएमा आवश्यक संशोधन गरेर भोलिसम्ममा तयार पारिने उनको भनाइ छ।
उनले भने, ‘‘न्यूनतम कार्यक्रम बनिराखेको छ। साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ। हामीले ड्राफ्ट गरिसकेका छौँ।
त्यो ड्राफ्ट प्रस्तुत भएको छ। सरकारसँग जोडिएका दलका नेताका बीचमा। आज पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो।
भोलि सम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप प्राप्त गर्छ।’’ उनले मन्त्रीको शपथ पनि चाँडै हुने प्रतिक्रिया दिए ।