काठमाडौं, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपर रिट निवेदन दर्ता गर्न भनि सर्वोच्च अदालतले दिएको आदेशप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
महासचिव देवप्रसाद गुरुङले आज विज्ञप्ति निकालेर सर्वोच्चको आदेश विस्तृत शान्ती सम्झौता विरुद्ध भएको भन्दै भर्त्सना पनि गरेका छन् ।
विज्ञप्तिमा दाहालले वाक स्वतन्त्रताको उपयोग गरी दिएका अभिव्यक्तिलाई बंगाएर कारबाहीको विषय बनाइनु पर्छ भन्दै कलुषित र पूर्वाग्रही भावनाले दायर भएको रिट अभिव्यक्ति स्वतन्त्र प्रतिकुल समेत भएको उल्लेख गरिएको छ ।
शान्ति सम्झौता विपरित हुने क्रियाकलाप संक्रमणकालिन न्यायको मान्यता विपरित हुने भन्दै माओवादीले त्यसविरुद्ध एकजुट हुन दलहरु, आम जनता र अन्तराष्ट्रिय समुदायलाई आव्हान पनि गरेको छ ।
ज्ञानेन्द्र राज आरणले दाहाललाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिष्टारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेका थिए ।
तर, शुक्रबार न्यायाधिस ईश्वर खतिवडा र हरि फुँयालको इजलासले रिट दर्ता गर्न रजिष्टारका नाममा आदेश दिएपछि माओवादी आक्रोशित भएको हो ।
रिटमा युद्धका क्रममा मारिएकामध्ये पाँच हजारको जिम्मा आफूले लिने भनि प्रचण्डले गरेको भाषणलाई आधार बनाएर कारबाहीको माग गरिएको छ ।
हेर्नुहोस माओवादीको विज्ञप्ति