२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

राष्ट्रपति निर्वाचनका लागि आज मतदान, बेलुका ७ बजे अघि नै नतिजा आउने

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रपति चयनको लागि आज विहीबार मतदान हुँदैछ । काठमाडौं नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीयलगायतका सबै तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।

सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि ल्होत्से हलमा बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उनले बताए ।

मतदान चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ ।

चुनावलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको ठाउँको व्यवस्था मिलाइएको छ ।

चुनावमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

चुनाव र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिनेछ ।

राष्ट्रपति पदको चुनावमा नौ दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

चुनावका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रूपमा रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान सकिएसँगै मतगणना सुरु गर्ने र बेलुकी ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

 

Untitled
Untitled
Untitled