२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

८ दलीय गठबन्धनले बनायो कार्यदल

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल निर्माण गरेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल निर्माण गरेको हो ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी रहेका छन् ।

यस्तै कार्यदलमा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।

कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्ने एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले जानकारी दिए ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल रहेका छन् भने एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेको छ ।

बैठकले राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका लागी १८ फागुनमा आठै दलका संघीय सांसदहरूको बीचमा बैठक र छलफल गर्ने, १९ गते प्रत्येक प्रदेशमा कार्यक्रम गर्ने, फागुन २३ मा सबै प्रदेशसभाका सांसदलाई काठमाडौं बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताले सबै सांसदसमक्ष आफ्ना धारणा राख्ने निर्णय गरेको छ ।

Untitled
Untitled
Untitled