सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । भोलि मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिवर्तन पनि हुनसक्छ ।’
स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३्/३ वटा मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाउनेछन् ।
रास्वपालाई तीन मन्त्रालय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् भने अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । स्रोतका अनुसार शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्यालको सम्भावना छ ।
रास्वपाले एक राज्यमन्त्री पाएको छ । पार्टीले उपसभामुख पनि पाउने पक्का भएको सभापति लामिछानेले पार्टीका नेताहरुलाई जानकारी दिएका छन् ।
राप्रपालाई तीन मन्त्रालय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने टुंगो भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।
स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।
अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।