२०८१ कात्तिक १९ सोमवार | Monday, Nov 04 2024

अर्बौको लगानी बालुवामा पानी, अझै सुध्रिएन राप्ती राजमार्ग

Untitled
Untitled
Untitled

सल्यान । तीन जिल्लाको मुख्य सडकको रुपमा रहेको राप्तीराजमार्ग स्तरोन्तिका लागि सरकारले अरबौँ बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन । सडकलाई चौडा बनाउँदै स्तरोन्नति गर्नका लागि बर्षेनी करोडौँ रुपैयाँ खर्च भएपनि देखिने गरी काम भएको छैन भने बरु सडक स्तरोन्नतिको नाममा गरिने मर्मत् सम्भारले सडक झन् जीर्ण बन्दै गएको छ ।

यस वर्ष मात्र सल्यानको चोरखोलादेखि रुकुमको खौला सम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्,तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेको छन् । ठुला–ठुला खाल्डाखुल्डी कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिम समेत बढाएको छ ।

२०७६∕७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्ग अन्तर्गत पटारे–मोख्ला १ किलोमिटर सडक कालोपत्रेको लागि सम्झौता गरेर काम सुरु ग¥यो, नाला मात्र निर्माण गरेर बाँकी काम अलपत्र छोडेको सिद्धकुमाख गाउँपालिका १ पटारेका स्थानीय राजेश परियाले जानकारी दिनुभयो । काम अलपत्र हुँदा धुलो र धुवाले हैरान बनाउनुका साथै बस्न नसक्ने अवस्थामा रहेको उहाँले बताउनु भयो ।

बर्षातमा सडकमा हिलाम्मे र हिउँदमा धुलोले आजित बनाएको अर्का स्थानीय प्रकाश वलीले बताउनु भयो । सडक छेउमा घर भएका कारण खाना खाने बेला धुलो थालिमै पस्ने गरेकाले बिरामी समेत हुन थालेको उहाँले बताउनु भयो ।

चोरखोला कपुरकोट क्षेत्रको ६ किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम तिन वर्ष अगाडीबाट सुरु गरिए पनि काम पुरा हुन नसक्दा धुलोले हैरान त बनाएको छ नै दुर्घटनाको जाखिम समेत बढाएको छ ।

यस आर्थिक वर्षमा मात्र सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौला सम्म ८८।४ किलोमिटर सडकका खण्ड खण्डमा बाँडिएर पुरानो २ वटा सहित १८ वटा ठेक्का लागेका सडक डिभिजन कार्यालय दाङले जनाएको छ । तर सानो ठेक्कामा पनि ठेकादार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एउटै कम्पनीले ३ देखि ४ ठाउँ सम्मा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो ।

कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी राकेश महर्जनले ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम गर्न नसकेको बताउनु भयो । कार्यालयले काम नगर्ने ठेकेदारहरुलाई मौखिक र लिखित रुपमा चिठी काटेको, पत्र पत्रिकामा सूचना निकालेको, एपिजी निकालेका समेत उहाँले बताउनु भयो ।

बेला बेला सडक सुधार र नागरिकलाई छिटोभन्दा छिटो सहजता प्रदान गर्न सकिन्छ भन्ने बिषयमा बहस र छलफल हुदै आईरहेको छ । सडकको तत्कालै मर्मत सम्भार र स्तरोन्नति गर्न भन्दै पटक पटक छलफल र निर्णय समेत हुने गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो । ठेकादारहरुले कम गछौँ भने जवाफ दिने गरे पनि काम हुन नसकेको उहाँले बताउनु भयो ।

केही दिन पहिले मात्र सल्यान बाट निर्वाचित सङ्घीय सांसद र प्रदेश सांसदले जीर्ण सडकका कारण नागरिकले पाएको सास्ती तत्काल मर्मत सम्भार सँगै स्तरोन्नतिका लागि काम गर्न निर्देशन दिएका थिए । तर अहिले १८ वटा ठेक्कामा ५ वटाले मात्र काम गरिरहेका छन् ।

Untitled
Untitled
Untitled