२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

सरकार पूर्ण नहुँदै सचिवहरुको सरुवा

Untitled
Untitled
Untitled

सरकारले विभिन्न मन्त्रालय र निकायका गरि सात सचिवको सरुवा गरेको छ । सरकारले पूर्णता नपाए पनि सचिव सरुवाको क्रम थालिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सात जना सचिवको सरुवा गरेको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि पहिलोपटक सचिवको सरुवा गरिएको हो । सरकारले सचिव सरुवा गर्दा कार्यसम्पादन र विज्ञतालाई केही आधार बनाएको पाइएको छ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायालाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । अर्थसचिवमा आएका राया यसअघि अर्थ मन्त्रालय मातहतकै विभिन्न निकायमा रहेर काम गरिसकेका अनुभवी हुन् ।

को को कहाँ ?
१) तोयम राया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालय
२) डा. रामप्रसाद घिमिरे– अख्तियारबाट अर्थ मन्त्रालय राजस्व सचिव
३) मधु मरासिनी– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वाणिज्य मन्त्रालय
४) रामेश्वर दंगाल– राजस्व सचिवबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग
५) धनराज ज्ञवाली– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
६) कृष्णहरि पुश्कर– अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
७) उदयराज सापकोटा– कानुन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवका रूपमा सुशासन कायम गराउने कार्यमा समेत उनले प्रभावकारी भूमिका खेलेका थिए । यसैगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थमन्त्रालयकै राजस्व सचिवमा सरुवा गरेको छ । घिमिरेले नीति कार्यान्वयन विषयमा विद्यावारिधि गरेका हुन् । राजस्व संकलन र वृद्धि गर्न घिमिरेको अनुभवले उल्लेख्य सहयोग पुग्न सक्ने विश्वास गरिएको छ । यसैगरी, अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ ।

सचिव दंगालले यसअघि अख्तियारमा लामो समयसम्म प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए । यसैगरी, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुमरासिनीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरेको छ । मरासिनी पनि वाणिज्यका अनुभवी हुन् । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । विज्ञहरूले सचिवको सरुवा र व्यवस्थापन गर्दा विज्ञता, कार्यक्षमता, पहिला काम गरेको अनुभवलाई हेरेर गर्नसक्ने सरकारले नै परिणाम दिनसक्ने सुझाव दिएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले पहिलोपटक सचिवको सरुवा गर्दा विज्ञता, कार्यक्षमता, पहिला काम गरेको अनुभवलाई केही हदसम्म आधार बनाएको पाइएको छ । सरकारले आगामी दिनमा पनि सचिव सरुवा गर्दा यस्तै आधारमा गर्नुपर्ने सुझाव प्रशासनविद्को छ ।

Untitled
Untitled
Untitled