२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

Untitled
Untitled
Untitled

काठमाडौं, सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन् ।

अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै टिप्पणी गरे ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुवली शुभारम्भ गर्दै उनले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको चर्चा गरे ।

उनले भने , ‘विभिन्न राजनीतिक शक्तिहरु एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु अस्वस्थ प्रतिस्पर्धा, अस्वस्थ तरिका, स्वस्थ विधिहरु अपनाउन सक्छन्’ ।

अध्यक्ष ओलीले भने , “हामी हिजो जे समस्या भोग्यौं, फेरि आउने दिनमा पनि भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरु तिनै छन् ।”

राजनीतिक शक्तिको प्रवृत्ति ठीक छैन, हामी त्यसको सामना गर्न तयार रहनुपर्छ उनले भने । हामीले आफूलाई ती अस्वस्थ प्रतिस्पर्धालाई पराजित गर्न सक्नेगरी तयार राख्नुपर्छ भन्दै अध्यक्ष ओलीले पार्टी पङ्तिलाई त्यसका लागि सजग रहन निर्देशन दिए ।

“धेरै जनता र नागरिकले आस्था, विश्वास राखेको पवित्र थलो नेकपा एमाले हो । हाम्रो पार्टीको अहित भयो भने देशको पनि हित हुँदैन” अध्यक्ष ओलीले आगामी दिनमा एमालेको रक्षा गर्नेको एमालेले त्यसको रक्षा गर्ने बताए ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनले विश्वास दिलाए ।

अध्यक्ष ओलीले आगामी चार वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउनेगरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पारे ।

उनले भने , ‘कम्तीमा फिप्टी ओभरको मिसनबाट हामी आगामी निर्वाचनका लागि जुटन थाल्नेछौं । त्यसैकारण यो मिसन ग्रासरुट सुरु गरेका हौं ।’

दुई महिने अभियान आगामी चार वर्षको अभियान हो । आगामी चार वर्षको अभियान कम्तीमा यस दुईमहिने अभियानले निर्देश गर्ने उनले चर्चा गरे ।

एमालेजस्तो पवित्र उद्देश्य र स्पष्ट नीति भएको अन्य पार्टी नेपालमा नभएको उनले दाबी गरे ।

अहिलेको सत्ता साझेदार दललाई जोगाउन पार्टीको तर्फबाट प्रयास जारी रहेको र राम्रै परिणाम आउने गरी काम भइरहेको उनले विश्वास दिलाए ।

Untitled
Untitled
Untitled