२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

त्रिबिका अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

Untitled
Untitled
Untitled

काठमाडौँ, विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ।

त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो।

विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्। सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ।

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।

यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र निर्वाचन सम्पन्न गर्नैपर्छ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले भने , “हामी सधैँभरि निर्वाचन गर्न सक्दैनौँ।

निर्वाचनका कारण परीक्षा तथा पढाइसमेत प्रभावित भएको छ। हाल विवाद रहेका क्याम्पसमा पनि वैशाख ५ गतेभित्र स्ववियु निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छौँ।”

निर्वाचन स्थगित भएकामध्ये अधिकांशमा विद्यार्थी भर्नामा अनियमितता भएको दाबी गर्दै तालाबन्दी गरिएको छ।

त्रिविका आङ्गिक क्याम्पसमध्ये उपत्यकाबाहिर सबैभन्दा धेरै विद्यार्थीको आकर्षण रहेको पोखरास्थित पृथ्वीनारायण क्याम्पसको निर्वाचन अदालतको आदेशका कारण रोकिएको छ।

पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन रोकिएको छ।

स्ववियु निर्वाचनको हिसाबले माउ पार्टी र विद्यार्थी सङ्गठनको समेत निकै चासो रहेको उपत्यकाका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ। निर्वाचन रोकिएको नेपाल कमर्स क्याम्पसमा भने शनिबार हुँदै छ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले पनि तालाबन्दी भएका क्याम्पसहरूमा ताला खुलाउने र निर्वाचन सम्पन्न गर्ने विषयमा आफ्नो सङ्गठनका तर्फबाट पहल भइरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले पनि आफूहरूले निर्वाचन जित्ने पक्का भएका क्याम्पसमा अन्य सङ्गठनले ताला लगाएको आरोप लगाए । आफूहरू निर्वाचन हुनुपर्ने पक्षमा रहेको पनि उनले बताए ।

 

Untitled
Untitled
Untitled