२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

डिजेल खपत सत्ताइस प्रतिशत घट्यो

Untitled
Untitled
Untitled

काठमाडौँ, चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा डिजेल खपत २७ प्रतिशतले घटेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म डिजेल खपत २७ प्रतिशतले कमी आएको हो ।

इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, भारतमा भन्दा नेपालमा डिजेल मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कम भएको छ ।

नेपाल आयल निगमका अनुसार आव २०७९/८० को साउनदेखि माघ १५ गतेसम्म छ लाख ६४ हजार ३५१ किलोलिटर डिजेल आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नौ लाख १० हजार ६३१ किलोलिटर डिजेल आयात भएको थियो ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धन खपत २५ देखि ३० प्रतिशत कमी भएको जानकारी दिए ।

“विकास निर्माणको काममा डिजेल खपत बढी हुने गर्छ, यो वर्ष विकास निर्माणको काम नहुँदा डिजेलको खपतमा उल्लेख्य कमी आएको हो,” उनले भने ।

अघिल्लो आर्थिक वर्ष नेपालमा डिजेलको मूल्य सस्तो हुँदा सामान बोकेर आएका भारतीय सवारीसाधनले नेपालमै डिजेल भरेर जाने गरेकामा अहिले भारतमा मूल्य सस्तो हुँदा भारतबाटै तेल भरेर नेपालमा आउने गर्दा खपतमा कमी आएको उहाँको भनाइ छ ।

विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठूला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ ।

सीमा क्षेत्रको भारतीय भूमिको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा २५ रुपियाँ महँगो छ ।

चालू आर्थिक वर्षको साढे छ महिनामा समग्र पेट्रोलियम पदार्थ आयात १६ प्रतिशतले घटेको छ ।

साउनदेखि माघ १५ गतेसम्म एक खर्ब ५१ अर्ब ९४ हजार रुपियाँ बराबरको १४ लाख छ हजार ७४७ किलोलिटर इन्धन (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास, मट्टीतेल) आयात भएको हो ।

गत वर्ष सो अवधिमा १६ लाख ८८ हजार ९२४ किलोलिटर आयात भएको थियो ।

गत आर्थिक वर्षको सो अवधिमा एक खर्ब ३३ अर्ब २७ करोड ३० लाख दुई हजार २०८ किलोलिटर आयात भएको थियो ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा इन्धन आयात रकममा वृद्धि भएपनि परिणाम भने कमी आएको छ ।

गत पुस महिनादेखि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको थियो । त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

यस्तै चालू आर्थिक वर्षको साढे छ महिनामा पेट्रोल तीन लाख ६४ हजार ९५२ किलोलिटर आयात भएको छ ।

गत वर्ष सो अवधिमा तीन लाख ९६ हजार ३३८ किलोलिटर आयात भएको थियो ।

चालू आर्थिक वर्षको माघ १५ गतेसम्ममा हवाई इन्धन ९७ हजार ९१६ किलोलिटर आयात भएको छ । गत वर्ष सो अवधिमा हवाई इन्धन ८१ हजार ४०८ किलोलिटर आयात भएको थियो ।

यो अवधिमा मट्टीतेल पाँच हजार ८४४ किलोलिटर आयात भएको छ भने गत वर्ष सो अवधिमा मट्टीतेल नौ हजार ८२ किलोलिटर आयात भएको थियो ।

यस्तै खाना पकाउने ग्यास दुई लाख ७३ हजार ६८४ मेट्रिक टन आयात भएको छ । गत वर्ष सो अवधिमा ग्यास दुई लाख ९१ हजार १६५ मेट्रिक टन ग्यास आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा ग्यासको आयात भने १७ हजार ४८१ मेट्रिक टन कमी हो ।

हाल मासिक बजारमा ५१ हजार १४६ किलोलिटर पेट्रोल, एक लाख दुई हजार २०७ किलोलिटर डिजेल, हवाई इन्धन १५ हजार ६४ किलोलिटर, मट्टीतेल ८९९ किलोलिटर र ग्यास ४२ हजार १०५ मेट्रिक टन खपत हुने गरेको छ ।

हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८, डिजेलरमट्टीतेल प्रतिलिटर १७५, हवाई इन्धन प्रतिलिटर १७० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

Untitled
Untitled
Untitled