२०८१ मंसिर १६ आइतवार | Sunday, Dec 01 2024

काँग्रेस सभापति देउवाले एकीकृत समाजबादीका अध्यक्ष नेपाललाई भेटदै

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम सिर्जना गर्न खोजिएको बताएको छ ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साथ दिने कांग्रेस महामन्त्री गगन थापाले बताए ।

‘केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको भनेर हल्ला चलाइएको छ ।

त्यो सबै कन्फ्युजन क्रियट गर्ने कुरामात्र हो,’ उनले भने, ‘राष्ट्रपतिका सन्दर्भमा माओवादी र कांग्रेसबीच भएको सहमतिमा कुनै फरक पार्दैन । दाहालले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेका कांग्रेस महामन्त्री थापाका अनुसार ओलीले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने सम्भावना छैन ।

ओलीले फैलाएको हल्लाको भरमा कांग्रेसले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि नसार्ने उनको भनाइ छ । ‘

कांग्रेसले रामचन्द्र पौडेललाई अगाडि सार्ने निश्चित भएको छ । अरु दायाँ–बायाँ हुने अवस्था छैन,’ उनले भने ।

महामन्त्री थापाका अनुसार केपी ओलीको प्रस्तावमा माधव नेपाल राष्ट्रपतिको उम्मेदवार हुने कुरा एमालेकै राष्ट्रपति भएजस्तै हो । ‘

यो कुरा दाहालले मान्ने सम्भावना छैन । अहिले दाहाल एमालेको गठबन्धनमा रहने कि कांग्रेसको गठबन्धनमा भन्ने मुल प्रश्न हो ।

को राष्ट्रपति बन्ने भन्ने होइन,’ उनले भने, ‘हामीले बाहिर छलफल नै गलत गरिरहेका छौं । दाहालले राष्ट्रपति को हुने भन्ने सुन्नुभएकै छैन ।’

कांग्रेसले प्रस्ताव नगरेसम्म माधव नेपाल राष्ट्रपति बन्ने अवस्था नरहेको उनको जिकिर छ । ‘

दाहालले कांग्रेससँगको गठबन्धनमा बस्ने निर्णय गरेपछि कांग्रेसले जसलाई अगाडि बढाउँछ, उही राष्ट्रपति बन्छ ।

माधव नेपाल कांग्रेसको प्रस्तावमा मात्र राष्ट्रपति बन्न सक्नुहुन्छ । त्यसका लागि कांग्रेसले प्रस्ताव गर्नुपर्छ,’ उनी भन्छन् ।

उनका अनुसार कांग्रेसले कुनै फाइदा हेरेर माधव नेपाललाई राष्ट्रपति बनाउछौं भनेर आयो भने मात्र उनी राष्ट्रपति बन्ने हो । ‘

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने कुरामा कन्फ्युजन छैन । अब केपी ओलीले कसैलाई भनेर केही हुन्न । राष्ट्रिय राजनीति केपी ओलीको कोर्टभन्दा बाहिर गइसक्यो,’ महामन्त्री थापाले भने ।

उनका अनुसार दाहालले एमालेसँगै कै गठबन्धन कायम राखिराख्छु भन्दा एमालेले कसलाई प्रस्ताव गर्छ भन्ने कुराको अर्थ हुन्थ्यो ।

यसका लागि दाहालले एमाले नेतृत्वकै गठबन्धनमा बस्छु भनेर कित्ता क्लियर गर्नुपर्ने उनको भनाइ छ । ‘

अहिले दाहालले कांग्रेससँग बस्ने मन बनाएको हो नि १ कांग्रेससँग बस्ने मन बनाएको ठाउँमा एमालेले कसलाई प्रस्ताव गर्‍यो भन्ने कुराको के अर्थ भयो र  ? ’ महामन्त्री थापाले भने ।

महामन्त्री थापाका अनुसार कांग्रेस र माओवादीबीच औपचारिक तहमा छलफल सुरु भइसकेपछि सत्ता समीकरण फेरबदल गर्ने सहमति ‘अन द स्पोट’ भइसकेको छ ।

तर, अहिले प्रक्रियाको हिसाबले दाहालले राष्ट्रिय सहमति भनिरहेका छन् । ‘कांग्रेसले पनि अहिले हाम्रो प्राथमिकता भएको बेलामा औपचारिक ढंगले सत्ता गठबन्धन फेरबदल गर्ने विषय प्रवेश गराउनु त भएन,’ उनले भने, ‘अहिले राष्ट्रपतिमा दाहालले कांग्रेसलाई मद्दत गर्ने र दाहालको सरकारको निरन्तरताका लागि नेपाली कांग्रेस सहयोगी रहनेमात्र औपचारिक सहमति भएको छ ।’

उनका अनुसार माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्दा पनि एमाले सरकारबाट नबाहिरिए के गर्ने भनेर माओवादी र कांग्रेसबीच छलफल भइरहेको छ । ‘

तर त्यसमा पनि परिस्थितिले धकेल्दै कांग्रेस र माओवादीको हिजोको गठबन्धन बिउँतिने अवस्थामा पुर्‍याउँछ,’ उनी भन्छन् ।

उनका अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ताको तयारी छ ।

अहिले दाङको भालुवाङमा रहेका अध्यक्ष नेपाल अपराह्न ४ बजे काठमाडौं आउने छन् । त्यसपछि देउवा र नेपालबीच भेटवार्ता हुने उनले बताए ।

Untitled
Untitled
Untitled