काठमाडौं, सरकारमा रहेको दलहरूमध्ये पहिलो ठुलो दल नेकपा एमाले सरकारबाट बाहिरिएसँगै उसको ठाउँमा नेपाली कांग्रेस र अरू दल सरकारमा जाने चर्चा चलेको छ।
एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएलगतै नयाँ बनेको ८ दलीय गठबन्धनका दलहरू सरकारमा जाने बारेमा चर्चा चलेको हो।
१० पुसमा एमालेसँग गठबन्धन गर्न गएका माओवादी अध्यक्ष दाहाललाई २६ पुसमा प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसका विभिन्न नेताहरु तत्कालै सरकारमा जानुपर्ने पक्षमा छन्।
कतिपय नेताहरू भने राष्ट्रपति चुनाव (२५ फागुन)पछि सरकारमा जानुपर्ने धारणा राख्दै आएका छन्।
१२ फागुनमा एमाले नेतृत्वको गठबन्धनलाई छाड्दै सरकारको नेतृत्वकर्ता नेकपा माओवादी कांग्रेसलगायतका ७ दलसँग गठबन्धन गर्न गएपछि राप्रपाले १३ फागुनमा सरकार छाड्यो।
आठ दलले राष्ट्रपतिको उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएसँगै राप्रपाले सरकार छाड्यो।
सोमबार एमालेले पनि सरकार छाडेपछि सरकारमा अहिले माओवादी र जनमतका मन्त्री मात्र बाँकी छन्। प्रधानमन्त्रीको काँधमा १६ मन्त्रालयको जिम्मा छ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले भने यसअघि नै २२ माघ मै सरकार छाडिसकेको थियो।
अब १० पुसमा बनेको गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (१२) जनमत (६) र नागरिक उन्मुक्ति (४) मात्र प्रधानमन्त्री दाहालको साथमा छन्।
राप्रपा र एमालेले सरकार छाडेसँगै संसद्को पहिलो ठुलो दल कांग्रेस तत्कालै सरकार जाने सम्भावना बढेको बताइन्छ।
एक नेता भन्छन् ‘‘नयाँ आठ दलीय गठबन्धन बनिसकेका हुनाले राष्ट्रपतिको चुनाव अघि नै पार्टी सरकारमा जानसक्छ, गठबन्धनमा छलफल भएर कसले कुन मन्त्रालय लिनेबारे छलफल हुनेछ। तत्काल मन्त्रीपरिषद् विस्तार हुनेछ।’’
गठबन्धनमा मन्त्रालय भागबन्डाबारे छलफल गर्न बाँकी नै रहेकाले अझै साता दिन लाग्नसक्ने कांग्रेसका नेताहरु बताउँछन्।
सरकारमा पार्टीको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गर्न सक्ने बताइन्छ। उनी उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको आकांक्षी छन्।
सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार सकेसम्म अघिल्लो पटक अवसर नपाएका र प्रत्यक्षतर्फ निर्वाचित सांसदलाई प्राथमिकता दिइने छ।
प्रधानमन्त्री दाहालले एमालेसँगको सम्बन्ध तोडेर एमालेको ठाउँमा कांग्रेसको साथ लिने तयारी गरेपछि सत्तासमीकरणमा बदलाब आएको हो।
सोही अनुसार राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने कांग्रेस, माओवादीसहित आठ दलबीच सहमति भैसकेको छ ।
आठ दलका तर्फबाट राष्ट्रपतिमा फागुन १३ गते पौडेललाई उम्मेदवारी दिन लगाए लगत्तै बालुवाटारमा आयोजित कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका थिए ।