२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

वैदेशिक लगानीकर्ताको समस्या समाधान गर्न एकल बिन्दू सेवा : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दू सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।

मङ्गलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

उनले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल बिन्दू सेवा सुुरु गर्ने विषयमा कानुन बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे ।

उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे ।

‘‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यकता रहेको छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिवद्ध रहेको छ ।

पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोषी दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो ।,’’ प्रधानमन्त्री दाहालले भने , ‘‘ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ ।

दुई देशबीचको व्यवसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भुमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरुले दुई देशबीचको व्यवसायलाई प्रवद्र्धन गर्न त्यत्तिकै भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।’’

प्रधानमन्त्री दाहालले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताए । उनले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासुलगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।

‘‘चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकहरुलाई पनि विदेश जाने अनुमति दिएको छ ।

हामी छिमेकी देश भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकहरुको स्वागतका लागि तयार छौँ ।,’’ उनले भने , ‘‘नेपाल र चीनबीच पछिल्लो समय जनस्तरको सम्बन्ध पनि विकास र बिस्तार हुँदै गएको छ ।

यसले आगामी दिनमा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने मैले विश्वास लिएको छु ।’’

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए ।

उपाध्यक्ष साओहाङले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तर हुने विश्वास व्यक्त गरे । दुईपक्षीय व्यापार प्रवर्द्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए ।

उनले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि जानकारी दिए ।

उपाध्यक्ष साओहाङले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्नेसोच बनाएको बताए ।

उपाध्यक्ष साओहाङले भने , ‘‘चीन नेपालको राम्रो मित्र हो, विगत ६७ वर्षदेखि नेपाल र चीनबीछ दौत्य सम्बन्ध कायम रहेको छ ।

नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिइ बजारमा पहुँच बिस्तार गरेको छ, त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ, साथै चीनले पर्यटकीय गन्तव्यस्थलको रुपमा नेपाललाई पनि समावेश गरेको छ, यसले पनि नेपालको अर्थतन्त्र थप विस्तार हुनेछ ।

हामी नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरुको पहिचान गरिरहेका छौँ, स्वच्छ उर्जा, प्रविधि, विद्युतका क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच रहेको छ ।’’

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने , ‘‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ । हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ ।

जलविद्युत, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग गर्ने हामीले एक किसिमको सोच बनाएका छौँ ।’’

राजदूत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

नेपाल र चीनका व्यपारीहरुबीच सोमवारदेखि छलफल सुरु भएको हो । करिव ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो ।

बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

Untitled
Untitled
Untitled