काठमाडौं, शनिबार बिहान सरकार छाड्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्।
केही बेरअघि बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।
चुनावअघिको पुरानो गठबन्धन ब्युँतिएपछि शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारमा बाहिरिने निर्णय गरेको थियो।
सरकार छाडेसँगै राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ।