काठमाडौ, नेपाली कांग्रेसले राष्ट्रपतिमा आपूलाई सहयोग गर्न गरेको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक जवाफ दिएका छन् ।
बुधबार साँझ बालुवाटारमा भएको छलफलमा दाहालले राष्ट्रपतिबारे चाँडै निर्णय दिने वचन दिएको कांग्रेस नेताहरुले दाबी गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहालसँग पुरानै चुनावी गठबन्धन ब्यूँताउने औपचारिक प्रस्ताव राखेका थिए।
उक्त सर्त अनुसार कांग्रेसलाई राष्ट्रपति दिन दाहाल सकारात्मक भएको बताइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक भएको बताए । भोलि पुनः भेटेर निष्कर्ष निकालिने उनको भनाइ छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार सभापति शेरबहादुर देउवासहित बालुवाटार पुगेका कांग्रेस नेताहरुले दाहालसँग राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए ।
खड्काका अनुसार जवाफमा दाहालले आफूले चाँडै निर्णय दिने बताएका छन् । पार्टीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने जिम्मेवारी आफूलाई दिएको भन्दै दाहालले सो विषयमा सकारात्मक रहेको र चाँडै निर्णय दिने बताएका थिए ।