काठमाडौं, राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आपसमा एक अर्काको प्रशंसा गरेका छन् ।
राष्ट्रपति चयनका लागि नयाँबानेश्वरको ल्होत्से हलमा मतदान भइरहेको छ । त्यहाँ सँगै भेटिएका उनीहरूले एक अर्कालाई प्रशंसा गरेका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल ९ दलको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका हुन् भने नेम्वाङ एमालको तर्फबाट उम्मेदवार बनेका हुन् ।
पौडेलले नेम्वाङसँग लोकतन्त्रका लागि सँगै लडेको स्मरण गरे । ‘देशको व्यवस्थाका लागि, लोकतन्त्रका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याउनका लागि उहाँको पनि मेरो भन्दा कम भूमिका छैन ।
यो निर्वाचन भनेको प्रकृया मात्र हो,’ उनले भने । उनले थपे, ‘हामीले लोकतन्त्रका विधि पुर्याएका हौँ । यो संविधान र गणतन्त्रको जित हो ।’
नेम्वाङले पनि पौडेल लोकतान्त्रिक योद्धा रहेको बताए । ‘जसले जितेपनि संविधानको, कानुनको जीत हुने हो । लामो समयदेखि हामी सँगै थियौँ ।
उहाँ लोकतान्त्रिक प्रकृयामा निरन्तर क्रियाशील राजनीतिज्ञ हुनुहुन्छ । हामी जो जिते पनि संविधानको पक्षमा, कानुनको शासनको पक्षमा उभिन्छौँ।
सिङ्गो देशलाई एकताबद्धरूपमा अघाडि बढ्छौँ,’ उनले भने ।
लोकतन्त्र स्वस्थ प्रतिस्पर्धाको नाम भएको उल्लेख गर्दै उनले थपे, ‘मधेसदेखि हिमालसम्म सबैलाई एकताबद्ध बनाएर अघि बढ्छौँ ।
त्यसैले आज म साह्रै खुसी छु । मेरो अध्यक्षतामा बनेको संविधानको महत्त्वपूर्ण चरणमा राष्ट्रपति निर्वाचनको संघारमा उभिएका छौँ ।’