काठमाडौं, काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौं महानगरमा रहेको सवारी पार्किङको समस्यालाई समाधान गर्नका लागि निर्माण गरिएको उक्त टावर निर्माण कार्य जारी रहेपनि नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरका सार्वजनिक निजी साझेदारी इकाई संयोजक महेश काफ्लेका अनुसार टावरको काम १२ तल्लासम्म सम्पन्न भएको छ ।
भौतिक संरचनाको काम सकिएर रंगरोगन गर्न बाँकी रहेपनि तल्लो तीन तल्लामा पार्किङ गर्न मिल्ने भएकाले खुल्ला गर्न लागिएको काफ्लेले बताए ।
पार्किङको लागि बनाइएको टावरमा दुई तल्ला अण्डरग्राउण्ड रहेको छ ।
उनले भने, १२ तल्लो भौतिक संरचना निर्माणको काम पूर्ण रूपमा सम्पन्न भएको छ । तर, केही रंगरोगन कार्य बाँकी नै रहेकाले तत्काललाई तल्लो तीन तल्लामा पार्किङ गर्न सकिने गरी व्यवस्थापन मिलाइएको छ ।
आगामी वैशाखदेखि तीन तल्लालाई पार्किङको लागि खुल्ला गरेर बिस्तारै अन्य तल्लाहरू पनि पार्किङका लागि खुल्ला गर्दै लगिने उनको भनाइ छ ।
थप १२ तल्लाका लागि अध्ययन
टावरलाई अझै १२ तल्ला थप गरी २४ तल्लाको बनाउनका लागि पुनः अध्ययन भइरहेको उनले बताए ।
सुरुमा यस टावर २९ तल्लाको बनाउने सम्बन्धमा सम्भाव्यता अध्ययन भएको थियो । तर, पछि भूकम्प गएपछि २९ तल्लाको टावर बनाउन नसकिने भएकाले यसको डिजाइन नै परिवर्तन गरेर १२ तल्लाको बनाइएको हो ।
“२०६८/६९ सालमा यसको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेर काम सुरु भएको थियो ।
उक्त समयमा २९ तल्लाको डीपीआर स्वीकृत भएर काम सुरु भएको थियो । पछि २०७२ सालमा भूकम्प आएपछि यसको डिजाइन परिवर्तन गरी १२ तल्लाको बनाउने सहमति भएअनुसार काम भएको हो,”उनले भने ।
अहिले निर्माण भएको १२ तल्लाको अध्ययन गर्नका लागि पुलचोक क्याम्पसलाई जिम्मा दिइएको काफ्लेले जानकारी दिए ।
पुलचोक क्याम्पसले सकारात्मक प्रतिवेदन दिए अझै १२ तल्ला थपिने उनको भनाइ छ ।
उनले भने , “१२ तल्लाको अध्ययन, अनुसन्धान गर्न पुलचोक क्याम्पसलाई जिम्मा दिइएको छ ।
उक्त प्रतिवेदन सकारात्मक आएको खण्डमा १२ तल्ला थप हुनेछ ।” काठमाडौं महानगरभित्र २४ तल्लासम्म बिल्डिङ बनाउन पाउने प्रावधान भएकाले अध्ययनले सकारात्मक प्रतिवेदन दिएको खण्डमा अझै १२ तला थपिने उनको भनाइ छ ।
काफ्लेले भने ,“पुरानो बसपार्कमा बन्दै गरेको टावरको १२ तल्ला निर्माण कार्य सम्पन्न भइसकेको छ ।
अझै थप १२ तल्ला थप्न सकिने विषयमा अध्ययन भइरहेको छ । अध्ययनले प्रतिवेदन सकारात्मक दिए काम अघि बढाउनेछौँ ।”
२०७४ सालमा निर्माण कार्य सुरु भएको यस बिल्डिङको सुरुको लागत दुई अर्ब रहेको थियो । यदि अव १२ तल्ला थपेको खण्डमा लागत भने बढ्ने उनको भनाइ छ ।
“अबको डिजाइनमा लागत पनि बढ्ने छ,”उनले भने , “पहिले डिजाइन भएको भ्यू टावरको लागि दुई अर्ब रकम छुट्याइएको थियो ।
अव सबै सामग्रीहरूको मूल्य बढेकाले अव माथि तल्ला थप्ने निर्णय भए लागत बढेर सात अर्बको हाराहारीमा पुग्छ ।” यस टावरको निर्माण जलेश्वर स्वछन्द निर्माण कम्पनीले गरेको छ ।